देउसीको रकमले विद्यालयको स्तरोन्नति

0
550

बुधबारे।

नमूना आधारभूत विद्यालय बुद्धशान्ति–१ ले विद्यालयको चौतर्फी विकासका लागि खेलेको देउसीभैलो कार्यक्रमबाट पाँच लाख ९८ हजार तीन सय ७४ रुपैयाँ संकलन गरेको जनाएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र घतानीले विद्यालयमा अंग्रेजी माध्यमको पठनपाठन गरिने, कम्प्युटर कक्षालाई व्यवस्थित गरिने, अभाव रहेको शिक्षक दरबन्दीलाई पूर्णता दिने, अतिरिक्त क्रियाकलापका कक्षा सञ्चालन गरिने, मन्टेश्वरी कक्षालाई थप व्यवस्थित गरिने उद्देश्यले खेलिएको देउसीभैलोमा अभिभावकको साथ सहयोगले सो रकम संकलन भएको बताए ।

उनले संकलन भएको उक्त रकममा अक्षयकोषमा मात्रै एक लाख ४९ हजार पाँच सय ८३ रुपैयाँ संकलन भएको बताए ।अक्षय कोषमा यसअघि ७४ हजार चार सय रुपैयाँ दाताले प्रदान गरेको विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र घिमिरेले जनाएका छन् ।

यस वर्षको देउसीभैलो कार्यक्रममा अक्षयकोषमा नरेन्द्र वरालले १० हजार, मुक्तिनाथ घिमिरेले १० हजार, सूर्यकुमारी कार्कीडोलीले चार हजार, टीकादेवी घिमिरेले १० हजार, टीकाप्रसाद दाहालले आठ हजार, तीर्थ पौड्यालले पाँच हजार, पुरण बरालले १० हजार, खड्गबहादुर तिम्सिनाले पाँच हजार, भीमकुमार नेवारले १० हजार, शिक्षकहरु लेखा कट्टेलले १० हजार, कमला अधिकारीले १० हजार, लीला सत्यालले १० हजार, मातृका भट्टराईले ११ हजार एक सय ११, हेमबहादुर खड्काले १० हजार, कमलादेवी श्रेष्ठले १० हजार एक सय ५५, निर्मलादेवी कट्टेल खनालले ११ हजार एक सय ११ र दुर्गा घिमिरेले चार हजार रुपैयाँ प्रदान गरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष घतानीले जनाए ।

यसैबीच एक कार्यक्रमकाबीच देउसीभैलो कार्यक्रम समापन गरिएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष घतानीको अध्यक्षता तथा बुद्धशान्ति–१ का वडाध्यक्ष भीमकुमार नेवारको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रधानाध्यापक ज्ञानेन्द्र घिमिरेले स्वागत गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि नेवारले संकलन भएको रकम खास उद्देश्यमा मात्रै खर्च गर्नुपर्ने बताए । कार्यक्रममा व्यवस्थापन समिति सदस्य गोमा ल्वागुन, शिक्षासेवी पूर्ण सञ्जेल लगायतले विद्यालयले राखेको लक्ष्यलाई पूरा गर्न सहयोग गर्ने बताए ।

कार्यक्रममा देउसीभैलोमा सहयोग गर्ने अभिभावक तथा विद्यार्थीलाई सम्मान गरिएको थियो । पूर्व विद्यार्थी अनिल वाग्लेले कार्यक्रमको सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here