सडक निर्माणको माग गर्दै चक्का जाम
बिर्तामोड, बिर्तामोड– भद्रपुर सडक खण्ड निर्माणमा निर्माण व्यवसायीले ढिलासुस्ती गरेको भन्दै बिर्तामोडका व्यवसायी आन्दिोलित भएका छन् ।
बिर्तामोड– भद्रपुर सडक खण्ड अन्तरगत चार किलोमिटर सडक निर्माणका ठेकेदार कम्पनीले चरण लापरवाही गर्दा आफूहरुको व्यवसाय चौपट्ट भएको र धुलो, धुवा प्रदूषण , खाल्डाखुल्डीका कारण आवत जावतमा समस्या भएको भन्दै उनीहरुले चक्का जाम गरेर विरोध जनाएका हुन् ।
आशीष प्रेरा जेभी काठमाडौंले २७ करोड रुपैयाँमा सडक निर्माणको ठेक्का लिई २०७६ पुस मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने गरी सडकको निर्माणबाट शुरु गरिएको थियो । तर, निर्माण कम्पनीले समयमा सडक निर्माण नगर्दा निर्माणाधीन सडको नालामा डुवेर यस अघि बिर्तामोड नगरपालिका–१० की करिब ६७ वर्षीया सुमित्रा राईले ज्यान समेत गुमाएको भन्दै व्यवसायीले विरोध स्वरुप एक घण्टा बिर्तामोड– भद्रपुर सडक खण्ड ठप्प पार्दै तत्काल सडक निर्माण कार्य सुचारु गर्न आग्रह गरे ।
आन्दोलनको नेतृत्व विर्तामोड उद्योग वाणिज्य संघले गरेको छ । बिर्तामोडका उद्योगी व्यवसायी सहित नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमियाले निर्माणाधीन सडक गुणस्तरीय नभएको र निर्माणमा समेत लापरवाही गरेको बताए । उनले तत्काल सडक निर्माणलाई सुचारु गर्र्न आग्रह समेत गरेका छन् ।
त्यस्तै उद्योग वाणिज्य महासंघका प्रदेश नम्वर १ का सदस्य वलराम कार्कीले स्थानीय सरकारको कमजोरीका कारण समयमा सडक निर्माण हुन नसकेको आरोप लगाए । उनले ठेकेदारले गल्ती गरेपनि स्थान्ीय सरकार, जिल्ला समन्वय समिति , जिल्ला प्रशासन कुनै पनि निकायले चासो नदिँदा सडक निर्माणमा ढिलाई भएको बताए ।
बिर्तामोडउद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले वैंकको चर्काे व्याजदरमा महंगो घर भाडा तिरेर व्यपार व्यवसाय सञ्चालन गरिरहेका व्यवसायी सडकको अवस्थाका कारण पलायन हुन पर्ने अवस्थाको सृजना भएको बताए । उनले सडककै कारण व्यवसायीहरु फोक्सोको समस्याले ग्रासित भएको बताएका छन् । निर्माण व्यवसायीलाई सात दिन भित्र स्थानीय सरकार, प्रदेश सरकार र सडक विभागले सडक निर्माणका लागि सडकमा उभ्याउन नसके व्यवसायीहरु जस्तोसुकै आन्दोलन गर्न पछि नहट्ने चेतावनी दिए ।
यता अर्का व्यवसायी तथा बिर्तामोड उद्योग वाणिज्य संघका उपाध्यक्ष राजु न्यौपानेले लामो समयदेखि वाटो निर्माणमा लापरवाही गर्दा समेत स्थानीय सरकार मौन बसेको भन्दै आक्रोस व्यक्त गरे । उनले यस क्षेत्रका उद्योगी व्यवसायी गम्भीर पीडामा जीवन यापन गर्न बाध्य भएको भन्दै स्थान्ीय सरकार र सडक विभागलाई सडक निर्माण कार्य तत्काल सुचारु गर्न आग्रह गरेका छन् । सडक नबन्नुको मुख्य दोषि स्थानीय सरकार र ठेकेदार मात्र नभएर सडक विभागसमेत रहेको भन्दै उनले सडक निर्माणलाई तत्काल सुचारु गर्न आग्रह गरे ।
त्यस्तै विर्तामोड उद्योग वाणिज्य संघका महासचिव भेषराज भण्डारी प्रशान्तले सडक निर्माण कार्यलाई सुचारु गर्दै व्यवसायीको विषयमा गम्भीर बन्न स्थानीय सरकारलाई आग्रह गरेका छन् । उनले सडक निर्माणमा ढिलासुस्त ीगर्ने निर्माण कम्पनीलाई कानूनको दायरामा ल्याउनु पर्ने माग गरेका छन् ।
त्यस्तै व्यवसायी किरण श्रेष्ठले सडक नवन्नुमा मुख्य दोषि बर्तमान सरकार रहेको आरोप लगाएका छन् । दुई तिहाइको सरकारले जस्तो सुकै निर्णय गर्न सक्ने भन्दै सडक निर्माणमा ढिलासुस्ती गर्ने कम्पनीलाई कारवाही किन गर्न नसकेको भन्दै प्रति प्रस्न गरे ।
विरोध कार्यक्रममा बिर्तामोडका बिर्तामोड खानेपानी तथा सरसफाई समितिका अध्यक्ष जलकुमार गुरुङ,राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष मदन गोपाल सुब्बा , बिर्तामोड वडा नम्वर ४ का अध्यक्ष कुलप्रसाद संग्रौला , रञ्जु प्याकुरेल लगायतले बोलेका थिए ।
बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी जोडिने सडकको लम्बाइ जम्मा अढाई किलोमिटर हो । यो सडकखण्डलाई चार लेनको बनाउने गरी काम सुरु भएको थियो । सम्झौताअनुसार सडक निर्माणको काम पुस मसान्त भित्रै सम्पन्न गर्नु पर्ने भएपनि अहिलेसम्म सडक किनाराको दायाँबायाँ नाला बनाउने कार्य पनि पूरा हुन सकेको छैन ।
सडक डिभिजन कार्यालय झापाले १८ महिनाभित्र बिर्तामोड–भद्रपुर सडकको चार किलोमिटर खण्ड निर्माण पूरा गर्ने गरी आशिष प्रेरा जेभीसँग गत वर्ष २४ असारमा ठेक्का सम्झौता गरेको थियो ।
सम्झौताअनुसार बिर्तामोड बजार क्षेत्रको अढाई किलोमिटर सडक चार लेनको र बाँकी डेढ किलोमिटर दुई लेनको बनाउनुपर्ने छ । तर, काम अत्यन्तै सुस्त छ । स्मार्ट सिटीको अवधारणाअनुसार बिर्तामोड–भद्रपुर रोडको बजार क्षेत्रभित्रका सडक चार लेनको बनाउन लागिएको हो । तर, सम्झौता अवधि सकिन लाग्दा पनि काम गराइको गति अत्यन्तै सुस्त छ ।
यसैबीच बुधवार एक घण्टा चक्का जाम गरेको बिर्तामोड उद्योग वाणिज्य सघंले सडक निर्माणमा चासो दिन माग गर्दै सडक डिभिजन कार्यालय दमक, जिल्ला समन्वय समिति झापा, बिर्तामोड नगरपालिका र विर्तामोड नगरपालिका वडा नम्वर ४ को कार्यालयमा ज्ञापन पत्र बुझाएको छ ।