रामचन्द्र उप्रेती,
वर्तमान विश्वका सर्वाधिक शक्तिशाली व्यक्तित्व चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाली राष्ट्रपति बिद्यादेवी भण्डारीको निमन्त्रणामा २०७६ सालको अशोज २५ र २६ गते दुई दिन नेपालको राजकीय भ्रमण गर्नुभयो । भ्रमण अगाडि र भ्रमण पछाडि पनि धेरै कालसम्म यसका तरङ्गहरु नेपाली जनमानसमा छाल बनेर तरङ्गित भइरहने पक्का छ । यो भ्रमणका तरङ्गहरु नेपालको सिमामा मात्रै सिमित हुने छैनन् ।
यसले दक्षिणको छिमेकी भारतमा नेपाल पछिको ठूलो कम्पन सृजना गर्नेछ । नेपालको दक्षिणी छिमेकीको मन र चाल राम्ररी बुझेका उत्तरी छिमेकका प्रमुखले दक्षिणमा पर्ने कम्पनलाई मत्थर पार्न उतैको बाटो भएर मात्रै आएनन्, भेटेरै आए । यो भ्रभणले क्षेत्रिय सन्तुलन र दुई देशीय व्यपारलाई नकारात्मक असर नपरोस् भन्नेमा उत्तर चनाखो भएको रुपमा बुभ्mनु उपयुक्त हुन्छ । चीनको यो चासोलाई नेपालले पनि सम्मान गर्नुपर्छ ।
भूगोलले सृजना गरेको प्रतिकूलताका कारण चीनसँग सीमा जोडिए पनि हामी भारत जत्तिकै नजिक भएको महशुस गर्न सकेनौं । भाषा, संस्कृति, धर्म र भूगोल समेतको अनुकूलताले नेपाललाई दक्षिणतर्र्पm अर्थात् भारतपट्टी नजिक हुन बाध्य बनायो । नेपाल र नेपालीको यो बाध्यताबाट भारतले भरपुर फाइदा लिएको छ । भारतले नेपालसँग व्यापारिक फाइदा मात्रै लिएको भए त्यति मन दुखाई नेपालीले गर्ने थिएनन् । तर, ऊ त प्रहरी अधिकृतको सरुवामा पनि चासो राख्छ । नेपाली उसका ‘अच्छा’ उपभोक्ता भएका छौं । नेपालसँग उसको अर्बौको होइन खर्बको व्यापार हुने गर्छ । नेपालमा रेकर्ड नगरिएको अर्को तथ्याङ्क पनि छ । नेपालले तेश्रो मुलुकबाट जति विप्रेशण ल्याउँछ त्यसको आधा त विपे्रशणकै रुपमा भारतमा उताका कामदारले यहाँबाट लैजान्छन् भन्ने अनुमान छ । नेपालसँगको व्यवसायिक सहकार्यबाट अर्बौंको नाफा गरेर केही करोडको सहयोग सित्याईमा गरिदिएको छ ।
ऊ नेपालसँगको व्यपारबाट भएको नाफा सधैँ लुकाउँछ र आपूmले गरेको सहयोगको मात्रै उच्च स्वरमा उच्चारण गर्छ । भूगोलको फाइदा उठाएर कहिले बाटो छेक्छ र पैसा लिइसकेको अवस्थामा पनि इन्धन, औषधि समेत रोकेर मैले भनेको मान् भन्छ । कहिले पानी थुनेर डुबाउँछ कहिले सित्तैमा पानी दे भन्छ, नदिइकन पनि लान्छ । टनकपुरमा यस्तै भएको थियो । नेपालले खुट्टा टेकेको भारतलाई मन पर्दैन । हात जोडेको मात्रै हेर्न चाहन्छ । आफ्नो हितको कुरा गरेको उसलाई राम्रो लाग्दैन । त्यसैले नेपालमा उत्तरी छिमेकीले हिमाल छेडेर बाटो बनाउने, रेल ल्याउने, त्यता पनि व्यापार गर्ने, त्यताका मानिस यता आउन्, यताका उता जाउन् भन्ने कुरा भारतलाई भित्रबाटै भन्दा मन पर्दैन । तर, मुखले त्यसो भन्दैन, भन्नु हुँदैन । यहाँको उत्पादन बढोस्, नेपाल आत्मनिर्भर होस्, विकास गरोस् भन्ने दक्षिण चाहँदैन किनकि उसको नेपालको बजार खुम्चियोस् भन्ने ऊ किन चाहन्थ्यो र ?
