कनकाई।
सुरुङ्गा जेसीजले तालिम सप्ताहका रुपमा शनिवारदेखि जेसीज सप्ताहको विधिवत् रुपमा उद्घाटन गरेको छ ।
नेतृत्व विकास साथै मनमस्तिष्कलाई कसरी स्थिर राख्ने भन्ने विषयमा संञ्चालन भएको सात दिवसीय तालिममा नेपाल जेसीजका प्रमुख प्रशिक्षक राजाबाबु शाहले सहजीकरण गरेका छन् ।
सुरुङ्गा जेसीजका अध्यक्ष कमल कट्टेलको सभापतित्व एवम् कनकाई नगर वडा नं. १ का वडाअध्यक्ष रोशनराज पोखरेलको प्रमुख आतिथ्य रहेको तालिमवाट सहभागीहरुले ज्ञान, सिप र व्यवहार परिवर्तन गर्ने तीनवटा सजिलो उपाय प्राप्त गर्न सक्ने नेपाल जेसीजका तालिम संयोजक एकराज गिरीले बताए । व्यवहारिक जीवनलाई सकारात्मक एवम् रचनात्मक बनाउन तालिम फलदायी बनेको सहभागीहरुले वताएका छन् ।
कनकाई नगरका पाँच वटा वडामा क्रमिक रुपले सञ्चालन हुने तालिम सप्ताहको पहिलो दिन वडा नं. १को विशेष सहयोगमा सुरुङ्गा जेसीजको सभा हलमा एक सयभन्दा बढी प्रशिक्षार्थीहरुको सहभागिता रहेको सुरुङ्गा जेसीजका वातावरण संयोजक रामप्रसाद निरौलाले जानकारी दिए ।
यसैगरी क्रमिक रुपले कनकाईको वडा नं.४, २, ५ र ३ मा तालिम सञ्चालन हुने बताइएको छ । तालिम सप्ताहको चारदिनसम्म नेपाल जेसीजका प्रमुख प्रशिक्षक शाहले र अरु ३ दिन अन्तर्राष्ट्रिय उत्प्रेरक बक्ता सनद भट्टले प्रशिक्षण दिने सुरुङ्गा जेसीजका अध्यक्ष कमल कट्टेलले बताए । जेसीज सप्ताह संयोजक अर्जुन वोहाराले स्वागत तथा तालिम संयोजक राजकुमार कट्टेलले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा सुरुङ्गा जेसीजकी उपाध्यक्ष चन्दा सिटौलाले आस्थावाचन गरेकी थिइन् ।
सुरुङ्गा जेसीजका महासचिव प्रविन तिम्सिनाले सञ्चालन गरेको कार्यक्रममा सुरुङ्गा जेसीजका पूर्वअध्यक्ष शिव कँडेल, जविन तिम्सिना सहभागीकातर्फवाट दीपेश रिमाल र आरजु कोइरालाले तालिम उपलव्धिमुूलक भएको भन्दै खुशी व्यक्त गरेका थिए ।