बिर्तामोड।
सेभेन स्टार सेक्युरिटी सर्भिस प्रालि बिर्तामोडको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
संस्थाको छैठौं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रम गरिएको सेभेन स्टार सेक्युरिटी सर्भिस प्रालि बिर्तामोडका प्रवन्ध निर्देशक विजय बस्नेतले बताए ।
नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ३५ जनाभन्दा बढीले रक्तदान गरेका थिए । कार्यक्रममा पत्रकारहरु गणेशमान मुखियाले २० पटक, रञ्जित प्रसाईंले १९ पटक रक्तदान गरेका थिए भने सेक्युरिटी सर्भिसमा कार्यरत् सेक्युरिटी गार्डले समेत सहभागिता जनाएका थिए ।
सेभेन स्टार सेक्युरिटी सर्भिस प्रालि बिर्तामोडका प्रबन्ध निर्देशक विजय बस्नेतको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका प्रमुख धुव्रकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका सञ्चालक मोहनविक्रम मल्लले स्वागत गरेका थिए ।
कार्यक्रममा बिर्तामोड नगरपालिकाका प्रमुख शिवाकोटी र नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाका सभापति सजेश शिवाकोटीले झापामा भइरहेको रगतको अभाव टार्न सेभेन स्टार सेक्युरिटी सर्भिस प्रालिले रक्तदान गरेकोमा संस्थाको प्रशंसा गरेका थिए ।
कार्यक्रममा नेपाल अलंैची व्यवसायी महासंघका महासचिव सुवास भट्टराई, पूर्व प्रहरी संगठनका १ नं. प्रदेश संयोजक बलबहादुर श्रेष्ठ, पूर्व प्रहरी संगठन ताप्लेजुङ अध्यक्ष बलराम भारती, बिर्तामोड वडा नं. ४ कि कार्यपालिका सदस्य कविता थापा लगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रममा सेभेन स्टार सेक्युरिटी प्रालिले काठमाडौं, झापा, पोखरा र वुटवलमा शाखा सञ्चालन रहेको प्रबन्ध निर्देशक विजय बस्नेतले बताए । संस्थाले पाँच सयभन्दा बढी सेक्युरिटी गार्ड उत्पादन गरेको उनले बताए । कार्यक्रमको सञ्चालन पत्रकार तुलसीप्रसाद निरौलाले गरेका थिए ।