चीनको भारतसँग हुने व्यपारको आकार नेपालको भन्दा कता हो कता ठूलो छ । त्यसैले चीन नेपालसँग रणनीतिक रुपमा सम्बन्ध विस्तार गर्दा भारत नचिडियोस् भन्ने चाहन्छ । अर्कोतिर पश्चिमाहरु सके नेपालको काँधमा बसेर नसके भारतको ढाडमा टेकेर चीनमाथि प्रहार गर्न चाहन्छन् । यो कुरा चीनले नबुझ्ने कुरै भएन । चीन र भारतको सम्बन्ध जति सुदृढ, सुमधुर हुन्छ चीनलाई विश्व शक्ति बन्ने कुरामा त्यति बल पुग्छ । यस्ता अनेक कारणले चीनले भारतलाई आश्वस्त पारेर नेपालसँग मित्रताको गाँठो अभैm बलियो पार्नु उसको आवश्यकता हो ।
हाम्रो आन्तरिक मामलामा बारम्बार दख्खल दिन रुचाउने, कमजोर देखेर हेप्ने, भूगोलको फाइदा उठाएर थर्काउने, विश्व मञ्चमा उनकै बोली–बोली दियोस् भनेर दबाव दिने, अरुसँग व्यपार गर्दा कर्के नजरले हेर्ने, उनीसँग गरिने व्यापारमा पनि बारम्बार समस्या आइरहने, अरुसँग मित्रता गाँसेको मन नपराउने छिमेकीको व्यवहारले हामीलाई विकल्प खोज्न सिकाएको हो । यो विकल्प चीन बाहेक अरुसँग भूगोलको कारणले थिएन÷छैन । चीनसँग मित्रता बढाउनु भनेको भारतसँगको मित्रता कम गर्ने भन्ने हँुदै होइन । नेपाल र भारतका बीचमा मित्रताको लागि जुन सहजता छ त्यो चीनसँग छैन । जस्तै भूगोलको सहजता मुख्यरुपमा भए पनि भाषा, धर्म, संस्कृति, रीतिरिवाज, साइनो सम्बन्ध जुन रुपमा नेपाल र भारतका जनताको बीचमा छ त्यो रुपमा चीनसँग हँुदैन, हुनै सक्तैन । नेपालले चाहेको कुरा यति हो कि हामीसँग भारतको विकल्पमा अरु मित्र पनि छन् । भारतले धेरै असमान व्यवहार गर्दा, हामीलाई धेरै थिचोमिचो गर्दा हामी सधैँ सहनुपर्ने बाध्यतामा छैनौं भन्ने सन्देश दिनु पर्ने भएको हो ।
भारतले नाकाबन्दी लगाउँदा पनि नेपाल बाँचेको, नेपालीले सरकारलाई साथ दिएको, नेपाल नझुकेको देखेर भारत केही हच्कियो । नेपालले अरुसँग व्यापार गर्न र विकल्प खोज्न सक्छ भन्ने भएपछि बर्षौंसम्म नबनेको तेलको पाइप लाइनको काम भारतले बनाई दिएर आफ्नो इन्धनको बजार सुरक्षित गरेको छ । यो हाम्रो मात्रै आवश्यकता थिएन । उसको व्यापारको सुरक्षा पनि थियो । हाम्रो अदुवा, कुचो, टमाटर, चिया, अलैंची भारतमा पठाउदा धेरै पटक क्वाराण्टायनको झञ्जट दिएर नेपाली व्यावसायी र किसानलाई हतोत्साही गर्ने गरेको भारतले उताबाट आउने तरकारीको विषादी जाँच्ने कुरा गरेपछि मेरो पनि न जाँच, तिम्रो पनि जाँच्दिन भन्ने अवस्थामा पुग्यो । यी र यस्ता घटनाले सिकाएको पाठ हो हामीले सधँै एउटैको भर पर्नु हँुदैन । सम्भव सबै विकल्प खोज्नुपर्छ भन्ने । केपी ओलीको नेतृत्वमा बनेको सरकारले विगतमा र वर्तमानमा यो सन्तुलन मिलाउने एवम् विकल्प खोज्ने काम गरेको छ । यसमा सबै नेपालीको पूर्ण सहमत देखिएको छ । चीनका राष्ट्रपति महामहिम सी चिनफिङको भ्रमणलाई देशका सबै राजनीतिक दल, संघ–संस्था, व्यक्ति–व्यक्तित्व सम्पूर्णले हार्दिकतापूर्वक स्वीकार्नु, सफल बनाउन लाग्नु र स्वागत सम्मानमा कतै कुनै कमी नहोस्् भनेर चाहनुमा चीनले धेरै अनुदान देला, उपहार देला र त्यै कारण देश समृद्ध होला भन्ने होइन । हामीसँग अरु सम्भावना पनि छन् भन्ने मुख्य विषय हो ।
