समाजवादको वास्तविक मर्म बुझ


२१ कार्तिक २०७६, बिहीबार ०६:४९ मा प्रकासित

प्रज्ज्वल बराल,

Advertisement

नेपाल ‘समाजवाद उन्मुख’ राष्ट्र भनेर संविधानको प्रारम्भिक भागमा लेखिएको छ । अहिले सरकार सञ्चालनमा समेत समाजवादको लागि सात दशकभन्दा लामो समयदेखि संघर्ष गर्दै आएको पार्टी विराजमान रहेको छ । इतिहासलाई स्मरण गर्दा समाजवादको लहर माक्र्स र एंगेल्सले १८४८ मा प्रकाशित ‘कम्युनिष्ट घोषणा पत्र’ बाट शुरु भएको पाइन्छ । तर, माक्र्स र एंगेल्सभन्दा पहिले पनि समाजवादको चर्चा नभएको भने होइन । अनेकौं राष्ट्रमा आ–आफ्नो विचारमा आधारित भएर समाजवादको ब्याख्या हुनेक्रम जारी छ ।

नेपालमा ‘समाजवाद’ माथि चर्चा र परिचर्चा विभिन्न समयमा विभिन्न कोणबाट भएको छ । नेपालको सन्दर्भमा नियाल्दा समाजवादको बहस नेपाल कम्युनिष्ट पार्टीको स्थापनासँगै शुरु भएको पाइन्छ । पाँच जनाको नेतृत्वमा शुरू भएको नेपाल कम्युनिष्ट पार्टीले नेपाली राजनीतिमा समाजवादको जग बसाल्यो । नेपालमा कम्युनिष्ट पार्टीको विभिन्न पटक फुट्ने–जुटनेक्रम जारी भयो । कहिले निजी स्वार्थको कारणले त कहिले वैचारिक भिन्नताको कारणले । कम्युनिष्ट पार्टी जनताको माझमा कहिले झुक्दै त कहिले लुक्दै अघि बढ्नुप¥यो । तर, समाजवादको परिभाषा कहिले झुकेन ।

माक्र्सवाद कल्पनामा नभएर ऐतिहासिक सत्य–तथ्यमा आधारित भएर नै होला अहिले पनि यसलाई जो कोहीले नकार्न सकेको छैन । कम्युनिष्ट पार्टीले मात्रै नभएर कांग्रेसले पनि समाजवादलाई विभिन्न कोणबाट ब्याख्या गर्दै आएका छन् ।
यसकारण प्रश्न उठ्छ समाजवाद आफैमा के हो ? सामान्य रूपमा भन्नुपर्दा ‘समाजवाद’ भनेको यस्तो सामाजिक आर्थिक व्यवस्था हो, जहाँ देशको सम्पूर्ण अर्थतन्त्रको स्वामित्व सरकारमा निहीत हुन्छ । आदिम साम्यवाद, दास युग, सामन्तवादी युग, पुँजीवादी युग हुँदै समाज परिवर्तन भए जस्तै समाजवादको चरणबाट नै साम्यवादी युग जाने परिकल्पना माक्र्सले गरेका छन् । माक्र्सले समाजवादलाई साम्यवाद जाने संक्रमणकालको रुपमा बताएको छन् ।

समग्रमा भन्नुपर्दा साम्यवादमा जाने एक महत्वपूर्ण खुड्किलाको रुपमा समाजवादलाई बुझ्न सकिन्छ ।
समाजवाद कसैले एक हातले दिने एक हातले लिने व्यवस्था होइन । यो नितान्त प्रयोजनपरक भएको कारणले समयक्रमसँगै ल्याउने परिवर्तनको फलस्वरूप आउने व्यवस्था हो, यसकारण नेपालको संविधानमा समाजवाद लेखिनु कुनै ठूलो प्रगति मान्न सकिने अवस्था छैन । वर्तमान समयमा समाजवाद कस्तो हुने भनेर समेत कतै उल्लेख तथा ब्याख्या नगरिएको कारण अझै समाजवाद प्रति शंका उत्पन्न हुनु स्वभाविक रूपमा लिन सकिन्छ ।

कस्तो मोडेलको समाजवादको कुरा हुदैछ त नेपालमा ?

