तुलसीराम खरेल,
दैनिक जीवनमा जैविक विविधताका जराहरु यति ब्यापक फैलिएका देखिन्छन् कि यसले धैरैभन्दा धेरै क्षेत्रलाई समातेको छ । यसले पर्यावरण, जेनेटिक्स, जेनेटिक इञ्जिनियरिङ, वायो इञ्जिनियरिङका धेरै बिधाहरुमा आफ्नो उपस्थिति देखाउँछ । जीवहरुको संख्यात्मक विविधताको सानो घेरामा सिमित गरेर यसलाइ हेर्न मिल्दैन् । यो आजको सन्दर्भमा झन् महत्वपूर्ण देखिँदै आएको छ । मानव समाजको समृद्धिमा सूक्ष्म जीव, वनस्पति एवम् जनावरहरुको व्यापक उपयोगिता देखिन्छ । यसको क्षेत्र झन् फराकिलो बनिरहेको छ । त्यसकारण यो बहुआयामिक समेत छ । आजको विश्वमा यो त सबैले बुझ्नै पर्ने बिषय बनेको छ । किनकि धेरैभन्दा धेरै वनस्पति, प्राणी र सूक्ष्मजीवीहरुको संख्या घटिरहेको छ । खास गरेर जलवायु परिवर्तनले धेरैको अस्तित्व संकटापन्न बन्न पुगेको छ ।
जैविक विविधता भने कै निश्चित भूगोलभित्रको हावापानीमा पाइने जीवहरुको विविधता हो । यसमा प्रजाति विविधता, पारिस्थितिक प्रणालीय विविधता एवम् जेनेटिक अर्थात् वंशाणुगत विविधता पर्दछन् । ठाउँ अनुसारका सूक्ष्म एवम् ठूला वनस्पति र जनावरहरुलाई मानव विकासको निमित्त बिभिन्न तरिकाले उपयोग गर्न सकिन्छ । त्यसको एउटा राम्रो क्षेत्र वायोइञ्जिनियरिङ र जेनेटिक इञ्जिनियरिङ देखिएका छन् । यी नविनतम क्षेत्रहरु भविष्यमा धेरै नै महत्वपूर्ण छन् । नयाँखाले औषधि एन्टिवायोटिक्स, भ्याक्सीन, एन्टिसेरा, बनाउन यसको साहारा लिनु जरुरी छ । त्यस्तै बायोलोजीका सिद्धान्त र जीवहरु स्वयम् लाई इञ्जिनियरिङको टुल्सको रुपमा प्रयोग गरेर झन् राम्रा परिणामहरु प्राप्त गर्न सकिने आधारहरु देखा परिरहेका छन् । खास गरेर नदी नियन्त्रण, पहिरो नियन्त्रण, भू–क्षय र स्लोप मेनेजमेन्टमा यो उपयोगी हुने देखिएको छ ।
जीव विज्ञानका सिद्धान्तहरु र स्वयम् केही जीवहरु र इञ्जिनियरिङ क्षेत्रका तथ्यहरु बीचको तादाम्यताको खोजी नै वायोइञ्जिनियरिङ हो । यसले अझ उपयोगी र आर्थिकरुपले बढी उपयोगिताका सामग्रीहरुको निर्माणमा सहयोग पु¥याउँछ । मानव समाजलाई अझ सजिलो र भरपर्दो बाटोमा डोहो¥याउन सक्छ । जीव विज्ञान, पर्यावरण, भौतिक विज्ञान, तथा सीभिल इञ्जिनियरिङका सिद्धान्तहरुलाई एकीकृत गरेर बाढीपहिरो नियन्त्रणमा, निर्माण सामग्री बनाउन तथा माटोको सुरक्षामा उपयोग गर्नुपर्छ भनेर एलेन र लीचले सन् १९९७ मा आफ्नो धारणाहरु प्रकाशित गरे । पछि बेनट्रप र होएगले सन् १९९८ मा यसलाई अझ पुष्टी गरे । त्यसपछि यसको क्षेत्र अझ तन्कँदै जान थालेको देखिन्छ । सोइल एण्ड वाटरवायो इञ्जिनियरिङलाई सीभिल इञ्जिनियरिङकै एउटा शाखाको रुपमा मानिन्छ । यसले प्राविधिक, पर्यावरणीय र आर्थिक पक्ष एवम् डिजाइनलाई समेट्छ । सोइल वायोइञ्जिनियरिङमा केही जीवित वनस्पतिहरुलाई इञ्जिनियरिङ कार्यमा प्रयोग गरिन्छ । शिचटलले सन् १९८० मा सोइल वायोइञ्जिनियरिङको प्रयोगलाई बढोत्तरी गर्न युरोपीयन मुलुकहरुलाई सुझाएका थिए ।
