फिजुल खर्ची व्यवहार बदलौं

१४ कार्तिक २०७६, बिहीबार मा प्रकाशित

यस वर्षका ठूला पर्वहरु सकिएका छन् । दशैं पछिको दोस्रो ठूलो पर्व तिहार दिदी–बहिनीले दाजुभाइको निधारमा सप्तरंगी टीका अनि दुबो, सयपत्री र मखमली फूलको माला लगाएदिएर दीर्घायू एवम् सुस्वास्थ्यको कामना गर्दैै समापन भएको छ । तिहारका पाँच दिनको बेग्लाबेग्लै महत्व बोकेका छन् । त्यसमा पनि लक्ष्मी पूजामा नेपाल, भारत लगायत वेदको संस्कृति मान्नेहरुको बसोबास रहेको विशवभरि नै दीपको आलोक झैं मानव जीवन पनि प्रकाशवान रहोस् भन्ने कामना गरिन्छ ।

यी पाँच दिन हामीकहाँ विस्फोटक पदार्थ पड्काउने कुसंस्कृति बलियो हुँदै गएको छ । पटाका, भुइँचम्पा लगायतका बारुदजन्य पदार्थको प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर पर्दछ, जनधनको समेत क्षति हुन्छ भन्ने जान्दाजान्दै पनि यसको आयात घटेको छैन । सरकारले वर्षेनि यस्ता वस्तुको आयातमा प्रतिबन्ध लगाउँछ, प्रयोग गर्नेलाई कडा कारवाही गर्ने सूचना जारी गर्दछ । तर, परिणम करोडौं रुपैयाँ खेर गइरहेको छ । खासगरी बजार क्षेत्रमा पटका विस्फोट गराइँदा बालबालिका, वृद्धवृद्धा र रोगीहरुको स्वास्थ्यमा पर्ने गम्भीर असरको हिसाब गर्नै सकिँदैन ।

सीमा क्षेत्रमा रहेका प्रहरीले पटाका एवम् पटाकाजन्य वस्तुको आयातमा कडाइ गरेको र दिनहुँ बरामद गरेको समाचार सार्वजनिक भए । हाटबजारमा बिक्रीवितरण गरेको पनि देखिएन तर विष्फोटका कारण वातावरण दुर्गन्धमय र त्रासदीपूर्ण भयो । यति हुँदा पनि सूचनामा भनिए जस्तो प्रतिबन्धित कार्य गर्ने पक्राउ परेनन् । त्यसकारण पनि गृहमन्त्रालयको यस्तो सूचना ‘श्राद्धमा विरालो बाँध्ने’ भन्दा फरक देखिएन । अझै तराईबासीहरुको छठ पर्व आउँदैछ र यो क्रम निरन्तर जारी रहन्छ । जसले अनेक प्रत्यक्ष र त्यो भन्दा परोक्ष रुपले पनि असर गम्भीर छ ।

फजुल खर्च गर्ने जातिको रुपमा चिनिन थालेका छौं हामी । अनुत्पादक तथा अनावश्यक वस्तुको उपयोग गर्ने विलाशितापूर्ण जीवन नेपालीको रोजाइमा पर्न थालेको छ । त्यसले अर्बौं रुपैयाँ विदेशिएको छ जसको उदाहरण हो यस्ता वस्तुहरुको प्रयोग गर्ने प्रतिष्पर्धा । तिहारमा बाल्ने बत्ती, फूल, माला तथा भाइ मसला भनिने सुख्खा फलफूलमा अर्बौं रुपैयाँ बाहिरिएको छ । आत्मनिर्भरतालाई परनिर्भरताले थिच्दै लगेको छ। यस्तो व्यवहार र मानसिकताले न नेपाली जीवनस्तर उठ्छ न त राष्ट्रको अर्थतन्त्र बलियो हुन्छ । त्यसकारण सरकारले पनि आयातित कुसंस्कारलाई निरुत्साहित गर्ने कानून र कार्यान्वयनतर्फ ध्यान दिनु पर्दछ । अनि मात्र सरकारको उपस्थिति अनुभूत गर्न सकिन्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here