झापा।
झापा प्रहरी गाईगोरु तस्करी नियन्त्रण तथा रोकथाम अभियानप्रति आक्रामक देखिएको छ ।
दुई दिन अघि दुई वटा फुलबडी ट्रकसहित ५० वटा गोरु नियन्त्रणमा लिएर भन्सार बुझाएको घटना सेलाउन नपाउँदै प्रहरीले बुधवार राति दुई वटा बोलेरो पिकअप भ्यानसहित गाई–बाछी नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले झापा गाउँपालिका ४ र २ पर्ने सीमा नाकाबाट बुधवारराति १२ वटा गाईबाछी लोड गरिएको बोलेरो पिकअप भ्यान नियन्त्रणमा लिएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
प्रहरीले मे१ज १७६१ र प्र. १–०१–००१ ज–३३८५ नम्बरको पिकअप भ्यानमा लोड गरिएको गाई बाछी झापा गाउँपालिका हुँदै भारतको डिगलबैक नाकातर्फ लैजाने क्रममा नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए । प्रहरीले पिकपअसहित गाई बाछी नियन्त्रणमा लिएको भन्दै गाई व्यापारी एउटा पिकअप भ्यानको चाबी लिएर भागेका थिए ।
पिकअपको चाबी लिएर भागेकाले प्रहरीले एउटा पिकअप ट्क्याटरले तानेर भन्सारसम्म ल्याएका थिए । प्रहरीले गाई बाछीसहित नियन्त्रणमा लिएको पिकअप भ्यान र चालकद्वय मोरङ मिक्लाजुङ गाउँपालिका–४ बस्ने ३६ वर्षीय पदम खत्री र झापा कमल गाउँपालिका–४ बस्ने २८ वर्षीय मिलन लिम्बूलाई भद्रपुर भन्सार कार्यालय बुझाएको छ । प्रहरीले गाई बाछी र दुईवटा भ्यानलाई १० लाख १२ हजार मूल्यांकन गरी भन्सार बुझाएको प्रहरीले जनाएको छ ।
यता भन्सार कार्यालयले गाई बाछीको लिलाम गरिसकेको भन्सारका नायव सुब्बा विकास दाहालले जानकारी दिए । चालकद्वयलाई ६२÷६२ हजार धरौटी लिएर छाडिएको उनले बताए । त्यस्तै प्रहरीले कात्तिक १० गते केचना नाकाबाट भारततर्फ गइरहेको एउटा पिकअप भ्यानसहित ५वटा गोरु नियन्त्रणमा लिएको थियो ।
मे१ज १८३३ नम्बरको पिकअपमा राखेर गोरु भारत लैजान लागेको अवस्थामा प्रहरीले भ्यान नियन्त्रणमा लिएर भद्रपुर भन्सार कार्यालय बुझाएको थियो । प्रहरीले ३ लाख २२ हजारमा गोरु र पिकअप भन्सार बुझाएको थियो । यता मंगलवार बिहान ५० वटा गोरु लोड गरिएको ना६ख ३८४१ र ना ५ ख ५९४६ नम्बरको फुलबडी ट्रक सुरुङ्गाबाट झापा गाउँपालिकाको टाघनडुब्बा नाका हुँदै भारतको डिगलबैक नाकातर्फ लैजाने क्रममा प्रहरीले नियन्त्रणमा लिएर १६ लाख २६ हजारमा भन्सार बुझाइसकेको छ ।
झापा प्रहरीले गाईगोरुसहित धमाधम सवारीसाधन नियन्त्रणमा लिएर भन्सार बुझाउन थालेपछि गाईगोरु तस्कर समूहले जिल्ला प्रहरी कार्यालय झापाका एसपी दिनेशराज मैनालीलाई सरुवा गर्न चलखेल शुरु गरेको समाचार बाहिरिए लगत्तै झापामा प्रहरी गाईगोरु नियन्त्रणमा थप आक्रामक बनेको हो ।