बिर्तामोड ।
आर्थिक अवस्था अत्यन्तै कमजोर भई उपचारमा समस्या झेल्दै आएका झापा अर्जुनधारा नगरपालिका–११ सालवारीका दिलबहादुर राईको आर्थिक सहयोगका लागि बचाउ अभियान सञ्चालन गरिने भएको छ ।
दिलबहादुर राई बचाउ अभियान समिति निर्माण गरी उनको उपचारमा आर्थिक सहयोग पुर्याउने समितिको लक्ष्य रहेको छ । अभियान लागि कम्पस राईको संयोजकत्वमा सोम राई, आशिष राई, हिमत राई र सागर राई सदस्य रहेको समिति निर्माण गरेको दिलबहादुरकी श्रीमती शोभा राईले जानकारी दिइन् ।
२०७२ जेठमा नोवेल हस्पिटल विराटनगरमा परिक्षण गर्दा दुवै मृगौला खराव भएपछि चिकित्सकको सल्लाह अनुसार ‘डाइलोसिस्’ गराउँदै आएका छन् । एक पटक डाइलोसिस् गराउँदा एकहजार ५ सय रुपैयाँ लाग्ने गरेको बताउँदै उनले भने ‘ हप्तामा दुई पटक डाइलोसिस् गर्नु पर्ने हुन्छ ।’
डाइलोसिस समेत गर्न नसकेका उनलाई उपचारमा सहयोग पुर्याउने उदेश्यले समिति निर्माण गरिएको हो । आर्थिक सहयोगका लागि एनएमवि बैंकको बिर्तामोडमा रहेको दिलबहादुर राई नामको खाता ०२८२१५००६२०५४००००००१ नम्वरको समेत जम्मा गर्न सकिने भाई राजेशले बताए ।
४६ बर्षिय राईका श्रीमती र एक छोरा रहेका छन् । राईको ३ बर्षअघि पेटको आन्द्राको समेत शल्यक्रिया गरेको बताए । ‘अहिले पनि खाना वढि खायो भने पेट दुख्छ ।’ राईले भने । उनको आँखा पनि कमजोर छ ।
काठमाडौंको भक्तपुरमा रहेको मृगोला प्रत्यारोपण हस्पिटलले ३० देखि ३५ लाख खर्च लाग्ने बताएपछि उनी अहिले उपचारका लागि आर्थिक संकलनमा जुटेका छन् । श्रीमती शोभाले श्रीमानको जीवन बचाईदिन सवैमा अनुरोध गरेकी छिन् ।