लक्ष्मी उप्रेती / काँकरभिट्टा।

चाडपर्वका बेला सवारी दुर्घटनामा कमि ल्याउन ट्राफिक प्रहरीले शुरु गरेको चालक सम्मान अभियान झापामा प्रभावकारी नभएको पाइएको छ । चाडपर्वको समयमा अधिक सवारी दुर्घटना हुने भएका कारण दुर्घटना हुनबाट बच्न र बचाउन प्रहरीले देशभर चालक सम्मान अभियान शुरु गरेको थियो ।
चालू आर्थिक वर्षको बितेको पहिलो तीन माहिनामा झापामा भएका सवारी दुर्घटनामा परी ११ जनाले ज्यान गुमाएका छन् । सबैभन्दा बढी असोज महिनामा दशैंताका मात्र एकजना नाबालकसहित सात जनाले सवारी दुर्घटनामा ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
कार्यालयका अनुसार जिल्लामा तीन महिनामा कूल ६० वटा दुर्घटना हुँदा ११ जनाको सवारी दुर्घटना परेर ज्यान गएको हो । असोजमा मात्र २४ वटा दुर्घटना हुँदा सात जनाको ज्यान गएको छ । साउन र भदौमा २÷२ जनाको ज्यान गएको कार्यालय प्रमुख प्रहरी निरीक्षक होमप्रसाद अधिकारीले बताए । उनका अनुसार साउन र भदौ महिनामा क्रमशः १४ र २२ वटा दुर्घटना भएका थिए । अधिकांश दुर्घटना साँझको समयमा हुने गरेको छ ।
सोही अवधिमा कार्यालयले कारवाही स्वरुप एक करोड १७ लाख ३१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । सवारी नियम उल्लंघन गर्ने साधनलाई कारवाही स्वरुप साउनमा ३२ लाख ६९ हजार पाँच सय, भदौमा ४८ लाख ९३ हजार पाँच सय र असोजमा ३५ लाख ६८ हजार रुपैयाँ जरिवाना गरेको थियो ।
अधिकांश दुघर्टना चालकको लापरवाहीले हुने निष्कर्ष निकाल्दै चालकहरुकै लापरवाहीका कारण हुने सडक दुर्घटना न्यूनीकरणका लागि सरकारले प्रभावकारी कार्यक्रमहरु सिर्जनशील जनचेतनामूलक काम गर्दैं हरेक चालकहरुलाई आफ्नो जिम्मेवारप्रति इमान्दारीपूर्वक सजग रहन प्रेरणा र हौसला मिलोस् भन्दै अभियान सञ्चालन गरेको थियो । प्रहरी प्रधान कार्यालयले ७० प्रतिशतभन्दा बढी दुर्घटना चालकको लापरवाहीे हुने गरेको विश्लेषण गरेको छ । १० हजार १३ वटा दुर्घटनामध्ये सात हजार चार सय ३२ वटा घटना चालकको लापरवाहीले भएको प्रहरीको तथ्यांक छ ।
तर, यातायात व्यवसायी यससँग सम्वद्घ संघ–संस्था यसलाई स्वीकारदैनन् । सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतना कार्यक्रम गर्नु ट्राफिक नियमबारे सम्बद्घ पक्षलाई जानकारी गराउनु र नियम पालना नगर्नेलाई कारवाही गर्नु ट्राफिक प्रहरीले निर्वाह गर्नुपर्ने दायित्व नै भए पनि ट्राफिक प्रहरीको हेलचेक्र्याइँ दण्डहिनता, सवारीसाधनको बढ्दो चाप सडकको जीर्ण अवस्था नियम कानूनमा बाँधिन नचाहने प्रवृत्ति नै ट्राफिक व्यवस्थापनको मुख्यः चुनौति बनेका छन् ।
