शान्तिनगरको ऐतिहासिक ठुटेबर मेला कात्तिक २१ गतेबाट

0
946

शान्तिनगर

झापाको बुद्धशान्ति–६ स्थित ठुटेबर परिषरमा लाग्दै आएको ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पर्यटकीय रुपले प्रसिद्ध ठुटेबर मेला कार्तिक २१ गते बिहीबारदेखि २७ गते बुधबार ७ दिनसम्म लाग्ने भएको छ ।

प्रत्येक वर्षको कात्तिक पूर्णिमा र वैशाख पूर्णिमाको दिन लाग्दै आएको मेला त्यो स्थानको पहिचान र विकासका लागि स्थानियले लगाउन शुरु गरेका हुन् ।

स्थानीय युवाको सक्रियतामा गत बर्षहरुमा लाग्दै आएको मेला, यो वर्ष पनि ठुटेबर संरक्षण तथा विकास समितिले लगाउँदै छ । मेला लगाउन मुल आयोजक समितिका शिवकुमार पौड्यालको अध्यक्षतामा ११ सदस्यीय मुल समिति रहेको थियो भने सचिव सोमनाथ पौड्यालको संयोजकत्वमा विभिन्न ५ वटा उपसमिति गठन गरिएको प्रचार समितिका संयोजक पुस्कर पौड्यालले जानकारी दिदै मेलाको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो ।

त्यस्तै मेलाको व्यवस्थापन उपसमितिका संयोजक शोमनाथ पौड्याल, लेखा तथा आर्थीक संयोजकमा कोषाध्यक्ष खुरहरी ढकाल, प्रचार प्रसार समितिमा पुस्कर पौड्याल, खेल समितिमा वडा खेल समिति लगायत रहेका छन् ।

स्थानीय स्तरमा उपलब्ध कृषि सामाग्रीको प्रोत्साहन तथा त्यहाँको साँस्कृतिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास गर्न मेला सहयोगी बन्ने ठुटेबर संरक्षण तथा विकास समितिका अध्यक्ष शिवकुमार पौड्यालले जानकारी दिनुभयो ।

परापूर्वकालमा बिहेमा जन्ती, न्याय अन्यायको छिनोफानो,आत्मीयता र सद्भाव साटासाट गर्दा–गर्दै मेलाको रुपमा परिणत भएको थियो । ठुटेवर झापाको बुद्धशान्ति गाउँपालिका–६ मा पर्छ । बर्षको दुई पटक बैसाख पूर्णिमा र कात्तिक पूर्णिमाको दिन ठुटेवर परिषरमा मेला लाग्ने गरेको छ ।

इलाम र झापाको संगम स्थलमा रहेको ठुटेवर, आसपासका क्षेत्रमा जनसंख्याको चाप बढ्दै जाँदा मेलाको स्वरुप पनि बढ्दै गएको थियो । मेला लाग्न थालेपछि झापा, इलाम, मोरङ र भारतको दार्जिलिङबाट समेत मानिसहरु मेला भर्न आउने गरेका थिए ।

स्थानीय स्तरमा पाईने, उखु, तरुल, सुन्तला, बासँबाट बनिने सामाग्री डोको, नाम्लो, थुन्से लगायतका सामाग्री सो मेलामा किनवेच हुने गरेको थियो । तर आधुनिकता संगसंगै ती सामाग्रीको विक्रि–वितरणमा कमी आउन थालेको स्थानीयहरु बताउँछन् ।

आयोजक समितिका अनुसार उद्घाटन संगै भाषाशास्त्री महानन्द सापकोटाको सालिक परिषरबाट म्याराथुन दौड, बिभिन्न जातजातीको साँस्कृतिक झाँकी प्रस्तुत गरिने छ ।

यसका साथै अन्य दिन बृहत साहित्यिक कार्यक्रम, अन्तर बिद्यालय र क्लव स्तरीय साँस्कृतिक कार्यक्रम, बिभिन्न खेलहरु र हरेक साँझ स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको साँगीतिक कार्यक्रम रहने मेला आयोजक समितिले जनाएको छ ।

यसबर्ष पनि झापा, इलाम, भारतको दार्जिलिङ सहित करिव ५० हजार जनाले मेलाको अवलोकन गर्ने आयोजक समितिले जानकारी दिएको छ । करिब ५-६ सय वर्ष पुरानो बरको रुख परिषरमा लाग्दै आएको मेला, विस २०६४ साल भदौ २० गते ढले पछि, सोही स्थानमा नयाँ बरको रुख रोपिएको थियो ।

यो पटक पनि त्यहाँको सौन्दर्य र यहाँको पहिचान संरक्षण गर्न, बिभिन्न लोक साँस्कृतिक कार्यक्रम आयोजना गर्ने मेला आयोजक समितिका सचिव पौड्यालले बताउनुभएको छ ।

सो स्थानमा समितिले आन्तरिक तथा बाह्रय पर्यटक भित्राउन रोटे पिङ्ग, विभिन्न कृषि सामाग्रीका स्टल र स्थानिय र राष्ट्रिय स्तरका कलाकारको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here