झापा।

विराटनगरका बिभिन्न दुई ठाउँबाट प्रहरीले जुवा खेलिरहेको अबस्थामा २० जनालाई पक्राउ गरेको छ ।
बिराटनगर महानगरपालिका वडा नम्बर–३स्थित एक घरमा जुवा खेलिरहेको सूचनाका आधारमा गएको प्रहरी टोलीले जुवा खेलिरहेको अवस्थामा एक सेट कौडासहित ४ लाख ४९ हजार छ सय ३५ रुपैयाँ बरामद गरेको छ । जुवा खेलिरहेका १० जना समेत पक्राउ परेका जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
त्यस्तै बिराटनगर महानगरपालिका–८बाट पनि जुवा खेलिरहेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट डीएसपीको कमाण्डमा खटिएको प्रहरी टोली र वडा प्रहरी कार्यालय (ख) हाटखोलाबाट खटिएको प्रहरी टोलीले जुवा खेलिरहेको अवस्थामा एक थान कौडासहित दुई लाख दश हजार छ सय दश रुपैयाँ बरामद गरेको छ । तर, पक्राउ परेका व्यक्तिको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।
यसैबीच प्रहरीले तिहारमा देशभरबाट तीन महिलासहित चार सय ६५ जुवाडेलाई पक्राउ गरेको छ । तिहारलाई लक्षित गरी सञ्चालन गरिएको अप्रेसनमा ४३ स्थानबाट तीन करोड ३० लाख रुपैयाँ बरामद भएको जनाइएको छ । यो कात्तिक ३देखि कात्तिक १३ गतेसम्मको तथ्यांक हो ।
दशैँ, तिहारको अवसरमा जुवाका गतिविधि ह्वात्तै बढ्न सक्ने आशंका गर्दै प्रहरीले विशेष अप्रेसन चलाएको थियो । राजधानीको महाराजगञ्जबाट मात्र एकैठाउँबाट २५ जुवाडे र २ करोड ६७ लाख रुपैयाँ बरामद भएको थियो । गतआर्थिक वर्षमा देशभर जुवा सम्बन्धी ३ सय ९१ वटा मुद्दा दर्ता भएकामा २ हजार ८ सय ६९ जना पक्राउ परेका थिए ।
उता महाराजगञ्जमा शनिबार राति चलाइएको जुवा अप्रेशनमा पक्राउ परेका ६ जना जुवाडेलाई नछाड्न अदालतले आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले बुधबार उनीहरुलाई ‘साथमै राख्न’ आदेश दिएको हो ।
महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले चलाएको अपरेशनमा पक्राउ परेका इन्द्रबहादुर श्रेष्ठ, शम्भुबहादुर बुढाथोकी लगायतले पनि बुधबार बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए । जसमा भएको सुनुवाइमा विपक्षीलाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश भएको छ । उनीहरुसँगै ६ जुवाडेलाई पनि बुधबार उपस्थित गराउन भनिएको छ । आदेशमा भनिएको छ– बन्दीप्रत्यक्षीकरणका निवेदनहरु साथै राखी एकैपटक हेर्नुपर्ने देखिएकाले प्रस्तुत निवेदन समेत सो निवेदनहरुसँग साथै राखी बन्दीहरुलाई समेत उपस्थित गराई नियमानुसार गरी पेश गर्नू ।’
पक्राउ परेकामध्ये ६ जना भीआइपी जुवाडेको तर्फबाट आइतबार अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट परेको थियो । रिट दायर गर्नेमा क्यासिनो किङका रुपमा चिनिने बलराम सापकोटा उर्फ बले, ठेकदार पवनकुमार गुप्ता, उद्योगी श्रवणकुमार गोयल, एयर डाइनेस्ट्रीका सञ्चालक पवित्रकुमार कार्की, जुवा खेलाउने बिक्रम गौतम र मुक्ति लामा थिए । बलेसहित पक्राउ परेकालाई छुटाउन राजनीतिक दबाब र आर्थिक प्रभावको चलखेल भइरहेको स्रोतले जनाएको छ ।
पक्राउ परेका बलराम सापकोटा ‘बले’ झापाको मेचीनगरस्थित धुलावारी निन्दा किनार पूर्वमा निर्माणाधीन क्यासिनोसहितको तारे होटलका सञ्चालक भएको बताइएको छ । उनीहरुका साथबाट दुई करोड ६७ लाख नगद, बैंक अफ काठमाडौंको ३ लाख रुपैयाँको चेक, ३२ थान कौडा र ४ बुङ तास बरामद भएको थियो । बरामद भएका हजार र ५ सय रुपैयाँका नोट गन्न प्रहरीलाई करिब ३ घण्टा लागेको थियो । पक्राउ परेका २४ जनाविरुद्ध जुवा ऐन अन्तरगत मुद्दा चलाउने प्रहरीको तयारी छ ।
आज बिहीबार अदालत खुलेपछि कानून बमोजित पक्राउ परेकामाथि अनुसन्धान गर्न म्याद थप गरिने डीएसपी उमेश लम्सालले बताएका छन् ।
को हुन् ‘बले’ ?
