गौरादह ।

गौरादहमा बालबालिकाहरुलाई लक्षित गर्दै लायन्स सेन्टेनियल चिल्ड्रेन पार्कको निर्माण कार्य धमाधम भइरहेको छ ।
बालबालिकालाई मनोरञ्जन दिलाउने उद्देश्यले गौरादह नगरपालिका–२ मा सो पार्कको निर्माण गरिएको लायन्स क्लब अफ गौरादहका जोन चेयर पर्सन भुपालराज कट्वालले जनाएका छन् ।
बालबालिकाको सर्वागिण विकास गर्न चिल्ड्रेन पार्क बनाउन लागिएको बताउँदै बालबालिकाहरुको बौद्धिक स्तरलाई बढाउन मोटिभेस्नल ट्रेनिङ्ग सञ्चालन गर्ने, हप्तामा एकदिन ओपन स्टेजमा सांस्कृतिक नृत्य गराउने साथै बालबालिकाहरुको प्रतिभा प्रस्फुटन गराउने कट्वालले बताए ।
नगरपालिकाको समितिबाट प्राप्त भएको तीन कठ्ठा जग्गामा पार्कको निर्माण कार्य सम्पन्न गर्न करिब ५० लाख बजेट लाग्ने अनुमान गरिएको छ । हाल निर्माणाधीन अवस्थामा रहेको उक्त पार्कमा ३५ लाख खर्च भइसकेको जनाइएको छ ।
सो पार्क निर्माण गर्न प्रदेश सरकारको पर्यटन मन्त्रालयबाट १९ लाख, आन्तरिक स्रोतबाट आठ लाख, नगरपालिकाबाट पाँच लाख, लायन्स डिस्ट्रिकले दुई लाख र वडा कार्यालयबाट एक लाख रकम प्राप्त भएको लायन्स क्लब अफ गौरादहका संस्थापक अध्यक्ष डा.तिलक खनालले पत्रकारहरूसँगको भेटघाटमा जानकारी गराए ।
बालबालिकालाई आकर्षित गर्न २५ फिट उचाईको सगरमाथाको अग्लो प्रतिमूर्ति बनाइने र सोही स्थानबाट झरना समेत बगेको बनाइने, गुफा, शान्तिको प्रतिक बुद्धको मूर्ति, स्वीमिङ्ग पुलको निर्माण गरिने जनाइएको छ । चिल्ड्रेन पार्क निर्माण कार्य सम्पन्न भएपछि यस क्षेत्रमा रहेका बालबालिकहरुले भरपुर मनोरञ्जन लिई बौद्धिक तथा शारीरिक विकास गर्न सकिने अपेक्षा गरिएको छ ।
तीन महिना अवधिमा सो पार्कको सगरमाथा र गुफाको निर्माण कार्य सम्पन्न गरी सक्ने र अन्य बाँकी कामहरु क्रमशः गर्दै जाने लायन्स क्लब अफ गौरादहका जोन चेयर प्रसन भुपालराज कट्वालले जानकारी दिए ।































