इलाम।
रोङ गाउँपालिका वडा नं. ६ को कुवापानीमा गाउँघर क्लिनिकको भवन र बिजुलीको एकै साथ उद्घाटन गरिएको छ ।
हालसम्म स्थानीयबासीले गाउँमा सामान्य स्वास्थ्य सेवा र खोपकेन्द्र समेत नभएको बेलामा गाउँघर क्लिनिकको स्थापना गरिएको हो । उक्त भवनको बिजुली बालेर रोङ गाउँपालिकाका प्रवक्ता समेत रहेका वडाध्यक्ष मनिकुमार तामाङले उद्घाटन गरेका थिए ।
टोलमा प्रदान गरिने खोपसेवा महिला स्वास्थ्य स्वयंसेविका मिरा राईको आगनमा सञ्चालन गरिँदै आएको र भवन अभाव रहँदा सुत्केरी गर्भवती र बालबालिकालाई असहज भएको थियो ।
भवन निमार्णको लागि स्थानीय शिक्षक राजबहादुर राई, उनका दाजु जगतबहादुर राई र चन्द्रकिशोर राईले करिब चार लाख मूल्य बराबरको चार रोपनी जग्गा निःशुल्क दिएपछि गाउँपालिका र स्थानीय बासीहरुको सहयोगमा छ लाख रुपैयाँको लागतमा भवन निमार्ण गरिएको वडा सदस्य बिक्रम राईले बताए ।
सोही टोलमा हालसम्म अँध्यारोमा बस्ने बाध्यताबाट गाउँपालिकाको सहयोगमा बिजुली बिस्तार गरी बिजुली बाल्न थालिएको छ । बिजुली बलेपछि स्थानीयबासीले दिपावली गरेर तिहार मनाएको स्थानीय बलराम विकले बताए । कुवापानी लिम्बू गाउँ, फाकफोकटार, लामीटार आसपासमा बिजुली बलेको भए पनि सोही टोलका केही स्थानहरुमा बाँकी रहेकोले यसै बर्षभित्र बालिने योजना रहेको र कामले निरन्तरता पाइरहेको वडाध्यक्ष तामाङले बताए ।
भवन निमार्ण समितिकी अध्यक्ष तथा महिला स्वयंसेविका मिरा राईको अध्यक्षता तथा वडाध्यक्ष तामाङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रकाश कुलुङ, बलराम विक, शिक्षक दीपेन राई लगायतले शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन युवराज राईले गरेका थिए ।