दमक।
झापामा शुरुवातदेखि नै धानमा बिभिन्न रोगको प्रकोप देखा परेर पीडित बनेका किसानहरु पाकेको धानमा फेरि अर्को रोग देखापरेपछि समस्यामा परेका छन् । यसले धान उत्पादनमा समेत गिरावट आउने बताइएको छ ।
फौजी किरा, शिट ब्लाइट, नेक ब्लाष्ट लगायतका रोगको प्रकोपपछि पाकेको काट्नुपर्ने धानमा फड्के (ब्राउन होपर) कीराको सक्रमण देखिएको छ । यसले धान डढाएर सोत्तर बनाएको किसानहरुले बताएका छन् । कमल गाउँपालिका वडा नं. ६ का अगुवा किसान टंकप्रसाद सापकोटाका अनुसार खेतमा धान डढेर सोत्तर बनेको छ ।
पाकेर काट्न लागेको धान सबै खेतमा नै नष्ट भएको बताउँदै उनले यसभन्दा अगाडि कहिल्यै पनि नदेखेको र यो बर्ष यस्तो भएको बताए । आफ्नो मात्र नभएर बुझ्दै जाँदा छरछिमेक र अन्यत्र समेत यस्तै भएको पाएको पनि उनले बताए ।
कृषि ज्ञान केन्द्र झापाका निमित्त प्रमुख शेषराज पौड्यालका अनुसार फड्के कीराको प्रकोप जिल्लाभर देखिएको छ । केही दिनयता स्थानीय तहहरुमा यसको प्रकोप देखिएको भनेर खबरहरु आइरहेको उनले बताए । सुकेको परालमा आगो लगाउँदा सल्के जसरी नै यो सरुवा रोग भएकाले समयमा नियन्त्रणमा लिन नसकेमा ठूलो क्षति हुने समेत उनको भनाइ छ ।
‘यसले महामारीको रुप लिन समय लाग्दैन र चाँडो बिषादी प्रयोग गरेर नियन्त्रणमा लिनुपर्छ’ उनले भने । भद्रपुर, मेचीनगर र दमक नगरपालिका, हल्दीबारी, कमल लगायतका गाउँपालिकामा यो समस्या देखिएको र किसानहरुले जानकारी गराउन थालेको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । पौड्यालले यो भर्खर शुरु भएकाले अब सबैतिर देखिनसक्ने बताए ।
प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, सुपरजोन परियोजना कार्यन्वयन इकाइ झापाका प्रमुख रविन्द्र सुबेदीका अनुसार सुपरजोन क्षेत्रमा पनि यो पटक बिभिन्न रोगहरुको प्रकोप देखिएको छ । अहिले पाक्न लागेको धानमा पनि समस्या देखिएको र समस्या सामधानका लागि प्रयास भइरहेको उनले बताए । वातवरणीय प्रभावका कारण पनि असर परेको बताउँदै उनले बिभिन्न रोगहरुका कारण पाँचदेखि सात प्रतिशत उत्पादनमा कमी आउन सक्ने जानकारी दिए ।
यो बर्ष यस्तो बिभिन्न रोगको प्रकोपका कारण धान उत्पादनमा गिरावट आउन सक्ने कृषि ज्ञान केन्द्र झापाले अनुमान गरेको छ । ‘करिब पाँचदेखि छ प्रतिशत उत्पादन घट्न सक्छ कि भन्ने अनुमान रहेको छ’ –ज्ञान केन्द्रका प्रमुख पौड्यालले भने ।
क्षतिको संकलन र उत्पादकत्वको बिषयमा आफूहरुले स्थानीय तहबाट डाटा संकलन गरिरहेको पनि उनले बताए । यस वर्ष झापामा ८७ हजार पाँच सय हेक्टरमा धान खेती भएको छ ।