भद्रपुर।
झापाको विभिन्न नाकाबाट भारत हुँदै बङ्गलादेश तस्करी हुन लागेको १०३ वटा गाई गोरुसहित पाँच वटा ट्रक भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ ।
प्रहरी कार्यालय झापाले जिल्लाबाट हुने गाईगोरु तस्करी नियन्त्रणमा आक्रामक देखिएको अवस्थामा भारतीय एसएसपी र प्रहरी पनि नेपालबाट भारत जाने गाईगोरु नियन्त्रणमा लागीपरेका छन् । भारतीय सुरक्षाकर्मीले एक साताको अन्तरालमा पाँच वटा ट्रकसहित १०३ वटा गाईगोरु नियन्त्रणमा लिएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।
झापा प्रहरीले गत मंगलवार दुई वटा फुलबडी ट्रकसहित ५० वटा गोरु नियन्त्रणमा लिएको दुई दिन पछि भारतीय एसएसपी ४१ बटालियन टोलीले ५० वटा गोरुसहित दुईवटा फुलबडी ट्रक नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएको ५० वटा गोरुमध्ये चारवटा मरिसकेको एसएसबीले जनाएको छ ।
झापाबाट विहार हुँदै बंगलादेशतर्फ गइरहेको एस १७ बी १३५१ र एस १७ बी ६७९० नम्बरको फुलबडी ट्रकमा लोड गरिएको गोरु पश्चिम बङ्गालको एनएच ३१ हाइवेस्थित घोषपुकुरबाट भारतीय एसएसबीले नियन्त्रणमा लिएको हो ।
घोषपुकुरबाट फूलबारी नाका हुँदै बंगालादेशतर्फ ट्रकमा गोरु गइरहेको विशेष सूचनाको आधार एसएसबीले ट्रकसहित गोरु नियन्त्रणमा लिएको हो । साथै एसएसबीले गोरु तस्करी गरेको आरोपमा सैफअली खान र मोहम्मद कादिरलाई समेत पक्राउ गरेको थियो । एसएसबीले ४६ वटा गोरुलाई भारतीय ९ लाख २० हजार र दुई वटा ट्रकलाई १२ लाख मूल्य तोकेर भन्सार बुझाइसकेको जनाइएको छ । त्यस्तै दुई दिन अघि पनि भारतीय पुलिसले ५७ वटा गाईगोरु लोड गरिएको तीन वटा ट्रक नियन्त्रणमा लिएको छ ।
झापाबाट तस्करीको माध्यमबाट भारत पुगेका सो गाईगोरु विहारबाट कुचविहारहुँदै बंगलादेशतर्फ लगिरहेको अवस्थामा जलपाइगुडी गौशालमोड कोतवाली थाना पुलिसले तीन वटा ट्रकमा लोड गरिएको गाईगोरु बरामद गरेको थियो । साथै पुलिसले गोरु तस्करी गरेको आरोपमा तीन जना ट्रक चालकलाई समेत पक्राउ गरेको छ । पक्राउ पर्नेमा चालकहरू अबु तालेब, अनारुल हक र तफाजुल हक रहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।
बरामद गरिएको गाईगोरुसहित ट्रक र ट्रकका चालकलाई आवश्यक कारबाहीका लागि भन्सार बुझाइसकेको छ । भारतको उत्तरप्रदेश, हरियाणाबाट नेपाल भित्रिने गाईगोरु तराईको जिल्ला हुँदै झापा भएर भारत पुग्ने गरेको छ ।