चिन्तामणि दाहाल,
उहिलेका कुरा :
‘न्याय नपाए गोर्खा जानु, विद्या नपाए काशी जानु’ भन्ने उखान एकताका निकै प्रचलनमा थियो । यो उखानको शुरुवात तत्कालीन गोर्खाका राजा राम शाहको न्याय प्रणालीका कारण भएको थियो । त्यही लिगेसीका आधारमा गोर्खा कै राजा पृथ्वीनारायण शाहले एकीकरण गरेको राज्य नेपालका शाह राजाले पछिसम्म शासन गरे ।
त्यसबेला विद्या अध्ययन गर्ने स्थान भारतको बनारश अर्थात् काशी थियो । जहाँ अध्ययन र अध्यापन गर्ने गराउने वातावरण थियो । अरुतिर थिएन । ठूला–ठूला पण्डित गंगा नदीमा स्नान गरेर अध्ययन अध्यापनमा लागेका थिए । पढाई गर्नेलाई पनि निःशुल्क थियो । उल्टै खाने, बस्ने र लाउने व्यवस्था पनि थियो । धेरै नेपालीहरु र भारतीयहरु पनि बनारस गएर अध्ययन गर्थे । संस्कृत विद्याको खानी भएको बनारसमा मदनमोहन मालवीयले हिन्दू विश्वविद्यालय स्थापना गरेपछि अंग्रेजी विद्याको पनि केन्द्र भयो बनारस । त्यसैले विद्या नपाए काशी जानु भनिएको हो । तर, अहिले यस्ता विद्या अध्ययन गर्ने स्थान अरुतिर बने । तर, पनि काशी बदनाम भएको छैन ।
तर, न्याय नपाए गोर्खा जानु भन्ने उखान गोर्खाका राजाका उत्तराधिकारी राजा वीरेन्द्रको पालामा आएर बदनाम भयो । त्यो बद्नाम हुने घटना पोखराका दिदीबहिनी नमिता र सुनिताको बलात्कारपछि हत्या हुनु र त्यसको दोषी पत्ता लाउन नसक्नुले भयो । आफ्ना कान्छा भाइ धिरेन्द्र संलग्न भएको आरोप अगाडि आएपछि त्यो हत्याकाण्डलाई वीरेन्द्रले त्यतिकै दबाउन लगाएका थिए । यसबेलासम्म आइपुग्दा नेपालका शाह राजाहरु र उनीहरुका भाइभतिजाहरु स्त्रीलम्पट अर्थात् यौनजन्य क्रियाकलापमा राणाहरु झैं बदनाम हुन थालेका थिए ।
त्यसपछि त क्रमशः धेरै घटना र काण्ड भए जहाँ न्याय पाउने कुरै सकियो । अधिराजकुमार हुँदा पारसले, गरेका कुकृत्य र पछि युवराज भएपछि र अहिले युवराज सकिएर पारस हुँदा कै अवस्थामा पनि उनका क्रियाकलापले नेपाली जनतामा राजाहरुप्रति नैराश्यता बढेको हो । त्यहीताका अर्को एउटा उखान पनि चर्चामा आयो नेपालको ऐन ठूलालाई चैन र सानालाई ऐन । र अर्को नेपालको कानून दैवले जानुन् । आदि इत्यादि ।
पञ्चायती शासन निरंकुश थियो । तर, राजाहरुले न्याय दिन्छन् भन्ने धेरै नेपालीमा विश्वास थियो र अहिले राजतन्त्र सकिएर गणतन्त्र आइसक्ता पनि केहीले राजा भए देशको अहिलेको जस्तो हविगत हुने थिएन भन्ने नभएका होइनन् । तर, उनीहरुले के बुझेनन् भने एकीकरणपछि नेपालमा २४० बर्षसम्म शाह राजाहरुले शासन गरे । त्यसवेला उनीहरुले के गरे । नेपाल एकीकरण भएको समयको एकसय बर्षपछि मात्र जर्मनी र इटलीको एकीकरण भएको हो । अहिले जर्मनी र इटली कहाँ छन् । हामी कहाँ छौं । नेपालको एकीकरण भएकै समयमा अमेरिका, बलायतको उपनिवेशबाट स्वतन्त्र भएको हो । अहिले अमेकिा कहाँ छ हामी कहाँ छौं ।
एकथरी, अहिले पनि निरंकुश शासन वा सैनिक शासन भए देशको विकाश हुन्थ्यो भनेर तर्क गर्ने छन् । त्यसो भए १०४ बर्षे राणाकालमा किन देशको विकास भएन । शाहकाल पनि निरंकुशकाल नै हो , त्यसबेला पनि किन विकास भएन । जे भयो बाध्यताले भयो ।
त्यसैले जुन कुराले नाम हुन्छ त्यही कुरा विपरीत भयो भने बदनाम हुन्छ । प्रेम गर्नु राम्रो कुरा हो । तर, महराजीलाई रोशनीसँगको प्रेम गलपासो भयो । एक बर्षभित्रकै कुरा गर्ने हो भने कञ्चनपुरकी एक बालिका निर्मलाको बलात्कारपछि भएको हत्याकाण्डका दोषी एक बर्ष नाघिसक्ता पनि पत्ता लगाउन नसक्नुले अहिलेको सरकार पनि बदनाम भएकै छ । त्यसैगरी तपस्वी रामबहादुर बमजनको यौनकाण्डको पर्दाफास हुँदा पनि पीडितले न्याय पाएका छैनन् ।
