नेपालको सुराकी गरे कारबाही

0
462

झापा ।

नेपालको सुरक्षा नीति तथा विभिन्न विषयमा सुराकी गर्नेलाई सरकारले निस्तेज पार्ने भएको छ । नेपालको राष्ट्र र राष्ट्रियता विरुद्धमा गुप्तचरी गतिविधि गर्ने विदेशीलाई निगरानी र निस्तेज गरिने भएको हो ।

पर्यटक, कूटनीतिक कर्मचारी वा अन्य आवरणमा आएर नेपाल विरुद्ध गुप्तचरी गरेको थाहा पाउँदा पाउँदै पनि विगतमा छुट दिइने परम्परालाई अन्त्य गर्दै अब कानुनी रूपमा नै त्यस्ता गतिविधि गर्ने विदेशीलाई निगरानी र उनीहरूको क्रियाकलाप निस्तेज गरिने भएको हो । राष्ट्रविरुद्ध हुने यस्ता गतिविधि निगरानी र निस्तेज गर्नका लागि राष्ट्रिय अनुसन्धान विभाग मातहत विशिष्टिकृत कार्यालय पनि स्थापना गरिने भएको छ ।

यस्तो कार्यालय ’प्रतिगुप्तचरी सम्बन्धी कार्य गर्न’का लागि स्थापना गर्न लागिएको हो । प्रधानमन्त्री कार्यालयले तयार पारेको ’नेपाल विशेष सेवाको गठन र संचालन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’मा नेपाल विरुद्धमा नेपालमै आएर गुप्तचरी गतिविधि गर्ने विदेशीलाई निगरानी र निस्तेज गर्ने व्यवस्था रहेको छ ।

विधेयकको दफा ९ मा ’प्रतिगुप्चतरी गतिविधि सम्बन्धी व्यवस्था’ गरिएको छ । जसको उपदफा १ मा लेखिएको छ, ’विभागले राष्ट्रिय हित तथा सुरक्षाको विषयमा प्रतिगुप्तचरी सम्बन्धी काम कारबाही गर्दा आवश्यकताअनुसार रक्षात्मक, प्रतिरक्षात्मक र प्रतिकारात्मक कार्य संचालन गर्न सक्नेछ ।’

सोही दफाको उपदफा २ मा ’विभागले कुनै संघसंस्था, समूह वा व्यक्तिले नेपाल राज्यविरुद्ध वा राष्ट्रिय सुरक्षा, सरोकार वा चासोसँग सम्बन्धित विषयमा जासुसी गतिविधि गरे, गराएको वा गराउने सम्भावना रहेको विषयमा सूचना संकलन गर्न वा गराउन सक्ने’ व्यवस्था राखिएको छ ।

यसैबीच विधेयकमा राज्यको विरुद्धमा गतिविधि गर्ने व्यक्ति वा संस्थाको बारेमा सूचना संकलन गर्ने अधिकार पनि विभागलाई दिएको छ । जसमा फोन र इन्टरनेट सेवा प्रयोग गरेर त्यस्ता गतिविधि भएको माध्यमको सेवा प्रदायकबाट सबै विवरण माग गर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here