छिन्ताङ घटनाका मृतक परिवारलाई ५ लाख

0
425

बिर्तामोड ।

छिन्ताङ घटनाका शहीद परिवारलाई १ नम्वर प्रदेश सरकारले प्रतिपरिवार ५ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

२०३६ सालमा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाको नेतृत्वमा भएको हत्याकाण्डमा मारिएका १६ जनाको परिवारलाई राहत दिने प्रदेश सरकारले निर्णय गरेको हो । विहीवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले जानकारी दिए ।

मन्त्रिपरिषद्को बैठकले मोरङ, झापा, पाँचथर, धनकुटा, ओखलढुंगा र उदयपुरमा प्रदेश लेखा नियन्त्रण कार्यालय अन्तर्गत रहने गरी प्रदेश लेखा इकाई स्थापना पर्ने निर्णय पनि गरेको छ ।

धरानमा स्थापित वन निर्देशनालयमा दशौं तहका रवीन्द्र महर्जनलाई कायममुकायम जिम्मेवारी दिने, प्रदेश यातायात निर्देशनालय गठन नभइसकेकोले मन्त्रालयले नै सो काम गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।

बैठकले तत्कालीन प्रदेश प्रमुख प्रा.डा.गोविन्दबहादुर तुम्बाहाङलाई धन्यवाद दिने निर्णय पनि गरेको छ भने कार्तिक २९ गते अन्तराष्ष्ट्रिय चलचित्र महोत्सव धरानमा आयोजना गर्ने निर्णय गरेको छ ।

त्यस्तै प्रदेश योजना आयोग गठन तथा कार्य सञ्चालन) आदेश २०७५ को अनुसूची–२ थप गर्ने, प्रदेश समपूरक अनुदान सम्बन्धी कार्यविधि संशोधन गर्ने, मुख्य न्यायाधीवक्ताको काम, कर्तव्य, अधिकार र सेवाका अन्य शर्त सम्बन्धी ऐन संशोधन गर्ने र सामाजिक विकास मन्त्रालय योजना तथा कार्यक्रम (सञ्चालन) कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here