नरेन्द्र ढकाल / सन्तोष अधिकारी,झापा।
मूल्य समायोजन नहुँदा झापाका वेकरी उद्योगहरु धरासायी बन्दै गएका छन् । मूल्य समायोजन नहुँदा बेकरी उद्योगहरु बन्द हुन थालेको समेत व्यवसायीहरुले बताएका छन् ।
बिर्तामोडमा विहीवार आयोजित पत्रकार सम्मेलनमा बेकरी उद्योगीहरुले कच्चा पदार्थको मूल्य दिनानुदिन वृद्धि भए पनि आफूहरुको उत्पादनले भने मूल्य नपाएको गुनासो गरे । वेकरी उद्योग व्यवसायी संस्थाका अध्यक्ष नरबहादुर गिरीले झापामा ४० वटा उद्योग सञ्चालनमा रहे पनि सरकारी तबरबाट कुनै सेवासुविधा नपाएको गुनासो गरे । भारतबाट तस्करी हुने बेकरीका कारण पनि नेपालका वेकरी उद्योगहरु धरासायी बन्दै गएको उनको भनाइ छ । सरकारका कारण साना उद्योगीहरु मारमा परेको वेकरी व्यवसायीहरुले बताए ।
औद्योगिक उत्पादनको बजार मूल्य, त्यसमा प्रयोग हुने कच्चा पदार्थको मूल्य, श्रमिकको ज्याला, प्रशोधन खर्च, इन्धनको खर्च, प्याकेजिङ सामग्रीको मूल्य तथा बजार व्यवस्थापनमा लाग्ने खर्चले नै मूल्यको निर्धारण हुने भए पनि वर्षेनि कच्चा पदार्थ, श्रमिकको ज्याला, इन्धनको खर्च लगायतका खर्चहरु बढी रहेको भन्दै उनीहरुले वेकरीका खाद्यवस्तुको मूल्य भने एकदशकभन्दा बढी समयदेखि मूल्य समायोजन नभएको बताए । उनीहरुले वेकरी उद्योगीहरुले आगामी कात्तिक १८ गतेबाट ३३.३३ प्रतिशतले मूल्य वृद्धि गर्ने बताएका छन् । व्यवसायीहरुले तदर्थ समिति गठन गरेर विधान निर्माणका साथै वेकरी उद्योगको विषयमा एकजुट भएर अगाडि बढ्ने हिसावले समिति गठन गरिएको तदर्थ समितिका अध्यक्ष गिरीले बताए । आफूहरुले गुणस्तरीय खाद्यवस्तु उत्पादन गरेपनि भारतबाट तस्करी भएर आउने गुणस्तरहीन बेकरीका कारण वजारमा प्रतिष्पर्धा गर्न समस्या भएको उद्योगीहरुको भनाइ छ ।
सरकारले तोकेको मापदण्ड अनुसार नै आफूहरुले वेकरीका परिकारहरु उत्पादन गर्दै आएको अध्यक्ष गिरीको भनाइ छ । ४० वटा उद्योगमा करिव ५ हजारभन्दा बढीले रोजगारी पाइरहेको कञ्चन पाउरोटी उद्योगकी सञ्चालक भीमाकुमारी शिवाकोटीले बताइन् । उनले मूल्य समायोजन नहुँदा बेकरी उद्योग बन्द गर्नुपर्ने अवस्थामा पुगेको भन्दै कच्चा पदार्थको मूल्यवृद्धि भएपछि आफूहरु बाध्य भएर मूल्य समायोजन गर्ने निर्णयमा पुगेको बताइन् । उनले अन्य खाद्यवस्तुको वर्षेनि मूल्यवृद्धि भइरहे पनि बेकरीका उत्पादनबाट उत्पादित खाद्य वस्तुको भने मूल्य वृद्धि नभएको बताइन् ।
पत्रकार सम्मेलनमा बेकरी उद्योगीहरुले तीन आर्थिक वर्षको कच्चा पदार्थको मूल्य समेत सार्वजनिक गरेका थिए । आर्थिक वर्ष २०७४÷०७५मा प्रतिवोरा मैदा १७ सय रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०७५÷०७६मा २२ सय रुपैयाँ पुगेको थियो भने चालू आर्थिक वर्ष २०७६÷०७७ को अहिलेको मूल्य २६ सय ५० रुपैयाँ रहेको गणपति वेकरीका सञ्चालक राजु ढकालले बताए । समितिका कोषाध्यक्ष समेत रहेका ढकालले कच्चा पदार्थ र मजदुरको ज्याला वर्षेनि १३ प्रतिशतले वृद्धि भए पनि वेकरीका खाद्यवस्तुको मूल्य समायोजन नभएको उल्लेख गरे । आफूहरुले लामो समयदेखि बेकरी उद्योग सञ्चालन गरिरहे पनि राज्यतर्फबाट साना उद्योगीहरुलाई कुनै सहुलियत र सहयोग नभएका कारण झापाका वेकरी उद्योगहरु बन्द हुने अवस्थामा पुगेको ढकालको भनाइ छ ।
यसैबीच वेकरी उद्योग व्यवसायिक संस्थाको तदर्थ समितिले विधान निर्माण गरेर जिल्ला प्रशासन कार्यालय झापामा अध्ययनका लागि पेश गरिसकेको तदर्थ समितिका सचिव सुमन चिमरियाले बताए । मूल्यवृद्धिको विषयमा व्यवसायीहरुले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन–पत्र बुझाउँदै जानकारी गराइने बताइएको छ । व्यवसायीहरुले भारतबाट आयात हुने वेकरीलाई पूर्ण रुपमा प्रतिवन्ध लगाउन माग गरेका छन् । झापाका १५ वटै स्थानीय तहलाई अनुगमन समिति बनाई सबै पसलहरुमा अनुगमन गरेर विदेशी उत्पादनका वेकरी विक्री वितरणमा पूर्ण रुपमा प्रतिबन्ध लगाउन माग समेत गरेका छन् ।