सुरुङ्गा।
मुलुकमा केही गर्न सकिँदैन र रोजगार छैन भन्दै दिनहुँ सयौं युवा विदेशिने क्रम जारी छ । तर, राज्यस्तरबाट मात्र रोजगारको आशा गर्नुभन्दा स्वरोजगार सृजना गरे युवाशक्तिको पलायनलाई केही मात्रामा रोक्न सकिन्छ ।
त्यस्तै उदाहरण झापाका एक युवाले दिएका छन् । झापा गाउँपालिका–३ कामाटोलीका युवा चन्द्रप्रसाद बस्नेतले दुई वर्ष इजरायलमा कृषि तालिम लिई आफ्नै गाउँमा व्यावसायिक केरा खेती शुरु गरेका छन् । साना किसान कृषि सहकारीको माध्यमबाट एक वर्ष कृषि तालिम लिएर फर्केपछि बस्नेतले आफ्नै गाउँमा एग्री सेन्टर झापाको व्यावसायिक फर्म दर्ता गरी व्यावसायिक केरा खेती शुरु गरेका हुन् ।
बस्नेतले झापा गाउँपालिकामा हाल २० बिगाह जमिन भाडामा लिएर सो उन्नत जातको केरा खेती शुरु गरेका छन् । यो खेतीलाई अर्को वर्षबाट ५० बिगाह बनाउने समेत बस्नेतले बताए । केराको व्यावसायिक उत्पादन गरी केराबाट अन्य विभिन्न परिकार र वाइन समेतको उत्पादन गरी तेस्रो मुलुकमा समेत निर्यात गर्ने योजना रहेको बस्नेतले बताए ।
आफूले इजरायल जानु अघिसम्म केरा भोक लाग्दा खाने र पूजा गर्दा चढाउने मात्रै बुझेकोमा तालिमपछि केराका सयांै गुण र फाइदाका बारेमा जानकारी पाएकोले यसै खेतीबाट भविष्य बनाउने योजनासहित केरा खेतीमा होमिएको बताए । बस्नेतले केराको फल मात्रै नभएर बुङ्गोको अचार, पात र थामको विभिन्न थाल टपरी समेत बनाउने बताए ।
केराको बेर्ना रोपेको वर्षदिनदेखि उत्पादन शुरु हुने र प्रतिविगाह चार लाख रुपैयाँसम्म आम्दानी लिन सकिने बस्नेतले जानकारी दिए । एक औपचारिक कार्यक्रमको आयोजना गरी केराखेतीको शुरुवात गरिएको थियो ।
झापा क्षेत्र नं. ४ का प्रदेश सभा सदस्य झलकसिंह दर्लामी (सन्देश), झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाह, उपाध्यक्ष कुन्तीदेवी बुढाथोकी, संविधानसभा सदस्य पूजा खनाल, कृषि ज्ञानकेन्द्र झापाका प्रमुख निलकमल सिंह, सानाकिसान सामुदायिक संस्थाका प्रमुख सुवास गौतम, नेकपाका झापा गाउँपालिका अध्यक्ष रुद्र बजगाई, मझेरी कृषि फर्मका प्रमुख गोपाल प्रसाई, नेपाल पत्रकार महासंघ झापाका सदस्य लीलाराज झापाली लगायतले केराको बेर्ना रोपी केरा खेतीको विधिवत शुरुवात गरेका थिए ।