फौजी कीराको प्रकोप नियन्त्रणको पहल गर्न माग

0
1211

परासी, 

केही दिनदेखि धानबालीमा फैलिएको फौजी कीराको प्रकोप नियन्त्रण र क्षतिपूर्तिको लागि पहल गर्न पश्चिम नवलपरासीका कृषकले कृषि ज्ञान केन्द्रलाई आग्रह गरेका छन् । फौजी कीराका कारण धानबाली नष्ट भएपछि चिन्तित भएका यहाँका कृषकले क्षतिको विवरण सङ्कलन, कीरा नियन्त्रण तथा आवश्यक सचेतना जगाउन तत्काल पहल गर्नका लागि माग गरेका हुन् ।

काट्न तयार भएको धानमा फौजी कीराको प्रकोप बढेपछि पश्चिम नवलपरासीका कृषक पीडित बनेका छन् । जिल्लाको बर्दघाट नगरपालिका र सरावल गाउँपालिकामा फौजी कीराको प्रकोप बढी देखिएको छ । यहाँ लगाइएको ६० प्रतिशत धानमा क्षति पुगेको कृषकले बताएका छन् । बर्दघाटबाट शुरु भएको फौजी कीराको प्रकोप अहिले जिल्लाभरि नै फैलिएको छ । प्रकोप बढ््दा पनि कृषि ज्ञान केन्द्रलगायतका निकायले चासो नलिएको कृषक हकहित संरक्षण मञ्चका जिल्ला अध्यक्ष शम्भु उपाध्यायले गुनासो गर्नुभयो ।

“दुई हप्तादेखि फौजी कीराले धानबाली सखाप पारेको छ, किसान पीडित छन्, तर कृषि ज्ञान केन्द्र मौन रहेको छ, क्षतिको विवरण सङ्कलन गर्ने, थप क्षति हुनबाट रोक्ने तथा क्षतिपूर्ति उपलब्ध गराउन ज्ञान केन्द्रबाट पहल हुनुप¥यो”, उहाँले भन्नुभयो । फौजी कीराको प्रकोप बढेपछि अहिले जिल्लाका कृषकले धमाधम हरियो धान काटिरहेका छन् ।

दिउँसोमा भन्दा पनि रातिमा फौजी कीराले पाकेको धानको बाला काट्ने गरेको कृषक पप्पु रेग्मीले बताउनुभयो । फौजी कीराको नियन्त्रणका लागि अहिलेसम्म कुनै उपाय नपाएको कृषक बताउँछन् । यो कीराले एकै रातमा एक बिघा धानबाली नष्ट गर्ने गरेको छ । काटेर फिँजाइएको धान धेरै क्षति हुने गरेको छ । स्थानीय तहमै कृषि शाखा रहे पनि त्यहाँबाट कुनै किसिमको प्रभावकारी काम नभएको मञ्चका अध्यक्ष उपाध्यायले बताउनुभयो ।

“कृषि ज्ञान केन्द्रबाट प्रकोप नियन्त्रणका लागि विषादीको व्यवस्थापन गर्ने, यथाशीघ्र धानबालीको अनुगमन र क्षतिको विवरण सङ्कलन गरी कृषकहरुलाई क्षतिपूर्ति उपलब्ध गराउन पहल गर्नुपर्ने र आगामी दिनमा कृषकले लगाउने दलहन, तेलहन र तरकारी खेतीलाई सुरक्षित गर्न आवश्यक कदम चाल्नुपर्ने देखिन्छ”, उहाँले भन्नुभयो । कृषि ज्ञान केन्द्रं नवलपरासीका बाली विकास अधिकृत अरविन्दमणि त्रिपाठीले भने फौजी कीराको प्रकोप सबैभन्दा धेरै बर्दघाट–१४ मा देखिएको र जिल्लाभरि फैलिरहेको बताउनुभयो ।

कीराको प्रकोपबाट भएको धानबालीको क्षतिको यकिन विवरण सङ्कलन गर्ने काम भइरहेको पनि उल्लेख गर्दै उहाँले भन्नुभयो, “बर्दघाटको कृषि शाखालाई विषादीको लागि सिफारिश गरिएको छ, हामीले स्थलगत अनुगमन पनि ग¥यौँ, कृृषकलाई धान तत्काल काट्न लगाएका छौँ ।” फौजी कीराले बर्दघाटमा मात्रै ६० प्रतिशत धानबाली क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । उहाँले हिँउदेबाली लगाउनुपूर्व विज्ञहरुबाट सुझाव लिएर मात्र लगाउन आग्रह गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here