शालीनतालाई ठट्टा सम्झिनु हुन्न

0
448

सम्पादकीय

पूर्वी–नेपालको अत्यन्त व्यस्त सहरभित्र पर्दछ बिर्तामोड । बिर्तामोड झापा मात्र होइन मेची कै आर्थिक राजधानी पनि हो । बिर्तामोडलाई जिल्लाको अघोषित सदरमुकाम भनेर पनि भन्ने गरिन्छ । जिल्लाका शहरहरु मध्ये झण्डै–झण्डै कान्छो होला बिर्तामोड । तर, यहाँको जनघनत्व, फैलावट, आर्थिक कारोबारको आधार, बिस्तारित क्षेत्र र सदरमुकाम जोड्ने मूल गौंडो भएका कारणले बिर्तामोडले व्यस्त, घनत्व बढी भएको, आर्थिक केन्द्र र सदरमुकामको ‘पगरी’ पाएको हुन सक्छ । तर, त्यसका लागि आवश्यक पूर्वाधारहरु उपलब्ध हुँदाहुँदै पनि योजनाबद्ध कार्यक्रमहरु नहुँदा बिर्तामोडले आफ्नो गौरव जोगाउन पाएको छैन ।

वि. सं. २०३६ सालको जनमत संग्रहताका बिर्तामोडमा जिल्लास्तरीय राजनीतिक दलका कार्यक्रमहरु केन्द्रीय भए । सदरमुकाम हुन चाहिने पूर्वाधार तथा सेवा प्रदायक अड्डाहरु नभए पनि दल तथा सरकारद्वारा आयोजित कार्यक्रमहरु सञ्चालन हुन थालेपछि यसको महत्व बढ्दै गयो । अव्यवस्थित रुपमै सबै जिल्लाका मानिसहरुको बसोबासको थलो बन्दै जाँदा हाल आएर यो झापाकै प्रदुषित शहरमध्येको प्रमुख हुन पुगेको छ । जसकाकारण पनि बिर्तामोड आज पर्यन्त चर्चा र चासोको शहरका रुपमा रहेको छ । दलीय स्र्थाका कारण भविष्य अनिश्चित भएको बिर्तामोडमा जल, वायु, जमिन र ध्वनि प्रदुषणको भार प्रत्येक वर्ष बढ्दै जाँदा यहाँका बासिन्दामा मात्र होइन सीमाविहीन भएर भूगोल बाहिर पोखिन थालेको छ ।

बिर्तामोडको अव्यवस्था बढाउने पछिल्लो समय यहाँको मुख्य सडकको दूरावस्था बनिएको छ । जिल्ला सदरमुकाम जोड्ने पुरानो र मुख्य सडक जीर्ण भएको पाँच वर्षभन्दा बढी भयो । यसबीचमा कति सरकार परिवर्तन भए कति ज्ञापनपत्र बुझाइए, कति पटक आन्दोलन गरिए त्यसको हिसाब छैन । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसम्मलाई सडक तत्काल बनाउन माग गर्दै ज्ञापन बुझाए पीडितहरुले । तर, स्थानीयबासीले भोग्दै आएको पीडा कम हुनुको साटो बढ्दै गयो । यसबीच बिर्तामोडदेखि बिर्ताबजार हुँदै आँखा अस्पतालसम्म सडकका दुबैतर्फ व्यवसाय गर्नेहरुको आर्थिक कारोबार ठप्प भयो । उनीहरु समेत पटक–पटक स्थानीय सरकार समक्ष गुनासो लिएर पुगे तर समस्या ज्यूँका त्यूँ !

ठेकेदार कम्पनी आशिष प्रेरा जेभीले अठार महिनामा चार किलोमिटर सडक निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । सम्झौता अनुसार अबको एक महिनाभित्र निर्माण सम्पन्न गर्नुपर्नेछ । तर, कामको तीस प्रतिशत पनि सम्पन्न भएको छैन । स्थानीय सरकार, जिल्ला प्रशासन सडक डिभिजन लगायतका स्थानीयबासीको पहुँच र सरोकारका निकायहरु मौन बसेका छन् । जनताले अनुभूत गर्ने प्रगति हुन नसकेपछि आजित भएर बिर्तामोड उद्योग वाणिज्य संघको अगुवाईमा व्यवसायीहरु समेत आन्दोलित भएका छन् । हिलो, खाल्डो, जीर्ण र क्षतविक्षत सडक भएर आवागमन गर्नुपर्ने बाध्यताले स्थानीयबासी मात्र हैरान छैनन्, यात्रु र व्यवसायीले समेत पीडा, सास्ती र क्षति व्यहोर्नु परेको छ ।

धुलो, हिलो, धुँवाजन्य प्रदुषण र भग्न सडकले गम्भीर समस्यामा परेका उनीहरुले सडक निर्माणको काम तत्काली सुचारु गर्न माग गरेका छन् । हुन त यस्तो शालीनताले माग पूरा हुँदैनन् भन्ने सबैले बुझेका छन् पनि तर स्थानीय सरकारले जिम्मेवारी व्यक्ति स्वयम् संस्थाहरुले अनुरोध ठेकेदार कम्पनीसम्म पु¥याएर काम सुचारु गराउने चासो देखाउन जरुरी छ । अन्यथा स्थानीय सरकारले स्थानीयबासीको अभिभावकत्व फिर्ता गराउने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here