जनतासँग जनप्रतिनिधि कृषि कार्यक्रम प्रभावकारी

0
563

नरेन्द्र ढकाल / झापा।

गोल्डेन भ्यालीको रुपमा आफ्नो छुट्टै पहिचान बनाउन सफल इलामको रोङ गाउँपालिका अन्तर्गत वडा नम्बर–६ले कृषि कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेर विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको छ ।

जनतासँग जनप्रतिनिधि कृषि कार्यक्रम नै लागू गरेर वडाको कृषि कार्यक्रमलाई अघि बढाइएको वडाध्यक्ष मणिकुमार स्याङ्बो सुवासले जानकारी दिए । उनले चालू आर्थिक वर्षमा मात्रै कृषिमा साढे १७ लाख रुपैयाँ बजेट बिनियोजन गरेको बताए । साविक जिर्मले गाविस हाल रोङ–६ भएको छ ।

११ सय एक घरधुरी रहेको रोङ–६, ३८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । २०७४ असार २४ गतेबाट स्थानीय जनप्रतिनिधिको रुपमा पदभार ग्रहण गरेका सुवासले दुई वर्ष पूर्वाधारलाई प्राथमिकता दिएको र यो आर्थिक वर्षबाट कृषिलाई पहिलो प्राथमिकतामा राखेको जानकारी दिए । उनले भने– दुई वर्षमा वडाभित्रका विभिन्न सडकहरुको स्तरोन्नति गरियो, अब त्यसको संरक्षण गर्दै कृषिलाई पहिलो प्राथमिकतामा राखेर काम अघि बढाएका छौं ।

आफ्नो वडाका ९९ प्रतिशत जनता कृषिमा आवद्ध रहेको भन्दै वडाध्यक्ष सुवासले कृषिमा जिल्लाकै पहिलो स्थानमा आउने गरेर विभिन्न योजनालाई अघि बढाएको उल्लेख गरे । उनले कृषिलाई प्राथमिकता दिँदै जिर्मले कृषि साना सहकारी संस्थाको गठन गर्दै गाउँ–गाउँमा समूह निर्माण गरेर सहकारीमार्फत कृषिका हरेक कार्यक्रम किसानसम्म पु¥याउने बताए ।

वडाका सबै नागरिकलाई सहकारीको शेयर सदस्य बन्न आव्हान गर्दै उनले गाँउको लगानी गाउँ मै गरिने भएकाले विदेशमा रहेका आफ्ना वडाबासीलाई शेयरमा लगानी गर्न आग्रह गरे । सहकारीले कृषिका सबै कार्यक्रमलाई समूहमार्फत अघि बढाउने र त्यसको अनुगमन स्थानीय जनप्रतिनिधिले गर्ने बताइएको छ ।

किसानको वार्षिक आयस्रोतमा वृद्धि गर्ने हिसाबले सबै किसानलाई कृषि क्षेत्रमा आवद्ध हँुदै स्वरोगार बन्न उनले आग्रह समेत गरेका छन् । सहकारी हाल साना किसान बैंकको सहयोग र महारानीझोडा साना किसान कृषि सहकारीको अनुशरणमा अघि बढेको र चार सय शेयर सदस्य पुगेपछि गाउँपालिकालाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको वडाध्यक्ष सुवासको भनाइ छ ।

उनले बाहिरबाट गएका वित्तीय संस्थाले अस्वस्थ प्रतिस्पर्धा गर्दै ऋण लगानी गरिरहेकाले वडाबासीमा ऋणकै कारण आत्महत्या, मानसिक समस्या, पारिवारिक कलह, झैं–झगडा लगायतका समस्या देखिएपछि आफूहरुले गाउँका जनतालाई आत्मनिर्भर बनाउन सहकारीको स्थापना गरेर अघि बढेको बताए । उनले अस्वस्थ्य रुपमा लगानी गर्ने वित्तीय संस्थालाई बिस्थापित गर्ने लक्ष्य राखेको समेत बताए ।

कृषिमा किन लगानी ?

वडाध्यक्ष सुवासले कृषिबाटै आफ्नो वडालाई समृद्ध बनाउन सकिने उल्लेख गरे । गोल्डेन भ्यालीको रुपमा आफ्नो पहिचान बनाएको तत्कालीन जिर्मलेमा सुन्तलाको प्रशस्त सम्भावना रहेकोले माटोको उर्वराशक्तिलाई अझ बढाउँदै सुन्तला उत्पादन वृद्धि गर्नका लागि सहकारीमार्फत पहल थालिएको उनले बताए । उनले सलकपुरको सुन्तलाले आफ्नो पहिचान स्थापना गरेको दाबी समेत गरे ।

