बिर्तामोड ।
झापाको बिर्तामोडमा आयोजित कार्यक्रमका सहभागि अलैची व्यवसायीहरुले भारत र भुटानको सिमाना आसपासमा पाइने ‘तोदे’ जातको अलैंची खेती नेपालको माटोका लागि उपयुक्त भएको बताएका छन् ।
नेपाल अलैंची व्यवसायी महासंघको आयोजना , काभ्रेको पनौती नगरपालिकाको आर्थिक सहयोगमा महासंघका प्रतिनिधी , पनौती नगरपालिका जनप्रतिनिधी र महासंघ काभ्रेका प्रतिनिधिसहितको टोलीले तोदे जातको अलैचीको अध्ययन अवलोकन भ्रमण गरी यस्तो निष्कर्ष निकालेको हो ।
तोदे जातको अैलैची नेपालको वातावरणमा उपयुक्त हुने, नेपालमा उत्पादन हुँदै आएको भन्दा केही ठूलो र आकर्षक देखिने, मूल्यवढि हुने, बोक्रा पातलो, उत्पादन वढि हुने र विश्व बजारमा माग उच्च भएकाले नेपालमा यसको खेती विस्तार गर्नुपर्ने नेपाल अलैंची व्यवसायी महासंघका महासचिव सुवास भट्टराईले बताए ।
उनले तोदे जातको अलैंची उत्पादनका लागि इलामको मंगलबारे र काभ्रेको पनौती नगरपालिकाकोे हावापानी उपयुक्त रहेकाले यी दुई जिल्लामा यसको खेती विस्तार गर्ने नेपाल अलैंची व्यवसायी महासंघले योजना बनाएको बताए ।
भुटान र भारतको सिमाना ‘तोदे’भन्ने ठाउँमा पाइने भएकाले उक्त अलैंचीको नाम ‘तोदे’ भनिए पनि त्यसको खेती नेपालमा गर्न थालेपछि नेपाल अलैंची व्यवसायी महासंघले छुट्टै पहिचान दिने उनले बताए ।
नेपाल अलैंची व्यवसायी महासंघका महासचिव भट्टराईको अध्यक्षतामा बिर्तामोडमा भएको कार्यक्रममा महासंघका पूर्व अध्यक्ष निर्मल भट्टराईले भारतको आसाम, सिक्किम, अरुणाचल र भुटानमा वृद्धि भइरहेको अलैंची खेतीका कारण नेपाली उत्पादनले चुनौतिको सामना व्यहोर्नु परेको बताए ।
पछिल्लो समय नेपालमा उत्पादन हुँदै आएको अलैंची कृषक र व्यवसायीको लापरवाहीका कारण नेपालको अलैंची गुणस्तरहिन बन्दै गएकाले विश्वबजारमा ठूलो चुनौती थपिएको बताउँदै उनले अलैंची कृषक र व्यवसायीले यसप्रति ध्यान दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा पनौती नगरपालिका वडा नं. १ का अध्यक्ष गुणनाथ सापकोटाले तोदे जातको अलैंचीको विरुवा उत्पादनका लागि पनौती नगरपालिकाले १५ लाख रुपैयाँ विनियोजन गरेको बताए ।
भ्रमण टोलीका प्रमुख समेत रहेका अध्यक्ष सापकोटाले ३२ महिनामा २० लाख तोदे जातको अलैंचीको विरुवा उत्पादन गरिने र उत्पादन गरिएको विरुवा कृषकलाई निःशुल्क वितरण गरिने बताए ।
त्यस्तै पनौती नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत हरिप्रसाद चापागाई, अलैंची विकास केन्द्रका वरिष्ठ अधिकृत पदम अधिकारी, महासंघका काभ्रे शाखाका अध्यक्ष राजकुमार साकोटालगायतले पनौती नगरपालिकालाई अलैचीको पकेट क्षेत्र बनाउन लागीपर्ने बताएका थिए ।
भ्रमण टोलीमा नेपाल अलैंची व्यवसायी महासंघका कार्यकारी अधिकृत अनिल ढुङ्गाना ,साधारण सदस्य प्रभात अग्रवाल , पनौती नगरपालिका वडा नं. १ का अध्यक्ष गुणनाथ सापकोटा, वडा नं २ का अध्यक्ष पुरुषोत्तम अधिकारी, वडा नं ९ का अध्यक्ष सहकुलप्रसाद हुमागाईँ, अलैंची विकास केन्द्रका वरिष्ठ अधिकृत पदम अधिकारी, महासंघ काभ्रे शाखाका अध्यक्ष राजकुमार साकोटा ,उपाध्यक्ष उपेन्द्र तिमल्सिना, सदस्यहरु सोमप्रसाद हुमागाईँ, लक्ष्मण दाहाल ,कृक्ष्णबहादुर आचार्य लगायत रहेका थिए ।
कार्यक्रमको सञ्चालन महासंघका कार्यकारी अधिकृत अनिल ढुङ्गानाले गरेका थिए ।