लक्ष्मी उप्रेती / काँकरभिट्टा,
अघिल्ला तीन आर्थिक वर्षमा लक्ष्यको तुलनामा बढी राजस्व असुल गदैं आएको प्रदेश नम्बर १ कै सर्वाधिक राजस्व असुल गर्ने मेची भन्सार कार्यालयले काँकरभिट्टा पछिल्ला दुई आर्थिक वर्षमा लक्ष्यको तुलनामा राजस्व संकलन गर्न असफल भएको छ ।
वितेको आर्थिक वर्ष २०७१÷२०७२ देखि आर्थिक वर्ष २०७४÷२०७५ सम्म आइपुग्दा कार्यालयको राजस्व संकलन सन्तोषजनक रहेपनि गत आर्थिक वर्ष २०७५÷२०७६ देखि चालु आर्थिक वर्ष २०७६÷२०७७ को वितेको दुईमहिनासम्म आइपुग्दा असुली निराशजनक रहेको छ ।
कार्यालयको वितेका पाँच आर्थिक वर्षको राजस्व संकलनको अवस्थाले यस्तो देखाएको हो । आर्थिक वर्ष २०७१÷२०७२ मा लक्ष्यको तुलनामा ५ प्रतिशत राजस्व बृद्घि गरेको कार्यालयले आर्थिक वर्ष २०७२ ÷२०७३ मा ७ प्रतिशत राजस्व बृद्घि गरेको कार्यालयको तथ्याङ्कले देखाएको छ ।
प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्यालका अनुसार आर्थिक वर्ष २०७१÷२०७२ मा ५ अर्ब ७ करोड २१ लाख ४२ हजार वा १ सय ५ प्रतिशत राजस्व संकलन गरेको थियो । त्यो वर्ष भन्सार विभागले कार्यालयलाई ४ अर्ब ८० करोड ८३ लाख २३ हजार रुपैयाँ लक्ष्य तोकेको थियो । आर्थिक वर्ष २०७२÷२०७३ मा विभागले ६ अर्ब ४० करोड २६ लाख १२ हजार लक्ष्य पाएको मेची भन्सारले ६ अर्ब ८४ करोड ३३ लाख २ हजार रुपैयाँ राजस्व संकलन गर्न सफल भएको थियो । जुन रकम लक्ष्यको तुलनामा ७ प्रतिशतले बृद्घि हो ।
आर्थिक वर्ष २०७३÷२०७४ मा ६ अर्ब ५२ करोड २६ लाख १० हजार तथा आर्थिक वर्ष २०७४÷२०७५ मा १० अर्ब १८ करोड २७ लाख २ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । ती वर्ष कार्यालयलाई विभागले क्रमस ६ अर्ब १८ करोड ४२ लाख ५० हजार तथा ९ अर्ब २० करोड ९१ लाख ३८ हजार तथा लक्ष्य तोकेको थियो । आर्थिक वर्ष २०७३÷२०७४ मा राजस्व असुली लक्ष्यको तुलनामा ५ तथा आर्थिक वर्ष २०७४÷२०७५ मा ११ प्रतिशतले बृद्घि गरेको हो ।
तर, आर्थिक वर्ष २०७५÷२०७६ देखि राजस्व असुली ओरालो लागेको छ । त्यो वर्ष ११ अर्ब ८२ करोड ६१ लाख १० हजार रुपैयाँ लक्ष्य पाएको कार्यालयले ८८ दशमलव २२ प्रतिशत वा १० अर्ब ४३ करोड ३७ लाख १६ हजार रुपैयाँमात्र संकलन गर्न सफल भयो । चालु आर्थिक वर्ष २०७६÷२०७७ को भदौ मसान्तसम्मको कुल राजव असुली १ अर्ब ६१ करोड ७१ लाख वा ६७ दशमलव ६५ प्रतिशतमात्र असुल गरेको छ । त्यो वर्षको वार्षिक लक्ष्य १३ अर्ब २४ करोड १ लाख ९९ हजार छ ।
मेची भन्सार कार्यालयको राजस्वमा मुख्य योगदान दिने वस्तु कोइला, पेट्रोलिम पदार्थ भएको र भारतबाट आयात हुने राजस्व करीव १० प्रतिशत योगदान दिने कोइला करिब पाच महिनादेखि ठप्प भएकाले कार्यालयले लक्ष्य पुरा गर्न नसकेको भन्सार अधिकारीहरुको भनाई छ ।
दरबन्दी भन्दा बढी कर्मचारी
विभिन्न सरकारी कार्यालयमा दरवन्दी अनुसारका कर्मचारी नभएको गुनासो आइरहेका बखत मेची भन्सार कार्यालय काँकरभिट्टामा भने दरबन्दी भन्दा बढी कर्मचारी कार्यरत छन् । कार्यालयको संगठनात्मक संरचना अनुसार कार्यालयमा ४९ कर्मचारी दरबन्दी संख्या भएपनि कुल ६१ जना कर्मचारी कार्यरत छन् ।
जुन संख्या दरवन्दी भन्दा १४ जनाले बढी भएको कार्यालयले जनाएको छ । कार्यालयमा प्रशासनतर्फ श्रेणी विहिनतहका कार्यालय सहयोगीको दरबन्दी २० भएपनि २४ जना कार्यरत रहेका छन् । यसैगरी, २ जनाको दरबन्दी भएको हलुका सवारी चालकमा ४ जना कार्यरत छन् । १५ जना नायव सुब्बाको ठाउँमा १६ जना अटाएका छन् ।
कार्यालयमा १५ पदमा ६१ कर्मचारी रहेका छन् । प्रमुख भन्सार अधिकृत १, भन्सार अधिकृत ४, लेखा अधिकृत १ जनाको दरबन्दीमा मात्र दरबन्दी अनुसारका कर्मचारी छन् । यसैगरी, लेखापाल, कम्प्युटर अपरेटरलगायतमा दरवन्दी अनुसारकै कर्मचारी भएपनि २ जना दरबन्दी भएको कम्प्युटर अधिकृतमा तीजना कार्यरत छन् ।
निर्याततर्फ अलैती आयाततर्फ पेट्रोलियम पदार्थ पहिलो स्थानमा
आर्थिक वर्ष २०७५÷२०७६ मा आयात तथा निर्यात भएका प्रमुख दशवटा मालवस्तुमध्ये निर्याततर्फ अलैची तथा आयाततर्फ पेट्रोलियम पदार्थ पहिलो स्थानमा छन् । आयाततर्फ पेट्रोलियम पदार्थबाट मात्र २८ खर्ब १५ अर्ब ४८ करोड २६ लाख २५ हजार रुपैयाँ वा कुल राजस्वको ३० प्रतिशत संकलन गरेको छ ।
सो अवधिमा २ अर्ब ९७ करोड ८९ लाख ६३ हजार ६ सय रुपैयाँको अलैची निर्यात भएको छ । यसैगरी चिया, मुसुरो दाल, कर्कट पाता, अम्रिसो, फलाम स्पातका रोलहरु, तामाका तार, प्लाष्टिकको बिर्काे, स्टील पोल, ट्रान्सफर्कर निर्याततर्फको प्रमुखम मालवस्तुमा छन् ।
यसैगरी आयाततर्फ क्लिङ्कर, कोइला, जुस बंगलादेश, डिसहोम, जिप्सन, रेजीन, फेस भेनियर, रेडिमेड गार्मेन्ट टायल्सरहेका छन् ।