नेपाली भू–भाग भारतको नक्सामा

0
1125

झापा।

भारतले आफ्नो नयाँ नक्सामा नेपाली भूमि समावेश गरेको छ । हालै भारतले सार्वजनिक गरेको नक्सामा कालापानी, लिपुलेक आफ्नो भू–भागमा राखेको पाइएको हो ।

कालापानी र लिपुलेक भारतले झण्डै ६ दशकदेखि कब्जा गरेको थियो । तर, यसपटक भारतले सार्वजनिक गरेको नक्सामा नेपाली भूमिलाई आफ्नो भूभागमा राखेको छ ।

भारतले पाकिस्तान प्रशासित जम्मुकश्मीर समेत आफ्नो नक्सामा समेटेर सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको कालापानी र लिपुलेकलाई आफ्नो बनाएको हो । भारतले जम्मुकश्मीर र लद्दाखलाई दुई प्रदेश बनाएर नक्सा जारी गरेको छ । पाकिस्तान प्रशासित कश्मीर (पीओके) पनि भारतको त्यो नयाँ नक्सामा परेको हुँदा पाकिस्तानले बिरोध गरेको छ ।

उसले त्यो नक्सा मान्य नहुने भन्दै संयुक्त राष्ट्र संघमा जाने चेतावनी दिएको छ । यस विषयमा नेपालले भने औपचारिक धारणा सार्वजनिक गरेको छैन ।

भारतले सन् १९६२देखि नै नेपालको कालापानीमा भारतीय सेना राखेर कब्जा गर्दै आएको छ । नापी विभागका महानिर्देशक प्रकाश जोशीले यस विषयमा विभागले अध्ययन गर्ने बताउँदै कालापानी र सुस्ताको विषयमा सहमति हुन बाँकी रहेको बताए ।

सुगौली सन्धिमा लिम्पियाधुरा समेत नेपालमा छ । तर, नेपालकै आधिकारिक नक्सामा समेत लिम्पियाधुरा समेटिएको छैन । भारतले कुटी, गुन्नी, नावी, कालापानीलगायतका ठाउँ अतिक्रमण गर्दै आएको छ । महानिर्देशक जोशीले नेपालको आधिकारिक नक्सामा लिपुलेक, कालापानी र सुस्ता समेटिएको बताए ।

सरकारी वेवास्ता

नेपाली भूभाग कालापानीप्रति सरकारी बेवास्ता उदेक लाग्दो भएको टिप्पणी गर्ने गरिन्छ । नेपाल सरकार र उसका कार्यालयमा प्रयोग गरिएको नक्सामा अझै पनि कालापानी गायब छ ।

भारतले मिचेर आफ्ना सेनाको क्याम्प राखेको कालापानीबारे सरकारको मौनता टिठ लाग्दो देखिएका बेला नक्साबाटै पनि कालापानी गायब गरिएको हो । नेपालको यो कमजोरीलाई आधार मानेरै भारतीय नयाँ नक्सामा नेपालको नक्साबाट गायव भएको भूभाग समेटेको विज्ञहरुको भनाइ छ ।

नेपालको सुदूरपश्चिमस्थित दार्चुलामा अवस्थित कालापानी नदीको पश्चिममा भारतको उत्तराखण्ड राज्य पर्दछ । भारतले मिचेपछि विवादित बनेको कालापानीमा आफ्नो अधिकार खोज्नेतर्फ समेत नेपाल सरकारले चासो दिएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here