नेपाली कांग्रेस अन्तरध्वंशतर्फ उन्मुख भएकै हो ?

२१ कार्तिक २०७६, बिहीबार मा प्रकाशित

नकुल काजी,

यस देशमा २००७ सालदेखि प्रजातन्त्र–लोकतन्त्रको प्राप्तिका जनक्रान्ति–जनआन्दोलनमा नेतृत्वदायी भूमिका निर्वहनद्वारा यशस्वी पहिचान स्थापित गरेको पार्टी नेपाली कांग्रेस । यसले हाल राज्यसत्ताका काम–कारवाहीको खबरदारी गर्ने वर्तमान संविधानप्रदत्त प्रमुख प्रतिपक्षको अधिकार र कत्र्तव्यको सम्मान गर्नेसम्मको हविगत राख्न नसकेको देखिइरहँदा यसका वृत्तभित्रकै नेपाली पनि बिरक्तिन थालेका छन् । बस् यही नै अहिलेको नेपाली राजनीतिक धरातलको एउटा कटु यथार्थ बनेको छ ।

नेतृत्व हत्याउने गुटपरस्त अस्वस्थ प्रतिस्पर्धात्मक किचोलारुपी रोगग्रस्त भएर नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षीको हैसियतलाई बलियो बनाउन सकिरहेको छैन नै, आफ्नो पार्टी–संरचना लथालिङ्ग पारिरहेछ भन्ने समाचारहरु छताछुल्ल प्रकाश–प्रसारमा आउन थालेका छन् । उपल्लो नेतृत्व–शिविरका विशिष्ट पदासीनहरु यसबेला विभिन्न गुट बनाएर पार्टी महाधिवेशनमा आ–आफ्ना पक्ष बलियो बनाउने कसरतमा केन्द्रित भएकाले यसका भ्रातृ–भगिनी र व्यावसायिक वर्गीय संगठनहरुको बिल्लीबाठ भइरहेका छन् भन्ने ती समाचारहरुका अग्र–सम्प्रेषण रहेका छन् । पदलोलुपताको उदेकलाग्दो घर–झगडाले साङ्गठनिक संरचनाप्रतिको मूल दायित्वलाई यसरी थिचोमिचोमा पार्नुले प्रजातन्त्रवादी ख्यातीको त्राणले बाँचिरहेको पार्टी स्वयम् आफैभित्र चाहिँ ‘प्रजातन्त्र’ छैन कि कसो भन्ने शंकाले आकार बढाउन थालेको छ ।

यसो हुँदा देशका सबै क्षेत्र, तप्का र तहहरुमा विभीषिकाकै रुपमा बिस्तीर्ण बेथिति र जन–जीविकाका अक्करिला अप्ठ्याराहरुले निर्बिध्न मौलाउने अवसर पाइरहेका छन् । सरकारका दज्र्यानी तहमा भ्रष्टाचार, कमिशनखोरी, सेन्डिकेट–सेटिङ आदि–इत्यादि देश रुख्याउने छद्म दुष्कर्महरुले निर्बाध मात्र होइन, ‘एक्लै दौडेर प्रथम हुने’ सुनौलो मौका मारिरहेका छन् ।

नेपाली कांग्रेसका तल्ला–उपल्ला नेताहरुले एकातिर आफ्नो पार्टीभित्रको एकता–याचनाको फलाको आफ्ना कार्यक्रमहरुमा उराल्ने गरिरहेका छन् भने अर्कातिर उनीहरु नै आ–आफ्ना गुट मजबुतीकरणको विभाजक गतिविधिमा अझ तदारुक छन् भनेर सो पार्टीलाई दिलोदिमाग माया गर्नेहरुले नै भन्न थालेका छन् । ‘एक भाइ हिङ नभए भागै नबस्ने—अर्को भाइ हिङ भए भित्रै नपस्ने’ उखान यसबेला नेपाली कांग्रेसमा चरितार्थ भइरहेको चर्चा दैनन्दिन व्यापक हुँदै आएको छ । राज्यका काम–कारवाही, होचो–अर्धेलो, कमी–कमजोरी र अज्ञानतावश वा नियतवश भए–गरेका गल्तीका विरुद्ध खबरदारी गर्ने दायित्व बोकेको पुरानो परिचित पार्टी आफूभित्रकै नेतृत्व तानातान झगडामा रुमल्लिएर नागरिकमा रहेको आफ्नो परम्परागत प्रभावबाट खस्किँदै जानु देशले अंगीकार गरिराखेको राजनीतिको दुर्भाग्यको सूचीमा सूचीकृत हुने विषय नै हो ।