सोइल इरोसन, वाटर इरोसन, ग्लासीयल इरोसन, जुजेनिक इरोसन, एन्थ्रोपोजेनिक इरोसन, फिजिकल मेकानिकल इरोसनहरुमा जीवित र मृत वनस्पति र तिनका शरीरका भागहरुको उपयोगिता अझ चाखलाग्दो छ । कंक्रिटले बनाइएका पहिरो नियन्त्रण भित्ताभन्दा बाँस, काँस, खर, उतीस, सल्लाका केही प्रजातिहरु र केही फूल नफुल्ने प्रजातिका वनस्पतिहरु उपयोगी देखिएका छन् । यहाँ पनि वनस्पति विविधताको खोजी त्यतिकै आवश्यक छ । निम्न पहाडी क्षेत्रको नदी नियन्त्रण, पहिरो नियन्त्रणमा उपयोगी वनस्पतिहरु हिमाली क्षेत्रको लागि भर पर्दा नहुन सक्छन् । हिमाली क्षेत्रको निम्न वायुमण्डलीय चाप, कम तापक्रम, बढी उचाइ, हिमपातमा बाँच्न सक्ने हाइपोसोबायन्ट (जथउयकयदष्यलत) प्रकारका वनस्पतिहरुको खोजि गरिनुपर्छ । यसमा जैविक विविधता, पर्यावरण एवम् इञ्जिनियरिङ क्षेत्रको ज्ञानलाई एकीकृत गरेर उपयोग गर्नुपर्दछ ।
जैविक विविधताभित्रको अध्ययनमा जुजेयोग्राफी र फाइटोजेओग्राफी छुटाउन सकिन्न । यसमा जनावर तथा वनस्पतिहरुको फैलावटको कुरा अध्ययन गरिन्छ । तराइ, पठ्ठार, पहाड र हिमालका नदी, हिमनदी, पहिरो नियन्त्रणमा सोही वातावरणमा बाँच्न सक्ने फूल फुल्ने र नफुल्ने प्रकारका वनस्पतिहरुको ज्ञान पनि जरुरी हुन्छ । कतिपय स्थानमा जंगली उन्युका पोथ्रा र रुख उन्यूहरु माटो संरक्षण र भू–क्षय नियन्त्रणमा उपयोगी देखिएका छन् । वनस्पति जगतमा उभयचर वनस्पतिहरुलाई ब्रायोफाइटा भनिन्छ । बिकसित प्रकारका ब्रायोफाइटाहरुलाई मस प्लान्ट भनिन्छ । यिनीहरु चिसो मौसममा मज्जाले ढुंगाको सतहमा उम्रन्छन् । यिनीहरुले शारीरिक क्रियाकलापबाट अम्ल निकाल्दछन् । जसले ढुङ्गालाई क्रमशः गलाउँदै लैजान्छ ।
जसले अन्य प्रकारका वनस्पतिहरुका जरा भित्रभित्रसम्म पुग्न सहयोग गर्दछ । यसरी नजानिँदो तरिकाले यति स–साना वनस्पतिहरुले समेत भू–क्षय नियन्त्रणमा सहयोगी भूमिका निभाउँछन् । यस्तै भूमिका ढुङ्गामा उम्रने झ्याउ वर्गका वनस्पतिले समेत देखाउँछन् । वैज्ञानिक रुपले हेर्दा वनस्पतिहरुका जरामात्र होइन पात र डाँठले समेत माटो जोगाउने काम गर्दछ । भारी बर्षा भएको समयमा सिधैँ पानी जमीनमा पर्न पाउँदैन । पानीका थोपा वनस्पतिकै शरीरमा पर्दछ र भिरालो जमिनमा माटोको संरक्षण गर्दछन् । सिधैँ भिरालो जमिनमा पानी पर्दाभन्दा झाडी भएको भिरालो जमीनमा भू–क्षय कम हुने प्रयोगहरुले देखाएको छ ।
जंगलले झन् राम्ररी माटोको सुरक्षा गर्दछ । रुखको भित्रसम्म पुगेका जराहरुले माटोलाई कसेर राखेको हुन्छ । बिरुवाका सहारामा जमीनभित्र ढुसी वर्गका वनस्पतिहरु हुन्छन् । हामीले त्यति ध्यान नदिएका यस्ता वनस्पतिहरुका जालीदार माइसेलियमहरुले माटोका कणहरुलाई बाँधेर राखेको हुन्छ । जंगल फँडानी हुँदा रुखका जरा मर्छन् अनि अण्डर ग्राउण्ड भेजिटेशनलाई समेत असर पुग्छ । जमिनभित्रका सूक्ष्म जीवीहरुको समुदायमा बिचलन पैदा हुन्छ । जसले भू–क्षयको लागि सहायकसिद्ध हुन्छ ।
अर्को महत्वपूर्ण कुरा त के छ भने रुख बिरुवाले जमीनबाट अति धेरै पानी सोस्छन् । सोसेको पानीमध्ये झण्डै दुई प्रतिशत मात्र प्रयोग गर्छन् र बाँकी ९८ प्रतिशत पानी बाफको रुपमा बायुमण्डलमा फर्काउँछन् । यस प्रक्रियाले जमीन बिस्तारै कडा र सुख्खा बन्दै जान्छ र भू–क्षय र पहिरोबाट जोगिन्छ । अर्कोतर्फ वनस्पतिहरु कै भागहरुलाई निर्माण सामग्रीमा मिसाएर साउण्ड प्रुफ भित्ताहरु बनाउन सकिन्छ । धान र गहुँका छ्याली र भुषलाई यसमा उपयोग गरिँदै आएको छ । बाँस, मालिङ्गोका आकर्षक घरहरुले पर्यटकहरुलाई लोभ्याएका छन् । यसलाई पर्यापर्यटनसँग जोडेर समेत लैजान सकिन्छ । वायोइञ्जिनियरिङ पर्यावरणमैत्री प्रविधि हो भन्ने कुरामा अबको दिनमा कुनै सन्देह रहने छैन् ।


























