ठूलो मान्छे बन्नु है !

0
2601

दिपेन्द्र राउत,

बाबु राम्रोसँग पढ्नु ! पछि ठूलो मान्छे बन्नु पर्छ ! ए , आजभोलि त ठूलो मान्छे होइन असल मान्छे पो, बन्नु ! भन्न थालिएको छ । बाबु ठूलो भएर के बन्ने ? आदि–इत्यादि शब्दहरु बाल्यकालमा बालबालिकाहरुलाई धेरै नै सोध्ने गरिन्छ । यस्ता प्रश्नले बाल्यकालबाट नै ती कलिला मानसपटलमा भविष्यका लक्ष्यहरुको बिजारोपण भएको हुन्छ । डाक्टर बन्ने ? नर्स बन्ने ? इञ्जिनियर बन्ने ? पाइलट बन्ने ? कलाकार बन्ने ? व्यापारी बन्ने ? यिनै शब्दहरु प्रश्नमा दोहोरिने गर्दछन् । तर, राजनीतिज्ञ बन्ने भनेर कसैले सोध्दैनन् ।

मानिसले जीवनको उद्देश्य बाल्यकालबाट लिएको हुन्छ भन्थे, तर मलाई लाग्दैन । समय परिस्थितिको कारणले मानिसले लक्ष्य निर्धारण गरेका हुन्छन् । नेपालका धनी मानिस उपेन्द्र महतोको टेलिभिजन अन्तरवार्तामा हेरेको थिएँ । उहाँलाई रसियामा टेलिभिजन अन्तरवार्तामा नेपालका मन्त्रीहरु बहुप्रतिभाशाली हुने रहेछन् कि तिमी त्यस्तो क्षमतावान मन्त्रीहरु भएको देशको जनता हो जहाँ एउटै मान्छे शिक्षामन्त्री हुन्छ, अर्थमन्त्री हुन्छ, स्वास्थ्य मन्त्री हुन्छ । त्यो क्षमता तिम्रो देश नेपालका मान्छेसँग छ होइन ? भनी सोध्दा, मेरो कुनै जवाफ थिएन भनेर नेपालको टेलिभिजनमा सुनाउँदै हुनुहुन्थ्यो ।

राजनीतिले देशको पहिचानलाई पनि कति प्रभाव पार्दोरहेछ भन्ने यो कुराले पनि प्रष्ट पार्दछ । भविष्यको लक्ष्य राजनीति भनेर सायदै कसैले भन्दैन । तर, आज धेरै मानिस यो क्षेत्रलाई आफ्नो प्रमुख लक्ष्य बनाएर हिँडेको पाइन्छ । ‘पोलिटिक्स इज अ डट्री विजनेस’ भनेर मलाई एउटा साथीले २०५१ सालतिर रत्न राज्य क्याम्पस पढ्दा भनेको सम्झन्छु त्यसैले पनि मलाई कहिल्यै राजनीतिले आर्कषित गरेन । के साच्चै हो त ‘पोलिटिक्स इज अ डट्री बिजनेस ?

नेताको नजिकको कार्यकर्ता, आफन्त, साथीभाइ, इष्टमित्रलाई त नलाग्ला । तर, त्यसभन्दा परका र आजभोलि नेताहरुको हाउभाउ रवैया हेर्दा लाग्छ त्यो बेला पनि सत्य भनेको रहेछ । विश्वमा गएर नेपाली सफल बन्न सक्छन् ! अन्तर्राष्ट्रिय स्तरमा ख्याती कमाउन सक्छन् ! तर, आफ्नो देशमा आएर बस्दा अनेक समस्या भोग्नुपर्छ विडम्वना छ हाम्रो देशमा । बाल्यकालको प्रश्नलाई साकार पार्न केही युवा लक्ष्यमा लाग्ने गर्दछन् । तर, बिडम्वना ती ऊर्जावान युवा पनि उच्च शिक्षाको नाम होस् या वैदेशिक रोजगारीमा होस् विदेशिन बाध्य छन् ।

