भद्रपुर ।
नेपाली मुस्लिम समुदायको धर्मगुरु पैगम्बर हजरत मोहम्मदको १४९४ औं जन्म जयन्ती झापामा विविध कार्यक्रम गरी मनाएका छन् ।
झापा विभिन्न स्थानीय तहमा बसोबास गर्दै आइरहेका मुस्लिम समुदायका इस्लाम धर्मालम्बीहरुले हर्षोल्लासका साथ पैगम्बर हजरत मोहम्मद जयन्ती मनाएका हुन् ।
भद्रपुर ५ स्थित जामा मस्जिद र मदरसा अञ्जुमन इस्लामियाको संयुक्त आयोजनामा धर्मगुरु पैगम्बर हजरत मोहम्मदको जन्म जयन्ती भव्य रूपमा मनाएका छन् ।
भद्रपुर नगरपालिका अगाडि रहेको मस्जिद परिसरबाट नेपालको राष्ट्रिय झण्डा सहित निकालिएको र्याली भद्रपुर बजार, बसपार्क, सहिद चोक हुँदै जनता चोकबाट पुनः मस्जिदमा गएर कोणसभा परिणत भएको थियो ।
जामा मस्जिदका अध्यक्ष अकबर अलि अध्यक्षता सम्पन्न कोणसभालाई सम्बोधन गर्दै भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले समाजवादका स्थापनाका लागि मुस्लिम समुदायका धर्मगुरु पैगम्बर हजरत मोहम्मदको ठुलो योगदान रहेको उल्लेख गरे । उनले मोहम्मद जयन्तीको अवसरमा नगर क्षेत्रका सम्पूर्ण मुस्लिम समुदायले शुभकामना समेत दिएका थिए ।
कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्रीय सभापति गणेश पोखरेल, राप्रपाका नगर अध्यक्ष राधा कार्की मदरसाका अध्यक्ष तालिम शेख लगायतको सहभागिता रहेको थियो । यता र्यालीमा मुस्लिम समुदायका बालबालिका, युवायुवती, अगुवा व्यक्तिहरू, नगर क्षेत्रमा मदरसा, मस्जिदमा आबद्ध व्यक्तिहरूको उपस्थिति उल्लेखनिय सहभागिता रहेको शाहिद हुसेनले जानकारी दिए ।
कचनकवलमा सार्वजनिक बिदा
झापामै मुस्लिम समुदायको बाक्लो बसोबास रहेको कचनकवल गाउँपालिकामा आइतबार सार्वजनिक बिदा दिइएको छ । गाउँ कार्यपालिकाको २२ गतेको निर्णय अनुसार धर्मगुरु पैगम्बर हजरत मोहम्मदको जन्म जयन्तीको अवसरमा सार्वजनिक बिदा दिइएको अध्यक्ष अञ्जार आलमले जानकारी दिए ।
गाउँपालिकामा आज सम्पूर्ण सरकारी कामकाज र विद्यालय बन्द रहेको छ । गाउँपालिकाका रहेका मस्जिदहरूले पनि धर्मगुरु पैगम्बर हजरत मोहम्मदको जन्म जयन्ती हर्सोल्लासका साथ मनाएको बताइएको छ ।