चीनका राष्ट्रपतिले नेपाल अब भू–परिवेष्टितबाट भू–जडित मुलुक भएको छ भन्दा यसमा धेरै कुरा लुकेको छ । नेपालीले चाहेको कुरा नै यही हो । नीतिगत रुपमा यो कुरामा सहमति भएपछि अब यसलाई व्यावहारिक बनाउन हिमाल वारपारको कनेक्टिभिटिका आधार तयार पार्नु पर्छ । यो भ्रमणमा यो कुरामा पनि सहमति भएको छ । यसलाई कार्यान्वयन गर्ने जिम्मा एक्लै चीनको होइन । नेपालले उत्तिकै तदारुकता देखाउनुपर्छ । यसबारेमा पनि चीनका राष्ट्रपतिले घुमाउरो पारामा बोलेका छन् । कुटनीतिक भाषामा यो निकै प्रर्याप्त छ । उनले भने ‘चीनमा हामी विकासका लागि भएका निर्णयलाई कार्यान्वयमा लैजान्छौं, यो अनुभवबाट नेपालले पनि सिक्न सक्छ ।’ तिमीहरु निर्णय गर्छौं, तर कार्यान्वयन गर्दैनौं भन्न उनले मिल्दैनथ्यो, त्यसैले भनेनन् । तर, यो सबैले बुझ्ने भाषामा थियो भन्दा हुन्छ ।
सीले नेकपाका नेतालाई सामुहिक रुपमा भेट्दा भनेको कुरा पनि अति नै महत्वपूर्ण छ । ‘पार्टीभित्रको स्वच्छतामा बढता जोड दिनुपर्छ । चीनको आत्मविश्वास बढ्नुमा पार्टीको अनुशासन पनि मुख्य कारण हो’ भनेका छन् । तिमीहरुमा स्वच्छताको अभाव छ भन्न त मिल्दैन थियो । त्यसैले चीनमा पार्टीभित्रको स्वच्छतालाई ध्यान दिएका छौं । त्यसैले पार्टीले काम गर्न सकेको छ, जनताको विश्वास जितेको छ भनेको प्रष्टै बुझिन्छ । त्यस्तै त्यही भेटमा अर्को महत्वको कुरा भनेका छन्– ‘जनताको मन जिते मात्र सत्तामा टिकिन्छ ।’
जनताको मन जित्न पार्टीका नेता जनताको सेवक हुनुपर्छ भन्ने सन्देश प्रष्ट छ । त्यसको अभाव छ भन्ने कुराको संकेत दिएका छन् । बुझ्नेलाई इसारा काफी भनिन्छ । उनले अभैm अगाडि भने हामीले सत्ता कब्जा गरेका कारण मात्रै चिनियाँ कम्युनिष्ट पार्टीले निरन्तर सरकार बनाएको होइन कि जनताको सेवा गरेका छौं भन्ने कुरा भन्न भ्याए । पद, प्रतिष्ठा, मर्यादा, भाग, विलासी र अपारदर्शी जीवनशैलीमा रमाएका नेपाली नेतालाई यो कुरा कति चित्त बुझ्यो त्यो बेग्लै कुरा हो । तर, उनले सत्य कुरा भने र चीनमा यसै गर्छौं भने । यो कुटनीतिक हिसावले निकै महत्वपूर्ण कुरा हो । सी चाहन्छन् नेपालमा पनि कम्युनिष्ट पार्टीेले जनताको मन जितेर, जनताको सेवा गरेर लगातार शासन गरुन् र स्थिरता एवम् समृद्धिको बाटोमा अघि बढुन् । चिनियाँ राष्ट्रपतिको यो महत्वपूर्ण भ्रमणको तत्कालको उपलब्धि भनेको यति महत्वपूर्ण व्यक्तिको भ्रमण हुनु नै पहिलो उपलब्धि हो । अब यति मै रमाउने कि यसलाई दिगो उपलब्धिमा परिणत गर्न सम्भावनाहरुको पछि लाग्ने भन्ने कुरा नेपाल र नेपालीका लागि निकै महत्वपूर्ण छ ।