संसारमा समाजवादको बहस झण्डै दुई सय वर्षभन्दा अगाडिदेखि शुरु भएको हो । जस्तै कुनै पनि विचारलाई कार्यान्वयनको पक्षले निर्धारण गर्छ, त्यस्तै समाजवाद पनि विभिन्न राष्ट्रमा प्रयोग हुँदै अनेक रुपधारण गरेको छ ।

लक्ष्य एउटै भए पनि प्रयोगको कारणले समाजवाद पनि विविध रुपमा देखापरेका छन् । सोभियत संघको समाजवादको मोडेल र चीनको समाजवादको मोडेलमा धेरै फरक पाइन्छ । सोभियत समाजवादको असफलतापछि सबैजसो समाजवादी मुलुकहरूमा ठूलो धक्का पुग्यो । चीनमा फरक ढंगले समाजवादको ब्याख्या भयो र कम्युनिष्ट आन्दोलनले नयाँ मोडे लियो । क्युबा, भियतनाम र लाओस जस्तै विभिन्न देशमा विभिन्न रुपले समाजवाद ब्याख्या भएको छ । त्यसो भए नेपालमा कुन मोडेलको समाजवादको ब्याख्या हुँदैछ त अहिलेको अवस्थामा ।

यसकारण यहाँ अर्को प्रश्न उठ्छ कि वैचारिक स्पष्टता बिना नै कुन समाजवादको कुरा गर्दैछ त वर्तमान सरकार ? अहिलेको परिस्थिति नियाल्दा नेपाल दलाल पुँजीवादी सामाजिक व्यवस्थामा रुमल्लिरहेको देखिन्छ । शिक्षा, स्वास्थ जस्ता आधारभूत कुराहरुमा दलाल पुँजीवाद हावी हुँदै गएको छ र भ्रष्टाचार, आर्थिक अनियमितता, कमिसनखोरी देशमा दिनप्रतिदिन मौलाउँदै गएको छ । सरकार सञ्चालन रहेको नेकपा नै यसबाट अछुतो रहन सकेको देखिँदैन । नेकपा नीतिगत रूपमा नै असफल देखिँदै गएको छ । त्यसैले जबसम्ममा राज्यको माथिलो निकायमा सबैको समान पहुँच हुँदैन तबसम्म समाजवाद परिकल्पना गर्नु भ्रमको खेती सरह हो ।

संविधानको अनेक विशेषता मध्य समाजवादको नीति अवलम्बन गर्न सबैभन्दा फरक र नयाँरुपले नेपाली जनताको हेरेका थिए । देशमा स्थिर सरकार जो समाजवादको नीतिलाई आत्मसात गर्दै अगाडि जाने पक्षलाई देशको युगान्तकारी उपलब्धिको रूपमा लिएको थियो । तर, दुर्भाग्यपूर्ण कुरा समाजवादको नीति संविधानमा मात्रै सिमित भएको छ । अहिलेको अवस्थामा देशमा चरम निराश छाएको छ । त्यसको प्रत्यक्ष उदाहरण जनमत सडकमा उत्रेर आन्दोलनको बाटो रोज्नु हो । सरकारले सुशासन र भ्रष्टाचार नियन्त्रणको नारा लगाउँदै आएको तर नारा अनुसार कार्यनयन गर्न नसकेकोले आफै काण्डै काण्डमा फसेको देखिन्छ ।

संविधानमा समेत समाजवादको कुनै स्पष्ट ब्याख्या छैन । अहिले कम्युनिष्ट पार्टीको नेतृत्वमा दुई तिहाइको सरकार छ र सधैजसो समाजवादको नाममा टीकाटिप्पणी हुने क्रम जारी छ । सरकार आफै दलाल र विचौलियाको चङगुलमा परेका देखिन्छ । समाजवादमा पुग्ने सरकारको समेत कुनै नीति देखिँदैन । सरकारको गतिविधि दिनप्रतिदिन अलोकप्रिय हुँदै गएको छ र सरकार देश सञ्चालनको त कुरै नगरौं पार्टी सञ्चालनमा समेत कठिनाई भोगिरहेको भान हुन थालेको छ । तथापि, प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारले समाजवादलाई आफ्नै कोणबाट ब्याख्या गर्नेक्रम जारी छ ।

‘सुखी नेपाली समृद्ध नेपाल ’ समाजवादको मूल मन्त्र भएको छ । तर, कार्यशैली भने विपरीत हुँदै गएको छ । दलाल पुँजीवाद टेकेर समाजवादको यात्रा तय गर्न सकिँदैन भन्ने सबैलाई हेक्का हुँदाहुँदै पनि त्यस्तो पार्टीभित्रै हावी हुनेक्रम जारी छ । शिक्षा, स्वास्थ जस्ता आधारभूत कुराहरुमा दलाल पुँजीवाद हावी हुँदैछ ।

देशमा भ्रष्टाचार बिगबिगी एवम् जताततै कमिसनको चलखेल झन् बढ्दैछ र यस्तो अवस्थामा नेकपाको समाजवाद वायुपंखी घोडा हुँदैछ । बोलीमा मात्रै सिमित । त्यसैले सरकारले समयमै आफ्नो आन्तरिक पार्टीका साथै बाह्य कर्यशैलीमा सुधार गर्दै अगाडि जानु पर्नेछ र समाजवादको वास्तविक मर्म बुझ्दै सरकारअघि बढ्नु आवश्यक देखिन्छ ।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्