बिर्तामोड ।
झापाको अर्जुनधारास्थित बुद्धचोकमा बुद्ध स्तम्भ निर्माण गरिएको छ । राष्ट्रियता संरक्षण युवा मञ्चले अर्जुनधारा ९ , १० र ११ को सिमानामा रहेको बुद्धचोकमा बुद्ध स्तम्भ निर्माण गरेको हो ।
स्थानीयवासीले २०५६ सालतिरै अर्जुनधारा ९ , १० र ११ को सिमानामा पर्ने सो स्थानको नामाकरण बुद्धचोक गरेपनि त्यहाँ बुद्धचोकको पहिचान झल्काउने कुनै प्रकारको सामाग्री नभएकाले त्यसको पहिचान झल्काउन राष्ट्रियता संरक्षण युवा मञ्चका युवाको सक्रियतामा बुद्ध स्तम्भ निर्माण गरिएको राष्ट्रियता संरक्षण युवा मञ्चका कोषाध्यक्ष जीवन रिजालले बताए ।
बुद्धचोकमा बुद्ध स्तम्भ निर्माणले त्यस क्षेत्रलाई धार्मिक तथा पर्यटकिय स्थलको विकास गर्दै आन्तरीक तथा वाह्य पर्यटक भित्र्याउन मद्यत पुग्ने उनले बताए ।
राष्ट्रियता संरक्षण युवा मञ्चमा आवद्ध युवाले बुद्ध स्तम्भ निर्माण गर्न सक्रियता देखाएसंगै स्थानीयवासीले समेत स्वतःस्फुर्तरुपमा सहयोग गरेकाले बुद्ध स्तम्भ निर्माण गर्न सम्भव भएको उनले बताए ।
विकास निर्माण गर्न सरकारको मुख ताक्ने परिपाटीको अन्त्य गर्दै आफ्नो ठाउँको विकास गर्न आफैं सक्रिय हुनुपर्छ भन्ने सन्देश दिन राष्ट्रियता संरक्षण युवा मञ्चले बुद्धचोकमा बुद्ध स्तम्भ निर्माण गरेको उनले बताए ।
नेपाल चार वर्ण छत्तिस जातको फुलवारी रहेकोले यहाँ सवै जातजाती , भाषाभाषी , र धर्म सम्प्रदाय मिलेर बस्ने भएकाले धार्मिक सहिष्णुताको नमूनाको रुपमा राष्ट्रियता संरक्षण युवा मञ्चले बुद्धचोकमा बुद्ध स्तम्भ निर्माण गरेको उनले बताए ।
यसैवीच राष्ट्रियता संरक्षण युवा मञ्चले बुद्धचोकमा निर्माण गरेको बुद्ध स्तम्भको एक कार्यक्रमका वीच अनावरण गरि बुद्धचोक युवा परिवारलाई हस्तान्तरण गरेको छ । राष्ट्रियता संरक्षण युवा मञ्चका अध्यक्ष रञ्जन देवकोटाको अध्यक्षता तथा अर्जुनधारा १० का वडासदस्य भोला गौतमको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मञ्चका सहसचिव रमेश नेपालले स्वागत गरेका थिए ।

राष्ट्रियता संरक्षण युवा मञ्चद्वारा सञ्चालित मर्यादा कक्षाका विद्यार्थीहरूले बैदिक मन्त्रको उच्चारण गरी अनावरण गरिएको कार्यक्रममा राष्ट्रियता संरक्षण युवा मञ्चका कोषाध्यक्ष जीवन रिजालले औचित्यसहित बुद्ध स्तम्भ निर्माणको आय व्यय प्रस्तुत गरेका थिए ।
कार्यक्रममा अर्जुनधारा १० का वडासदस्य भोला गौतम र झापा फुटबल संघका अध्यक्ष भगीरथ आले मगरले राष्ट्रियता संरक्षण युवा मञ्चमा आवद्ध युवाले बुद्धचोकमा बुद्ध स्तम्भ निर्माण गरेर धार्मिक सहिष्णुताको नमूना प्रस्तुत गरेको बताए ।
कार्यक्रममा बुद्ध स्तम्भ निर्माणमा सहयोग गर्ने समाजसेवी एवंम् दाताहरुलाई सम्मान गरिएको थियो भने नयाँ सदस्यता लिने सदस्यहरुलाई स्वागत गरिएको थियो । कार्यक्रमको सञ्चालन राष्ट्रियता संरक्षण युवा मञ्चका कोषाध्यक्ष जीवन रिजालले गरेका थिए ।