सय पचास वर्ष पहिलेसम्म देश–देशका शासकको सन्किका भरमा, शक्तिको उन्माद प्रस्तुत गर्न, इगो साध्न, आपूm बलशाली भएको देखाउने जस्ता उद्देश्यले अरु देशसँगको सम्बन्ध निर्धारण गर्ने चलन थियो । तर, अहिलेको पुरै विश्व व्यपारमा अडेको छ । व्यापार अर्थात् नाफाघाटाको हिसाब । यसमा चीन सबैभन्दा अगाडि छ भन्दा फरक पर्दैन । माथि नै भनी सकियो चीन नेपालसँग सम्बन्ध विस्तार गर्दा भारतसँग हुने व्यापार नगुमोस् भन्ने चाहन्छ । यति मात्रै होइन नेपालसँगको कनेक्टिभिटिले भारतसँग हुने व्यापारमा सहजताको बाटो खुलोस् भन्ने चाहन्छ भन्ने बुझ्न सकिन्छ । भारतको उत्तरमा भएको २०÷३० करोड जनसंख्याका लागि चीन र भारतका बीचमा हुने व्यापारमा नेपालको बाटो छोटो र कम खर्चिलो हुन सक्छ । यो सम्भावनालाई भारतले अहिले नै न स्वीकारे पनि भविष्यमा यो सहजताको उपयोग गर्न सक्दा नेपाल, भारत र चीन सबैलाई फाइदा पुग्ने कुरा चीनले देखेको छ । त्यसैकारण पनि चीन नेपालमा कनेक्टिभिटी बढाउन र रोड, रेलमा लगानी गर्न इच्छुक छ । त्यसका लागि नेपालमा राजनीतिक स्थिरता र नेपाल सरकारको काम गर्ने क्षमतामा विकास हुन जरुरी छ । यो कुराको संकेत राष्ट्रपति सीले दिएका छन् । जुन विल्कुल स्वभाविक हो ।
नेपाल र चीनसँगको सम्बन्ध आगामी दिनमा कसरी बढछ भन्ने कुरा चीनकोभन्दा बढता नेपालको भूमिकामा भर पर्छ । नेपाल सरकारले यी दुई सरकार(नेपाल र चीन)का बीचमा भएका सहमति सम्झौताको कार्यान्वयन कत्तिको गर्छन् ? यो सम्बन्धबाट नेपालले आर्थिकरुपमा कति फाइदा लिन सक्छ ? एक चीन नीतिका बारेमा चीनले धेरै शंका नगर्ला र यसमा नेपालको कुनै बदलाब पनि न होला । तर, चीनका विरुद्ध नेपाली भूमि प्रयोग हुन नदिन नेपाल सरकारले कस्तो नीति लिन्छ भन्ने बारेमा चीनको सधै चासो हुने गर्छ । यो चासो स्वभाविक छ र यसलाई नेपालले सधै चनाखो भएर हेर्नुपर्छ । सम्बोधन गर्नुपर्छ । चीनका विरुद्ध नेपाललाई कसैको काँध बन्न दिनुहँुदैन ।
चीनले हाम्रो आन्तरिक मामिलामा भारतले जस्तो माइक्रो लेभलमा आएर दख्खल देला भन्ने लाग्दैन । तर, उसले गर्ने व्यापार र सुरक्षामा उसको चासो सधैँ रहने छ । नेपाललाई केही महत्वपूर्ण सहयोग केही समयका लागि चीनले दिन सक्छ । तर, सधैँ दिँदैन भन्ने बुझ्नुपर्छ । चीनले गरेको सहयोगबाट हामीले आर्थिक फाइदा लिन नसक्ने र सधैँ मगन्ते नै भइरहने हो भने चीनले नेपाललाई महत्व नदिन सक्छ । यो स्वभाविक हो । त्यसैले भूगोलको सामरिक महत्वको फाइदा उठाएर नेपालले चीन र भारत दुबै देशसँगको सम्बन्ध सन्तुलित बनाउँदै यी देशले गरेको प्रगतिबाट आफ्नो देशको विकास गर्ने, स्वभिमानको रक्षा गर्ने, आर्थिक परनिर्भरता कम गर्दै समृद्ध देश बनाउने अभियान पूरा गर्नुपर्छ ।


























