नेपाली हामी रहौंला कहाँ नेपालै नरहे

0
1656

नरेन्द्र ढकाल,

‘देशभक्ति त मर्दैन चुत्थै देश भए पनि’ भन्ने बालकृष्ण समद्वारा रचित कविताका हरफहरु आज पनि उत्तिकै सान्दर्भिक छ । विश्वमा विभिन्न देशहरू त छन् र ती देशका सीमानाहरू पनि अन्य देशहरुसँग जोडिएका छन् । तर, विश्वमै अहिलेसम्म कसैको पराधीनमा नबनेको मुलुक नेपालले आज स्वाधिनतालाई खोजिरहेको छ ।

‘चुुत्थो’ भनिएको वा भनिने जोखिम बोकेको देशका बासिन्दाले त देशभक्तिलाई मर्न दिँदैनन् भने प्रकृति र संस्कृतिले सम्पन्न नेपाली हामीले कसरी अर्कालाई आफ्नो देशको माटो सुम्पिने यो गम्भीर प्रश्नको विषय बनेको छ । मुलुक आज समृद्धिको कुरा गरिरहँदा हाम्रा सीमानाहरु मिच्ने कामहरु भइरहेका छन् । यो अवस्थामा मुलुकको विषयमा एक शब्द बोल्न नसकने व्यक्ति नेपाली हुनै सक्दैन ।

नेपाली हामी रहुँला, कहाँ नेपालै नरहे…आज यो गीत निकै सान्दर्भिक छ । हिजो पूर्खाहरु पश्चिममा किल्ला काङ्गडा अनि पूर्वमा टिस्टा पुगेको वीर गाथालाई भुल्न हँुदैन । आज हाम्रो भनिएको कालापानी र लिपुलेकहरु भारतले आफ्नो देशको नक्सामा राख्दा समेत हामी मौन बस्यौं भने भोली पशुपतिनगर, मेची नदी मात्र होइन पश्चिमका सुस्ता लगायतका स्थान पनि भारतले मेरै भूमि भन्ने छ । त्यसैले अब आफ्नो लागि लड्नेहरुले एक पटक राष्ट्रको लागि लड्न जरुरी ठानेको छु ।

नेपालको विशिष्ट चिनारी कायम गर्न र यस मुुलुुकलाई चीरकालपर्यन्त स्वतन्त्र एवम् अखण्ड राख्न दूरदर्शी नेतृत्व चाहिन्छ । दृढसंकल्प आवश्यक पर्छ । यति भएमा साधन–स्रोत परिचालन गर्न पनि कठिनाइ हुुँदैन । परमुुखापेक्षी प्रवृत्ति क्रमशः हटेर जानेछ । इतिहासबाट पाठ सिक्नेले गल्ती दोहोरिन दिँदैन । त्यसैले आफ्नो देशको सीमा रक्षाका लागि वर्तमान सरकारले बुुद्धिमानी कदम चाल्न जरुरी ठानेको छु । देशमा ठूला क्रान्ति भए पनि अनि ठूलै परिर्वतन आएको हल्ला पनि चलाइयो । होला जनताको जीवनशैलीमा थेरै परिर्वतन अवश्य आएको छ । तर, हिजो जुन देशभक्ति थियो आज त्यो देशभक्ति हराएर गएको छ । यसले भोलि कतै नेपाल भन्ने देश इतिहासको पानामा मात्रै समेटिने त होइनन् भन्ने चिन्ताले आजका राष्ट्रवादी नेपाली जनतालाई पोल्न थालेको छ ।

भारतले एकपछि अर्को गर्दै सीमा मिच्दा समेत नबोल्ने नेपाली हामी अनि नेतृत्व समेत बेखर हुनुले कतै मुलुकलाई जसले जे गरेपनि हुन्छ भन्ने ठानेर लम्पसार परेको त होइन् ? हिजो ब्रिटिसले आँखा गाडेको नेपालमा आज पनि धेरैको गिद्धे दृष्टी लागीरहेको छ । नजानिँदो तवरले माथिल्लो क्षेत्रमा चीन र अन्य तीन स्थानमा भारतले नेपाललाई थिचोमिचो गरिरहेका छन् । अब यो विषयलाई सबै नेपालीले उठाउन जरुरी ठानेको छु । भारतले नेपालका सयौं विगाह जमिन मिचि सकेको छ अब पनि नेपालका नेताहरुले यो विषयमा दरिलो तबरले कुरा नउठाउने हो भने क्रमशः मुलुक सिक्किमीकरण तर्फ गइरहेको आभाष हुन थालेको छ ।

पश्चिमलाई चोट लाग्दा पूर्वलाई दुख्नुपर्छ । हिमालमा अप्ठ्यारो पर्दा तराई जुरमुराउनु पर्छ । अनिमात्र देशको रक्षा गर्न सकिन्छ । त्यसैले हामी एकजुट हुन जरुरी छ । वर्तमान अवस्थामा राजनीतिले नघेरिएको त्यस्तो कुनै स्थान नै छैन होला, तर अब राजनीतिभन्दा माथि उठेर देशका लागि सोच्ने बेला आएको छ । कुनै आमा अप्ठ्यारोमा परेर रुँदै गर्दा आँशु पुछन् नसक्ने नालायक छोराछोरी हुनुभन्दा गर्भ नै खेर गएको जाति भने झैं आज मातृभूमि छट्पटाई रहँदा समेत नहेर्ने र नबोल्ने छोराछोरीले भोलिका दिनमा नेपाल आमा भन्ने नैतिकता नराखेकै बेस् ।

नेपालको राष्ट्रियता, स्वाधीनता, सार्वभौमिकता र नेपाली भू–भाग माथि अतिक्रमण नेपाली जनतालाई सह्य हुँदैन । नेपालको भूमि भारतले आफ्नो देशको नक्सामा राखिरहँदा यस्ता घटनामा आलटाल नगरी आवश्यक सत्यतथ्य प्रकाशमा ल्याउन र भारतीय कदमको कडा विरोध गर्न आवश्यक छ । नेपालको सार्वभौमकिताका पक्षमा दह्रोसँग उभिन नेतृत्व तयार हुनुपर्छ । भारतीय कदमको जति नै भत्र्सना गरे पनि कम हुन्छ । त्यसैले मुलुक विषम् परिस्थितिमा गुज्रिरहँदा हामी एक भएर अघि बढ्न नसकने हो भने मुलुकको अस्तित्व नै संकटमा पर्दैछ ।

त्यसैले रक्षाका लागि नेतृत्वलाई जिम्मेवार बनाउँदै सारा नेपाली एकजुट हुन जरुरी छ । आफ्नो देशको सिमा रक्षाका लागि गोर्खाली खोज्ने भारतले गोर्खेविरुद्ध गरेको षडयन्त्रको विषयमा बेलैमा हेक्का नराखे भारतलाई पनि अप्ठ्यारो पर्न सक्छ । अब जाग्नुपर्छ नेपाली जनता अनि भारतीय विस्तावादविरुद्ध संगठित हुँदै मुलुकको रक्षाका लागि एकजुट हुनुपर्छ । सीमा रक्षाका लागि जाग नेपाली अब गफले होइन कामले देखाउने बेला आयो सीमानामा पर्खाल लगाउन पनि तयार हुनुपर्छ अब भारतको अत्याचार धेरै भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here