वायु प्रदुषणको जोखिम र हाम्रो भविष्य

२० कार्तिक २०७६, बुधबार मा प्रकाशित

सम्पादकीय

नेपालको राजधानी विश्वका अत्यन्त प्रदुषित शहरहरु मध्येको सातौं हो । वातावरणविद्हरुले प्रक्षेपण गरेको यो तथ्यांकले नेपालीको असुरक्षित जीवनको संकेत मात्र गरेको छैन होशियारी अपनाउन चेतावनी समेत दिएको छ । वातावरणविद्हरुले पृथ्वीको तापक्रम बढ्दै गएको, जैविक विविधता नष्ट हुँदै गएको र पारिस्थितिक प्रणाली समेत प्रभावित भइरहेको भन्दै कारकतत्वका रुपमा रहेको मानव जातिलाई प्रदुषण बढाउने खालका कुनै काम नगर्न सचेत गराइरहेका छन् । तर, पनि भौतिक विकासको नियमितताले पृथ्वीको स्वरुप मात्र परिवर्तन भइरहेको छैन मानव स्वास्थ्यमा समेत प्रतिकूल असर देखिन थालेको छ ।

मौसम परिवर्तन ‘ग्लोबल वार्मिङ’को अनुभूत गर्न सकिने परिणाम हो । कात्तिकले तेस्रो हप्ता टेक्दा पनि मौसम चिसो हुने सुरसारमा छैन । एकातिर प्रकृतिमाथि आक्रमण भएको छ भने अर्कोतर्फ भौतिक विकासका नाममा गरिने कार्यहरुले मौसममा प्रतिकूलता थप्न सहयोग गरेको छ । भौतिक निर्माण र निर्माण संरचनाका कारण वायुमण्डल मात्र होइन जल, भू–मण्डल नै प्रदुषित बन्दै जाँदो छ । यसले सबै प्राणी प्रभावित हुन्छन् नै तर सबैभन्दा बढी असर मानव जातिले व्यहोर्नु पर्नेछ । मानव जातिमा रहने सचेतनाका कारण उसले असर, प्रभाव वा परिणाम जान्ने भएकाले क्षति व्यहोर्नेमा मानव जाति नै अघि हुन्छ । त्यसकारण पनि मानव जातिले आफू र आफ्ना सन्ततिलाई बाँच्न सक्ने वातावरण कायम राख्नकै लागि भए पनि वातावरणमा प्रतिकूलता आउन सक्ने कुनै काम गर्नुहुँदैन ।

वायुमण्डल कुनै देशको भूगोलभित्र अटाउँदैन । अर्थात् सीमारेखा वा क्षेत्रले वायुमण्डललाई रोक्न सक्दैन । त्यसैले विश्वको कुनै भागमा भएको प्रदुषणजन्य वातावरण सुदूर टाढाको अर्को भू–खण्डमा निर्वाध पुग्न सक्छ । विज्ञानका पछिल्ला आविष्कारहरुले मानव जीवनलाई सहजता त दिएको छ, तर त्यसको उपयोगबाट उत्पन्न विकारहरुले स्वास्थ्यलाई पार्ने असर कम गर्न सिकाएको छैन । त्यहीकारण अहिले भारतको राजधानी दिल्ली आतंकित छ । दिल्लीमा आठ सय मिलिग्राम प्रति घनमिटरभन्दा बढी प्रदुषण पुगेका कारण त्यहाँका विद्यालयहरु बन्द गरिएका छन् । सवारीसाधनमा जोर–बिजोर प्रणाली लागू गरिएको छ, हवाई उडान कम गरिएको छ भने भौतिक संरचना निर्माण गर्ने काम पनि रोकिएको छ । विषाक्त हावाको प्रभाव बढ्दै गएपछि त्यहाँको जीवन कष्टपूर्ण हुन थालेकोले स्थानीयबासीलाई दिनभर घरमै बस्न अनुरोध गरिएको छ।

हामीकहाँ काठमाडौं पछि लुम्बिनी, सौराह, नेपालगञ्ज लगायतका शहरहरुमा विषाक्त हावाका कणहरु अत्यधिक भएको बताइएको छ । हावाको गुणस्तर मापन गर्ने रियल टाइम एयर क्लालिटी इण्डेक्सका अनुसार शहरी क्षेत्रमा हावामा विषाक्त कण धेरै छ जसले अनेक रोगलाई आमन्त्रण गर्न सहज बनाइदिन्छ, त्यसैले गुणस्तरीय मास्क लगाउनु पर्छ । यस्तो विषाक्त वायुकण भारतबाटै नेपाल प्रवेश गरेको हुनसक्ने वातावरणविद्हरुले बताएका छन् ।

भारतको राजधानी नयाँ दिल्ली लगायतका ठूला शहरहरुबाट उत्पन्न भएर नेपाल प्रवेश गरेको वायुमण्डललाई शुद्धीकरण गर्ने, प्रकृतिको सुरक्षा गर्ने र प्रकृतिको सन्तुलन यथावत राखी विकास निर्माणका गतिविधि सञ्चालन गर्ने जस्तो दृष्टिकोण र कार्यक्रम भएन भने वर्तमान पुस्ताले नै प्रदुषणको परिणाम भोग्नुपर्ने निश्चित छ । तसर्थ, सडक व्यवस्थापन, वनजंगल, हिमाल, पहाड, नदीनालाहरुको उचित प्रयोग र रक्षा गर्न पट्टि हामी र हाम्रो सरकारको गम्भीर अग्रसरता हुनुपर्दछ । अन्यथा विश्वका मानव जातिको अकल्पनीय र सामुहिक क्षति निश्चित छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here