कनकाईका युवालाई स्वरोजगार रकम प्रदान

0
1261

सुरुङ्गा,

झापाको कनकाई नगरपालिकाले आफ्नै स्रोतबाट युवालाई स्वरोजगार बनाउन लगानी गर्न शुरु गरेको छ ।

नगरपालिकाले स्वरोजगार कार्यक्रम अनुसार नगर क्षेत्रका ३२ जना युवालाई विभिन्न रोजगारीको लागि प्रतिव्यक्ति एक लाखका दरले ३२ लाख रुपैयाँ प्रदान गरेको हो । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो (मौसम), झापा क्षेत्र नं. ४का प्रदेशसभा सदस्य हिराकुमार थापा, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले सो रकम हस्तान्तरण गरेका थिए ।

रकम हस्तान्तरण गर्दै मन्त्री आङ्बोले नगरपालिकाबाट युवालाई स्वरोजगार बन्नका लागि देशमै पहिलोपटक स्वरोजगार कोष बनाएर युवालाई उद्यमशील बन्न रकम प्रदान गरेको बताए ।

आङ्बोले स्थानीय पालिकाहरुले ठूल्ठूला सडक, बिजुलीका आफ्नो स्रोतले धान्नै नसक्ने योजना बनाउनुभन्दा स्रोत र साधनले भ्याउने र संविधानको क्षेत्राधिकार पर्ने काम गर्न सुझाए । कनकाई नगरपालिकाका प्रमुख पोखरेलले अघिल्लो बर्ष युवा स्वरोजगारका लागि २२ लाख ५० हजार रुपैयाँ २० जनालाई कृषि प्रयोजनका लागि प्रदान गरिएकोमा यस वर्ष ३२ जनालाई अन्य उद्यम गर्नका लागि प्रतिव्यक्ति एक लाखका दरले सो रकम प्रदान गरिएको जानकारी दिए । साथै उनले सो स्वरोजगारको रकम अब चाँडै एक करोड रुपैँया बनाइने समेत बताए ।

कार्यक्रममा प्रदेशसभा सदस्य हिराकुमार थापाले युवाले पाएको रकमको सदुपयोग गर्न सुझाव दिए । सो कार्यक्रममा यसअघि स्वरोजगारको रकम लिएर प्रगति गर्ने युवाहरु सुरेश गौतम, मीना पाठक सिटौलाले आफ्ना सफलताका कथा सुनाउनका साथै आफ्ना उत्पादन अतिथिलाई प्रदान गरेका थिए ।

युवा स्वरोजगार समितिका अध्यक्ष चुवालाल राजवंशीको अध्यक्षता, सदस्य युवराज चम्लागाँईको सञ्चालनमा भएको कार्यक्रममा कनकाई नगरपालिकाकी उपप्रमुख मञ्जु प्रसाईले स्वागत मन्तव्य राखेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here