धेरै सवारी दुर्घटना तीव्रगति, मादकपदार्थ सेवन गरेर, यात्रुको गल्तीका कारण, सडकको अवस्था, प्रतिस्पर्धा, यान्त्रिक गडवडी, ओभरलोड, चौपाया मौसमको कारण भएको तथ्यांक छ । तर, सडकमा पालना गर्नैपर्ने नियमको यातायातकर्मीले धज्जी उडाउँदा अनाहकमा धेरै सर्वसाधारणको ज्यान गइरहेको प्रहरीको भनाई छ ।
सवारीसाधनको अवस्था समय–समयमा दुरुस्त रहेको नरहेको चेकजाँच गर्न, यात्रुहरुको संख्या, नाम र ठेगानाको अभिलेख राख्न, चालकले सवारीको गन्तव्य, लाग्ने समय, रोकिने स्थानहरुको बारेमा प्रस्थान हुनु पूर्व सबैलाई अनिवार्य सवै जानकारी दिन, यात्रुहरुसँग मित्रवत व्यवहार गर्न, यात्रुमैत्री, गति सिमित गर्न, ट्राफिक नियमको पूर्णपालना गर्न, यात्रुहरुको सामानहरुको सुरक्षाको प्रबन्ध मिलाउन, छुटेमा नजिकको प्रहरी कार्यालयमा बुझाउन, सिट क्षमताभन्दा बढि तथा छतमा यात्रु नराख्न, घटना सम्बन्धमा तत्काल जानकारी दिन र सम्पर्क गर्ने कुरामा चालक तथा परिचालकले ध्यान दिनुपर्ने प्रहरी निरीक्षक अधिकारीको भनाई छ ।
सवारीसाधनमा यात्रा गर्दा आफ्नो सरसामानहरुको बारेमा चालक तथा सहचालकलाई जानकारी गराउने, ज्येष्ठ नागरिक, महिला बालबालिकालाई सम्मान गर्ने, मादकपदार्थ सेवन गरेर यात्रा नगर्र्नेे, अनावश्यक हरकत, हल्ला, क्रियाकलाप नगर्नै, चालक तथा सह चालकले मादकपदार्थ सेवन गरेको थाहा पाए तुरुन्त प्रहरीलाई जानकारी गराउने, मूल्यवान वस्तु लगाएर सकेसम्म यात्रा नगर्ने लगायतका कुरामा यात्रुले ध्यान दिनुपर्ने नेपाल यातायात मजदुर संघका विदेश विभाग सहसंयोजक एवम् सगरमाथा यातायात प्रालिका प्रवन्ध निर्देशक बशन्त तिवारीको भनाई छ ।
दुर्घटनाका कारण सयौंको घरवार उजाडिएका छन् दुर्घटनाकै कारण थुप्रैको जीवन अपाङ्ग भएर जीवन मरनको दोसाधँमा रहेर मर्नु न बाच्नु सरह बनेको छ । क्षमताभन्दा बढी यात्रु न ओसार्न, यात्राका क्रममा मदिरा सेवन नगर्न र यात्रुहरसँग नम्र भएर प्रस्तुत हुन चालक, सहचालक परिचालकहरुलाई सहसंयोजक तिवारीले आग्रह गरे ।
नेपाल प्रहरीको तथ्यांक अनुसार नेपालमा बितेको वर्ष भएका १० हजार नौ सय ६५ वटा सवारी दुर्घटनामा परेर दुई हजार पाँच सय ४१ जनाको ज्यान गएको थियो । सोही दुर्घटनामा १२ हजार तीन सय ९१ जना घाइते भए । विगत पाँच वर्षको प्रहरी तथ्यांकले सवारी दुर्घटनमा मृत्यु र घाइतेको संख्या क्रमिकरुपमा बृद्घि भएको देखाएको छ । प्रहरीका अनुसार पाँच वर्षमा दुर्घटनाको संख्यामा ३०, मृत्युमा ४२ र घाइतेको संख्यामा ८ प्रतिशतले वृद्घि भएको छ ।































