हात्तीको त्रास रोक

१८ कार्तिक २०७६, सोमबार मा प्रकाशित

सम्पादकीय

जंगली हात्तीको आक्रमणबाट बच्न लगाइएको विद्युतीय तरवारमा परी छ वर्षमा झापामा आठ जनाले ज्यान गुमाएका छन् । यस्तै तरवारमा परेर, विद्युत करेन्ट लागेर चारवटा हात्तीको मृत्यु भएको छ । यो तथ्यांक अर्थात् मानव र हात्तीको अकल्पनीय मरणको पूर्ण विवरण चाहिँ होइन । झापाको सुदूरपूर्व र दक्षिणका केही पालिकाहरुमा विगत लामो सयमदेखि हात्तीले दुःख दिँदै आएको छ। भारतर्फबाट आएका जंगली हात्तीले किसानले लगाएका बालीनाली खाएर, भण्डारण गरेको खाद्यान्न नष्ट गरेर, घरमै आक्रमण गरेर अहिलेसम्ममा करोडौं बराबरको क्षति पु¥याइसकेको छ । त्यस्तै हात्तीको आक्रमणमा परी धेरैले अमूल्य जीवन गुमाइसकेका छन् ।


जंगली हात्तीको आक्रमणबाट बच्न र हुने क्षति रोक्न सरकारकै तर्फबाट भएका कतिपय प्रयासहरु विफल भए । खाडी खन्ने, टावर बनाउने, हात्तीबार लगाउने, साइरन जडान गर्ने लगायतका प्रतिरक्षात्मक उपाय निरर्थक भएपछि स्थानीय पीडितले विद्युतीय तरबार गर्ने नीति अघि सारे । यसले हात्ती आक्रमणमा केही कमी त भयो तर निर्मुल भने भई नसकेको पछिल्लो घटनाले देखाएको छ । सरकारले नै हात्ती नियन्त्रणका लागि थालेको उपाय निरर्थक भएपछि स्थानीयबासीले विद्युतीय तारबार लगाएर भए पनि जनधनको सुरक्षा गर्ने उपाय खोजे । यसले हात्तीको आक्रमणबाट त धेरै जोगायो तर ‘आफूले खनेको खाल्डोमा आफैं परेर’ पूरा गर्नै नसक्ने क्षति व्यहोर्नु प¥यो ।

छ वर्ष अघिदेखि विद्युतीय तारबारमा परेर आठ जनाले जीवन गुमाएका छन् । ती मध्ये शनिबार मात्रै बुद्धशान्ति गाउँपालिकामा पाहुना आएका मणिराम राई र अभिनाष राईको धरापमा राखिएको विद्युत प्रवाह भएको तार पानीमा परेर करेन्ट प्रवाह हुँदा अकल्पनीय निधन भयो । नवज्योति सामुदायिक वन समूहको कार्यालय नजिक लगाइएको विद्युतीय धरापमा परेर ज्यान गुमाएका दुबैजना तारबारबारे अनभिज्ञ थिए सायद । त्यहीकारण अकालमा जीवन गुमाउनु बाध्य भए ।

विद्युतीय तारबार गर्नु गैरकानूनी कार्य हो । तर, जंगली हात्तीको आतंकका कारण प्रभावित क्षेत्रहरुमा पछिल्लो समय तारबार लगाउने कार्य भइरहेको छ । स्थानीय सरकार, वन डिभिजन कार्यालय, विद्युत प्राधिकरण, प्रहरी र प्रशासन लगायतका जिम्मेवारी निकाय यस्तो गैरकानूनी कार्यप्रति मौन देखिएका छन् । यो मौनता जंगली हात्तीले स्थानीयबासीले लगाएको अन्नबालीमा पु¥याएको क्षतिका कारण हुन सक्छ । यी दुबै क्षतिबाट जोगिन अब सरकारकै तहबाट नीति र योजना बनाइनु पर्दछ जसले ‘सर्प पनि मर्ने, लठ्ठी पनि नभाँचिने’ गरोस् । अर्थात् हात्तीको आगमन रोक्न र जनधनको सुरक्षा गर्ने प्रभावकारी उपायको खोजी गरियोस् । त्यसो भएमात्र दशकभन्दा अघिदेखि सृजना भएको जंगली हात्तीको त्रासबाट झापालीले मुक्ति पाउनेछन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here