आफू काइदा नजान्ने र जान्नेले भनेको पनि नमान्ने हठी नेताहरु आ–आफ्ना गुट–मातहतका नेता–अगुवालाई यता–उता हुन नदिइकन चराउने गोठालागिरीमा प्रवृत्त भएपछि समर्थक नागरिकमाझ अप्रिय बन्दै जानु अस्वाभाविक ठहर्दैन । नागरिकको मूल्य विषय राजनीतिक कहीँ–कतै पनि हुँदैन । नागरिक–मनोविज्ञानले पुरानो इतिहासको पुनरावृत्तिमा सधैँ पाउलो हाल्दैन भनेर बुझ्ने वातावरण नेपाली कांग्रेस पार्टी–नीति निर्माता नेता–अगुवाहरुले बनाउन नसक्नुको दुष्परिणाम उनीहरुले निर्वाचनको परीक्षापछि भोग्दै आइरहेकै छन् । निर्वाचनमा उम्मेदवारहरु हारे पनि बहुमत विजयीलाई छोडेर बाँकी पार्टीहरुभन्दा नेपाली कांग्रेस पार्टीको जनमत कमजोर थिएन ।

त्यो संख्या हेर्दा उम्मेदवारहरु त्यतिविधि हार्नुपर्ने के कारण थियो त ? तत्कालीन एमाले पार्टीभन्दा नेपाली कांग्रेसको पार्टीगत जनमत थोरै मात्र कम थियो । तर, उसले लामो समय पार्टीमा संलग्न रहने, व्यावहारिक स्थलमा अप्रजातन्त्रवादी, राजनीतिमा अक्षम, क्षेत्र–क्षेत्रका हैकमीहरु इत्यादिलाई ‘दीर्घसेवा पुरस्कार स्वरुप’ उम्मेदवारी दिने गल्ती गरेको थियो । उम्मेदवारहरु भुर्कुट्टै हारे पनि पार्टीले, सबभन्दा बढी सीट जित्न सफल, एमालेभन्दा लभभग ४५ हजार मत मात्र कम प्राप्त गरेको थियो । परन्तु, पार्टीको त्यो सफलताको मूल्यांकन गरेर अगाडि बढ्ने प्रेरणा नेपाली कांग्रेस प्राधिकरणले त्यसयताको अवधिमा लिएको कतै देखिएन । एक नेताले अर्कोलाई ‘अन्तर्घाती’ आरोप लगाउँदै आफूहरु उभिएको भूइँ आफै खन्ने अन्तरध्वंशी काम प्रशस्त भए, भइरहेकै छन् ।

राज्यका संघीय, प्रदेश र स्थानीय तहका निर्वाचनहरु भएयता अथवा नेपाली कांग्रेस संवैधानिक प्रमुख प्रतिपक्षी घोषित भएयताका विभिन्न घटना–प्रकरणमा उसले आफू र प्रजातन्त्र–लोकतन्त्रको पर्याय भएको डिङ हाँक्ने काम गर्यो । त्यसो गरिनु एउटा पुरानो राजनीतिक पार्टीका हकमा शोभा दिने कुरो थिएन र होइन पनि । नेपाली नागरिकहरु प्रजातन्त्र–लोकतन्त्रका प्रति आत्मनिवेदित छन् । यस अर्थमा उनीहरुले कांग्रेसका अधिकांश उम्मेदवारलाई भोट नदिनु उनीहरुले प्रजातन्त्र–लोकतन्त्रको तेजोबध गर्ने बाटो लिए भन्ने पनि बुझ्नुपर्ने कि के ? नेपाली कांग्रेसको उप्पलो नेतृत्व शिविरमा यसबेला जुन रडाको भूसको आगो झैं सल्किरहेको छ, त्यो लोकतान्त्रिक अभ्यास हो त ? नागरिक अथाह समस्यामा पिल्सिरहेको यो समय–सन्दर्भमा नेपाली कांग्रेसको कुन जन धरातलमा सुधारमुखी र अगुवाइजन्य उपस्थिति छ त ?