त्यस्तै जिल्लामै सबैभन्दा धेरै मह उत्पादन गर्ने वडाको रुपमा स्थापित गर्ने उद्देश्यले सेरेना प्रजातिको माहुरीलाई प्राथमिकतामा राखेको बताइएको छ । हाल एक सय ६५ घरधुरीमा माहुरी पालन भइरहेको भन्दै शुद्ध र अग्र्यानिक मह आफ्नो वडामा पाइने वडाध्यक्ष सुवालले जानकारी दिए । जंगली प्रजातिको माहुरीलाई घरमा ल्याएर पालिएकाले पनि अन्य जातको माहुरीले उत्पादन गरेको महभन्दा सेरेना जातको माहुरीले उत्पादन गरेको मह गुणस्तरीय हुने बताइएको छ । हाल वार्षिक रुपमा २५ सय केजी मह उत्पादन भइरहेको र पाँच वर्षभित्रमा १० हजार केजी मह उत्पादन गर्ने लक्ष्य किसानले राखेको बताइएको छ । महको बजारीकरणमा भने कुनै समस्या नरहेको वडाध्यक्षले जानकारी दिए ।

सुन्तला र महमा मात्रै नभएर फलफूलतर्फ एबोकाडो उत्पादनमा पनि आफ्नो वडा जिल्लाकै पहिलो भएको वडाध्यक्ष सुवासले बताए । उनका अनुसार हाल वाषिर्क तीन सय केजी एबोकाडो उत्पादन भएको र अझैं वृद्धि गर्ने उद्देश्यका साथ दुई सय विरुवा वितरण गरिने तथा एबोकाडोबाट बन्ने परिकारलाई समेत आफैं बनाउने लक्ष्य राखिएको छ । त्यस्तै कफी उत्पादनलाई पनि आफूहरुले प्राथमिकतामा राखेको सुवासको भनाइ छ । विश्वमै नेपालको कफी उत्कृष्ट बन्न सफल भएको भन्दै उनले १० हजार विरुवा वितरण गरेर कफी उत्पादनमा समेत किसानलाई प्रोत्साहित गरेको बताए ।

त्यस्तै प्रमुख नगदेबालीको रुपमा रहेको अलैंची उत्पादन पनि आफ्नै वडाबाट शुरु भएको भन्दै वडाध्यक्ष सुवासले जिर्मले जातको अलैंचीको विरुवा किन्न पश्चिमका विभिन्न जिल्लाबाट समेत किसानहरु आउन थालेको जानकारी दिए । वार्षिक ७० हजार किलो अलैंची आफ्नो वडाबाट उत्पादन भएर निर्यात हुने गरेको र उत्पादनलाई अझ बढाउन विभिन्न योजनाहरु ल्याइने उनको भनाइ छ । उनले जनतासँंग जनप्रतिनिधि कृषि कार्यक्रमलाई सफल बनाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीको समृद्धिको यात्रालाई थप टेवा पु¥याउने बताए ।

पर्यटनसंगै लोकल कुखुरा

तत्कालीन जिर्मले गाविसको सलकपुर लगायतका विभिन्न स्थाानमा आन्तरिक तथा बाह्य पर्यटक आउने भएकाले आफ्नो वडाको विकासका लागि पर्यटनसँगै कृषि कार्यक्रमलाई अघि बढाइएको वडाध्यक्ष सुवाले बताए ।

उनका अनुसार ५० भन्दाबढी होमस्टे हाल सञ्चालनमा रहेको र हरेक घरलाई लोकल जातको कुखुरा पालन गर्न आग्रह गर्दै आम्दानीमा सहयोग गरिएको छ । यो वर्ष आफ्नो वडाबाट उत्पादन भएको लोकल कुखुरामै आत्मनिर्भर भएको र मासुका लागि अन्यत्रबाट आयात गर्नु नपरेको उनले जानकारी दिए । आगामी वर्षबाट अन्य क्षेत्रमा समेत लोकल कुखुरा निर्यात गर्ने लक्ष्य राखेको बताइएको छ ।

उनले लोकल कुखुराको मासु खानकै लागि पर्यटक आउने भएकाले आर्थिक वृद्धिमा टेवा पुग्ने बताए । किसानको आय स्रोतमा वृद्धि गर्दै जनतासँग जनप्रतिनिधि कृषि कार्यक्रम सञ्चालन गरेर सांगठनिक पूर्वाधार निर्माणमा स्थानीय तह लागेको वडाध्यक्ष सुवासले जानकारी दिए ।

उनले अघिल्लो दुई आर्थिक वर्षमा पूर्वाधार विकासमा जोड दिएको र अब कृषिलाई पहिलो प्राथमिकतामा राखेको बताए । कृषि क्रान्तिबाट मुलुकलाई आर्थिक रुपमा समृद्ध बनाउन सकिने उद्देश्यका साथ आफ्नो वडाका विभिन्न स्थानमा किसानकै सहभागितामा योजना निर्माण तथा कार्यक्रमहरु सञ्चालन गरिरहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here