अतिक्रमणको उपचार खोज

२४ कार्तिक २०७६, आईतवार मा प्रकाशित

सम्पादकीय

सीमा विवाद नेपालका लागि नसुल्झने समस्या भएको छ । राजा पृथ्वीनाराण शाहले बाइसे, चौबीसे लगायतका राज्यहरुलाई एउटै झण्डा र भूगोलभित्र राख्ने क्रममा निर्माण भएको विशाल नेपाल अंग्रेज–नेपाल युद्धपछि खुम्चियो भारतको सुगौलीमा भएको सन्धिले महाकाली र मेचीपारिका र मध्य तराईका बाँके, बर्दिया, कैलाली, कञ्चनपुर जस्ता उर्वर भूमि समेत नेपालबाट खोस्यो ।

जसको परिणाम पृथ्वीनारायण शाह, प्रतापसिंह शाह, बहादुर शाह र राजेन्द्रलक्ष्मी देवी शाहको नायकत्वमा संगठित बृहत र शक्तिशाली नेपालको स्वाधीन र स्वतन्त्र अस्तित्व विटुलियो । त्यसयता सन् १९४७ मा भारत छाडेर अंग्रेज फर्किएपछि बारम्बार नेपाली सीमा दुःखी रह्यो । ‘पूर्वमा टिष्टा पुगेथ्यौं, पश्चिममा किल्ला काँगडा’ भनेर कविले राष्ट्रियताको गायन गरेको नेपाल मेची–महाकालीमा पनि रहन नपाएर पटक–पटक विवादमा पर्नुपर्ने ‘होचोकै मुखमा घोचो’ को नियति त होइन ?

वर्तमान नेपालको भारतसँग जोडिएका तेइस जिल्ला विवादमा छन् । ताप्लेजुङदेखि दार्चुलासम्म पुग्दा साठी हजार हेक्टरभन्दा बढी नेपाली भू–भाग मिचिएको तथ्यांक छ । भूपरिवेष्टित भएका कारण स्तम्भ राखेर छुट्याइएको सीमा प्रत्येक दिन नेपालभित्र प्रवेश गर्ने गरेका छन् । भारतको यस्तो हेपाह र मिचाहा प्रवृत्तिलाई बुझेका तत्कालीन राजा महेन्द्रले सीमा क्षेत्रमा नेपालीलाई सुविधा दिएर बसाएका थिए । राज्यका तर्फबाट निःशुल्क जमिन उपलब्ध गराइएका कारण नयाँ आवादी गर्नेहरुले सम्पूर्ण क्षमता लगाएका कारण सीमा अतिक्रमणदेखि परम्परादेखि भइरहेको चोरी, डकैटी र आपराधिक गतिविधिहरु नियन्त्रित थिए । राजाहरुको त्यही र त्यस्तै राष्ट्रियताको पक्षको अग्रसरताले भारत सरकार जहिल्यै राजसंस्थाको विरुद्ध देखियो । परिणाम हो अथवा संयोग दरवार हत्याकाण्डले राजसंस्थाको समूल नष्ट भयो र त्यसको सूत्राधार भनेर त्यतै देखाइने गरिन्छ ।

सुगौली सन्धिले निर्धारण गरेको सीमा र नक्सा नै नेपालको वास्तविक भैगोल हो । जसले कालापानी नदीको मुहान पूर्व नेपाल भनिएको इतिहासकारहरुले बताएका छन् । यस आधारमा लिम्पियाधुरा नेपाली भू–भाग हो जो सामरिक दृष्टिले अत्यन्त महत्वको छ । त्यही महत्वका आधारमा भारतले लिम्पियाधुरा, लिपुलेक लगायतको पश्चिमी सीमाना अतिक्रमण गरेको छ । तर, नेपाली शासकहरुको अक्षमता, कुटनीतिक असफलता र दलीय स्वार्थका कारण नेपाली भू–भाग मिचिएको विवाद नेपालीका लागि जाती नहुने रोग बन्न पुगेको छ । पूर्वी हिमाली जिल्ला ताप्लेजुङदेखि झापा हुँदै दक्षिणी र सुदूर पश्चिमका सीमावर्ती क्षेत्रका बासिन्दा सिरानीमा जग्गाको लालपुर्जा बोकेर बसको छन् । जग्गाको उपयोग गर्ने होइन हेर्न समेत ‘साइत’ पर्खिनुपर्ने बाध्यतामा रहेका नेपाली क्षमतावान नेतृत्व नपाएर असहाय र दीनदुःखी बन्न बाध्य छन् ।

समय–समयमा विगतदेखि नै सीमा अतिक्रमणको विषयले राष्ट्रिय चासो र चर्चा पाएको हो । यसका लागि युवा नेपाली विद्यार्थीको भूमिका महत्वपूर्ण छ । उनीहरुकै अगुवाईमा ठूल्ठूला प्रदर्शन समेत भएका छन्, तर समस्या जहाँको तहीँ छ । वरिष्ट पत्रकार भैरव रिसालले आफू स्वयम्ले अहिलेको विवादित क्षेत्रमा झण्डै सत्तरी वर्षअघि नै जनगणना गरेको र त्यहाँ नेपालीको बसोबास रहेको बताएका छन् । सीमाविद्हरुले समेत लिम्पियाधुरा लगायतका क्षेत्र नेपाल कै रहेको यथेष्ठ प्रमाण रहेको बताइरहँदा पनि सीमा विवाद नटुङ्गिनुका पछि हाम्रै नेतृत्वको क्षमता जिम्मेवार रहेको टिप्पणी गरिन्छ । विवाद चुलिँदा बैठक डाक्ने, छानविन टोली गठन गर्ने अनि ‘तै चुप मै चुप’ रहने परिपाटीले दीर्घ समाधान हुँदैन । यसतर्फ सरकार सचेत होस् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here