यसबेला देशमा नेकपाको सरकार बहाल छ । उसलाई लोकमतले त्यो हैसियत दिएको हो । आफूलाई सर्वोपरि लोकतान्त्रिक पार्टी मात्र होइन लोकतन्त्रको पर्यायकै रुपमा मानिरहेको पार्टीले लोकमतको कदर–सम्मान गर्नुपर्ने प्राथमिक शर्त हो भने वर्तमान सरकार(हरु)–लाई लोकमतद्वारा अनुमोदित मान्न सक्नु नै उसको सारभूत सैद्धान्तिक आदर्श हुनपर्ने होइन र ?
आफ्नो मण्डलीका दायराभित्र प्रजातन्त्र–लोकतन्त्रको ब्याख्या फर्माएर आफ्नो पार्टीलाई लोकतन्त्रको पर्याय नै भनिरहँदा र लोकमतले प्रतिष्ठापित सरकारलाई अन्यथा भनिरहेको सुनिँदा दाँत झरेकी बूढी बज्यैले सोतेबाट आगो फुके झैं प्रतीत हुने गरेको प्रतीतिहरु बढेका छन् ।

सरकारका काम–कारवाही समग्रमा एकाधिपत्य भावभूमिमा उभिएका छन् । यस कुरामा कुनै विचार गर्नसक्ने र स्थितिको मूल्याङ्कन गर्नसक्ने कुनै पनि नेपालीको अर्को मत नहोला । तर, प्रमुख प्रतिपक्षीले अन्य प्रतिपक्षीहरुलाई संगठित गरी बलियो बन्नुपर्ने बेलामा स्वयम् घर–झगडाको नरमाइलो रमिता बनिरहेको छ भने, सत्ताधिकारीले चाहेर होस् वा नचाहेरै किन नहोस्, उसको एकाधिपत्य अवस्था देखिनु स्वतः स्वाभाविक हुँदैन र ? प्रतिस्पर्धी नभएपछि खेलमा वाक्–ओभरको नियम अवतरित हुनुलाई घनघोर आश्चर्यको विषय किन मान्ने ?

वर्तमान सरकारले धरातलीय नागरिकलाई तिनका अपेक्षानुकूल राज्यसँग जोड्न नसकिरहेको विषय नेपाली कांग्रेसको प्रतिपक्षी खेलोफड्कोको मुख्य सम्बल बनेको छ । यो विषय त देशका राजनीतिप्रति चासो राख्ने हरेक बुद्धिजीवी, हरेक विश्लेषक र पार्टीहरुका प्रति निरपेक्ष लोकतन्त्रका अनुरागी टिप्पणीकारहरुले उठाइरहेकै छन् । नागरिक कित्ताका नेपालीमा हाल बढिरहेको कोलाहलको मूल विषय नै यही हो । बरु, यस्ता परिप्रेक्ष्यहरुमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले चाहिँ राष्ट्र र राष्ट्रबासीलाई पीडा दिने कुन घटनामा परिणामप्रद तदारुकता देखाइरहेको छ त ? भन्ने जङ्गे प्रश्न उठिरहेको छ ।

हरेक घटनाका लहराले वैयक्तिक र संस्थागत रुपमा उसलाई जेलिरहेको छ । साँपको मुखमा चेपिएर मुक्तिको आवाज दिइरहेको भ्यागुताले उसको नाकमा बस्न पुग्ने झिंगालाई जिब्रोले तानेर निल्न खोजे जस्तो अवस्था छ अहिले प्रतिपक्षी भूमिका । अहिले लोकतन्त्रको परिभाषामा छ जना अन्धाले छामेर हात्तीको स्वरुप बखानेको दन्त्यकथा चरितार्थ भइराखेको छ । लोकतन्त्र–प्रजातन्त्र आफ्नो पार्टीमा मात्र मूर्तिमान हुन सक्ने ठानिरहेको पार्टीको अन्तरध्वंशी अवस्थाले लोकतन्त्र–प्रजातन्त्रको विश्वमान्यतासँग मेल खान्छ–खाँदैन ?

उसका पूर्वजहरुबाट निसृत नेपाली प्रजातन्त्रको सकली सैद्धान्तिक नाक–नक्साको अविकृत स्वरुप यही हो, जो अहिले देखिँदो छ ? आदि–इत्यादि प्रश्नका काँडाहरु उबाट उसैमा भरमार प्रक्षेपित भइरहेका छन् र गुटगत गज्याङमज्याङमा परेर ती प्रश्नहरु नै अन्यायमा भिमलाई रहेका छन् । ……र, आजलाई यत्ति नै । शेष फेरि–

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here