देशमा उद्योगधन्धा खोल्नभन्दा सजिलो राजनीतिक पार्टी खोल्न सजिलो भएको छ । न लगानीको आवश्यक ! न मजदुरको हड्ताल ! न तलब दिनुपर्छ ! न ट्रेडमार्क ! न गुणस्तर चिन्ह ! न लोडसेडिङ मार ! न बंैकको भार ! न करको छापा ! न चन्दा दिनु पर्छ । सजिलो भएरै होला आजभोलि उद्योगीहरु पनि राजनीतिमा लाग्न लालाहित भएका छन् । नेपालमा राजनीतिक पार्टी हेर्दा जो कोहीलाई यी राजनीति पार्टीले केही गर्न सकेनन्, म मात्र गर्न सक्छु भन्ने आभाष छ । सबैलाई लाग्छ आफ्नो पार्टीले मात्र देशको विकास गर्न सक्छ, नेपालीको समृद्धि गर्न सक्छ । तर, गर्ने कसैले होइन त्यो नेपाली जनताले हेरिसके सबैलाई राजनीतिबाट कमाउनुपर्ने छ । आफन्तको, साथीभाइको, कार्यकर्ताको आर्थिक उन्नति गराउनु प्रमुख कारण भएको छ ।

कांग्रेस, कम्युनिष्ट अलग–अलग विचार भए पनि काले–काले मिलेर खाउ भाले भन्ने सिद्धान्तमा अगाडि बढेको, गरेको गतिविधिले पनि प्रष्ट पारिसकेको छ । कार्यकर्ता तल झगडा गर्छन्, नेताहरु अर्का पार्टीका नेतालाई रोएर आफ्नो दुःख पोखेको समाचार हामी पढ्ने गर्दछांै । आजभोलिको राजनीतिक अवस्था राज्यपक्षको होस् या विपक्षीको होस् घृणा लागेर आउछ ।

सायद मलाई मात्र होइन होला यो आमनेपालीकै घृणाको विषय बन्दै छ नेपालको राजनीति । कोही–कोही भन्ने गर्छन् पशुपतिले थामेको देश नेपाल, कोही भन्छन् सतीले सरापेको देश नेपाल । बुद्धिजीवी वर्गले नै यसो भनिरहँदा, यो केले होला भनेर सोच्ने गर्छु ! पहिला–पहिला बुबा, हजुरबाले आशिष दिँदा ठूलो मान्छे बन्नु भनेर आशिष दिनुहुन्थ्यो । त्यही आशिष लागेर त होइन ! सोच्छु, आजभोलि सबै मानिसलाई ठूलो मान्छे बन्नुपर्ने भएको छ । अनि ठूलो मान्छे पैसा कमाएर बनिन्छ, पावर र पदमा बसेर बनिन्छ ।

यो हाम्रो गल्ती होइन, हामीले पाएको आशिषको करामत हो । ठूलो बनिन् पैसा, पद र प्रतिष्ठाको भोक हो । यो आशिषले कति पुस्तासम्म भ्याउने होला कति ठूला बनि सके, अझै कति बन्नुपर्ने नै होला ! यो एउटा चिन्ताको विषय छ । त्यसैले आजैबाट ठूलो मान्छे होइन असल मान्छे बन्ने आशिष दिऔं । असल मानिसले राजनीति गरे पनि उद्योगधन्धा खोले पनि जे गरे पनि संस्कारले मानिसलाई राम्रो बनाउँछ । असल गुणले सबैलाई असल नै बनाउँछ । जुन दिनदेखि असल बन्नु भन्ने आशिष लाग्न थाल्छ त्यस दिनदेखि समृद्ध नेपाल, सुखी नेपाली पनि सार्थक हुन्छ अनि मात्र देश र जनताको हित हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here