काभ्रेको रोशी गाउँपालिका, बाल्टिङ स्थायी घर भएका बलराम सापकोटा ‘बले’ जुवाडेहरुबीच ‘क्यासिनो किङ’ का रुपमा चिनिन्छन् ।

केही समय पहिलासम्म अन्नपूर्ण होटलमा भाँडा माझ्ने काम गरेका उनी वेटर हुँदै सोही होटलस्थित अन्ना क्यासिनोमा बाउन्सरको रुपमा काम गर्थे । ‘बले’ पछिल्ला दिनमा आफैँ जुवा खेलाउने काममा संलग्न हुन थाले । त्यही क्रममा उनले जुवामा लगानी गर्ने तथा मोटो ब्याज असुल्ने गरेको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् । जुवाडेहरुका लागि उनले ‘मिटर ब्याज’ मा लगानी गर्ने गरेको बताइन्छ । उनले काभ्रेमा कांग्रेस पार्टीबाट राजनीतिमा प्रभाव जमाउने प्रयास गरेका थिए । कांग्रेसको जिल्ला कोषाध्यक्षका लागि उम्मेदवारी दिएका उनी कृष्णगोपाल भैलसँग पराजित भएका थिए ।
उनी कांग्रेसका सभापति शेरबहादुर देउवासँग समेत निकट सम्बन्ध राख्न सफल भएका थिए । पछिल्लो समय नेपाली राजनीतिमा नेकपाको प्रभाव बढेपछि उनी प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘बा’ भन्दै पार्टीका अन्य नेताहरुसँग समेत निकट सम्बन्ध राख्न सफल भएका थिए ।
जुवा धन्दा फस्टाउँदै गएपछि उनी रातारात करोडपति बनेको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् । नयाँ गुण्डाका रुपमा उदाएका बले भन्ने बलराम सापकोटा ‘ग्याङ’ बनाएर जुवासमेत खेलाउने गर्थे ।
जुवा खेलाएरै बलेले धेरैलाई घरवारबिहीन र कंगाल बनाएका उनले त्यही रकमले छोटो समयमै भारतको सिक्किम र गोवामा समेत क्यासिनो सञ्चालन गरेका छन् । बलेले पछिल्लोपटक झापाको धुलावारीमा ७ बिगाहा जमिनमा ‘पाँच तारे’ भव्य होटल समेत बनाउँदैछन् । ‘मेची क्राउन’ भन्ने पाँच तारे होटल बनाउन बलेलाई अर्का व्यापारी पवित्र कार्कीले सहयोग गरेको बताइन्छ ।
हेलिकोप्टर व्यापारी समेत रहेका कार्की डाइनेष्टि हेलिकोप्टरका मालिक हुन् । बलेलाई आर्थिक सहयोग गर्ने र हरेक काममा ‘व्याकअप’ दिने व्यक्तिका रुपमा कार्की चिनिन्छन् । ठूला नेता र व्यापारीलाई समेत रिझाउन खप्पिस बले गुण्डागर्दीमार्फत नै क्यासिनो क्षेत्रमा साम्राज्य खडा गर्ने कसरतमा रहेको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् ।
प्रहरी र ठूला राजनीतिक दलका नेताको नाम भजाउँदै फाइदा उठाउने बलेले काभ्रे नै घर भएका कारण सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको समेत नाम भजाउने गरेका छन् । उनले मन्त्री बाँस्कोटाले ‘आफूले जे भन्यो त्यही मान्छन्’ भन्दै अरुलाई धाक लगाउने गरेका छन् ।
पक्राउ पर्ने अन्य अधिकांश काभ्रे जिल्लाका छन् । उनीहरु स्थानीय राम गौतमको घरमा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका हुन् । पक्राउ परेकाहरुलाई प्रहरी वृत्त महाराजगञ्जमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ





























