विदेशबाट फर्किएपछि पशुपालन व्यवसायमा

0
1242

सुरुङ्गा,
वैदेशिक रोजगारीमा गएका अधिकांश मानिसले स्वदेश फर्किएपछि पशुपालन व्यवसाय सञ्चालन गर्ने गरेको पाइएको छ । जिल्लाका अधिकांश स्थानमा खोलिएका पशु फर्म सञ्चालक मध्ये धेरैजसो वैदेशिक रोजगारीबाट फर्किएपछि आफूहरुले व्यवसायिक रुपमा पशुपालन गर्दै आएको बताएका छन् ।
अर्जुनधारा नगरपालिका वडा नम्वर १० सेतीपानीका दिब्यराज खतिवडा पनि १० वर्षसम्म वैदेशिक रोजगारीको सिलसिलामा संयुक्त अरब इमिरेट्स (यूएई) र मलेसियामा बस्नुभयो । दश वर्षसम्म विदेशमा बस्ता पनि भनेजस्तो कमाई नभएपछि अहिले उहाँले घरमै कुखुरा फार्म सञ्चालन गर्नुभएको छ । यो संगै उहाँले उन्नत जातका बाख्रा पनि पाल्न थाल्नु भएको छ । २० लाख रुपैयाँ लगान्ी गर्दै गत वर्षबाट उहाँले कुखुरा र बाख्रा पालन व्यवसाय सञ्चालन गर्नुभएको हो । उहाँको फर्ममा अहिले नौ सय ७० वटा कुखुरा छन् । लेयर जातका कुखुरा पाल्नु भएका खतिवडाले अहिले सोही व्यवसायबाट मनग्य आम्दानी गरिरहनु भएको छ । कुखुरासंगै उहाँको घरमा अहिले २० वटा उन्नत जात (जमुनापारी, वोएर) का वाख्रा छन् ।
कुखुरा पालन र बाख्रा पालन व्यवसायबाटै खतिवडाले गाउँमै मनग्य आम्दानी गरेपछि अहिले सेतीपानीमा अधिकांशले उन्नत जातका वाख्रा र कुखुरा पाल्न शुरु गरेका छन् ।
श्रीमती भावना खतिवडाको नाममा फर्म सञ्चालन गरिएको र सोही फर्मले आफूलाई विदेशको भन्दा राम्रो आम्दानी दिन थालेपछि दिव्यराजको परिवार अहिले फुरुङ्ग छ ।
दिब्यराजले बाख्रा र कुखुर पालेरै प्रगति ग¥यो छिमेकी खगेन्द्रप्रसाद खरेलले भन्नुभयो – मैलेपनि अहिले २२ माउ उन्नत जातका वाख्रा पालेको छु । गर्दा हुँदो रहेछ खरेलले भन्नुभयो – पहिला बाख्रा पाल्न नजानेर रहेछ,घर गाउँका लोकल बाख्रा पालिन्थ्यो जति हेरचाह गरेपनि खासै फाइदा हुँदैन थियो तर अहिले उन्नत जातका थोरै बाख्रा पालेपनि मनग्य आम्दानी भएको छ ।
नेपाली अर्थतन्त्रको आश लाग्दो क्षेत्र कृषि र पशुपालनलाई अझ व्यवस्थित गरी पशुधनको उत्पादन बढाउने सरकारको लक्ष्य छ । सरकारले पशुपालक कृषकलाई अनुदान प्रदान गर्न थालेपछि अधिकांश युवा अहिले पशुपालनमा आर्कषित छन् । त्यसमा पनि विदेशबाट फर्किएका युवाले पशुपालन व्यवसाय सञ्चालन गर्दै आएका छन् । बाह्रदशी गाउँपालिका – ५ का दिनेश थापाले विदेशबाट फर्किएर अहिले पशुपालन गरिरहनु भएको छ ।
उहाँले उन्नत जातका एकयस गाई र एक सय स्थानीय जातका बाख्रा पाल्नु भएको छ । उहाँको पशु फर्म १ नम्वर प्रदेशकै ठूलो मानिन्छ ।
उहाँ मात्र होइन झापा गाउँपालिकाको शरणामतिका सूर्य भण्डारीले पनि अहिले कुखुरा पालन व्यवसाय सञ्चालन गर्नुभएको छ । उहाँले अहिले दैनिक एक हजार आण्डा उत्पाद गर्दै आउनु भएकोछ । उहाँपनि वैदेसिक रोगजारीको सिलसिलामा ५ वर्ष अघि साउदी अरव जानु भएको थियो । तर, विदेशमा भनेको काम नदिई भेडा चराउन लगाएपछि उहाँ एक महिना मै स्वदेश फर्कनु भयो । स्वेश फर्किएलगत्तै कुखुरा पालन व्यवसाय सञ्चालन गर्नुभएका भण्डारीले अहिले मासिक एक लाख रुपैयाँ घरमै बसेर कमाई गरिरहनुभएको छ ।
विदेशबाट फर्किएर पशुपालन व्यवसाय सञ्चालन गर्ने उनीहरु प्रतिनिधि पात्र मात्रै हुन् । उनीहरु जस्ता धेरैले अहिले विदेशबाट फर्किएर पशुपालन व्यवसाय सञ्चालन गरेर मनग्य आम्दानी गरिरहेका छन् । –––

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here