त्यसैगरी रवि लामिछाने काण्डले सरकार बदनाम भयो । आरोपित गर्दैमा अनुसन्धान नगरी लामिछानेलाई पक्राउ गर्दा सरकारकै बलशाली मान्छेहरु लामिछानेलाई फँसाउने पक्षमा भएकोले पक्राउ गर्न लगाइयो भन्ने आम जनमानसमा भएकाले सरकार बदनाम भएको हो । अब मुद्दा अदालतमा छ । अदालतको निर्णय सबैले मान्नुपर्छ । त्यही अवस्था ज्ञानेन्द्र शाही काण्ड पनि थियो । अभिव्यक्ति स्वतन्त्रताका आधारमा आलोचना गर्दा सरकार उसका मतियार अरिंगालहरुलाई सह्य भएन । अनि उसलाई पक्राउ प.गरियो । र छोडियो । यसबाट पनि सरकार बदनाम भयो ।
नेपालमा दुई तिहाइको सरकार आउँदा पनि न्याय हराएको छ भन्ने भएर सरकार बदनाम भएको हो । यसै पनि सत्तामा बस्नेको बढी आलोचना हुने गरेको छ । कारण, सरकारसँग आमजनताले धेरै आशा गरेका हुन्छन् । उनीहरुको आशा नपुग्दा र सरकारले पनि न्याय दिन नसक्ता सरकारहरु बदनाम हुने नै भए ।
अहिलेका कुरा :
हालसालै धेरै चर्चित घटना भएका छन् । तर, त्यसमध्ये चारवटा घटनाले सरकारको नाम पनि भएको छ । एक महरा काण्ड, दुई पर्वत गुरुङ काण्ड, तीन आलम काण्ड र चार, रेशम काण्ड । कैलाली घटनाका मूख्य दोषीमध्ये एक मानिएका बलशाली पद सांसद भइसकेर शपथ खाएका रेशम चौधरीलाई कारवाही गर्न न्यायालयलाई दिएको स्वतन्त्रताका कारण सरकारको प्रशंसा नै गरिएको छ । किनकि कैलाली घटना दुर्दान्त थियो । यसलाई राजनीतिक भनी ब्याख्या गरेर लान खोजिएको थियो । जब कि यो जातीय विद्रोह र हिंसामा देशलाई फँसाउने योजना थियो । त्यसलाई बढ्न दिइएन । अहिले अदालतबाट दोषी ठहर भएर सजाय काटिरहेका छन् ।
आलम काण्डमा सरकारले प्रहरी प्रशासनलाई कार्बाही गर्न स्वतन्त्र छोडिदियो । जसका कारण घटनाको १२ बर्षपछि आरोपितलाई पक्राउ गरेर अनुसन्धान हुँदैछ । १२ बर्षसम्म राजनीतिको आडमा प्रहरी प्रशासनलाई कार्बाही अघि बढाउन दिइएको थिएन । पक्राउपरेपछि पनि झण्डै कांग्रेसले राजनैतिक रंग दि खोजेको थियो । तर, अहिलेको बलियो सामाजिक सञ्जालको आलोचनाका कारण कांग्रेस पछि हट्यो र उसले सत्यतथ्य अनुसन्धान गर्न रघाउने बचन दिन बाध्य भयो । दोषी भए कार्बाही हुन्छ । निर्दोष भए उन्मुक्ति पाउँछ ।
पर्वत गुरुङ काण्ड । उनलाई हत्या आरोपमा पक्राउ गरिएको थियो । तर, अदालतले प्रमाणका आधारमा अहिले साधारण तारिखमा छोडेको छ । अब आउँ महरा काण्डका बारेमा । आफ्नै मातहतकी कर्मचारी रोशनीले सभामुख भएका कृष्णबहादुर महरालाई बलात्कारको आरोप लगाइन् । लगाइन मात्र होइन छारष्ट नै गरिन् । बदनाम मात्र होइन महराको पद नै खाइदिइन् । हुनुहुुनामी गरिन् । यसरी भन्दा बदमासी रोशनीको देखिन्छ । उनले आधारातमा सांसदहरु, पत्रकारहरु र प्रहरीलाई रुँदै आरोप लगाएपछि सबै सक्रिय भए । ठूलो पदमा बसेको मान्छेले सानो कर्मचारीलाई धाक धम्कीबाट पनि बलजफ्ती ग¥यो भन्ने भयो ।
जब महराको पद चट भयो अनि रोशनीले उल्टो बोलिन । पत्रकारहरुले त्यसै छापे छन् । प्रसारण गरेछन् भनेर आरोपित पनि गरिन् । औषधिका कुरा गरिन् । भर्मनाएको बताइन् । त्यसको २÷३ दिनपछि फेरि प्रहरीमा जाहेरी दिइन । बलात्कार प्रयास र हिंसा गरेकोले महरालाई कार्बाही गरी पाउँ भनेर । तब प्रहरी बाध्य पनि भयो ।
जबकि बलात्कार जस्तो मुद्दा सरकारबादी भएकोले मौखिक उजुरी वा गुनासोकै भरमा आरोपितलाई पक्राउ गरी अनुसन्धान शुरु गर्नुपर्छ । महरा काण्डमा सरकार बदनाम हुन शुरु भएकै बेला महरालाई पक्राउ गरेर कार्बाही प्रक्रिया अघि बढाएपछि सरकार बदनाम हुनबाट जोगिएको छ । नाम भएको छ । अब मुद्दा अलदालतमा शुरु भएको छ । अदालतको जे निर्णय हुन्छ सबैले मान्नुपर्छ । भावनाले कसैलाई कार्बाही गर्नु हुँदैन । प्रभाणले पुष्टि गर्नुपर्छ ।


























