मुसिकोट,

रुकुमपश्चिमको चौरजहारी नगरपालिकाले सोमबारदेखि नगरबस सञ्चालनमा ल्याएको छ । नगरपालिकाभित्रका नागरिकलाई सहुलियत यातायातको व्यवस्था दिने योजनासहित नगरबस सञ्चालनमा ल्याइएको हो ।
नगर क्षेत्रका सबै भू–भागमा बस सञ्चालन हुने गरी तीन नगरबस सञ्चालन गरिएका नगरप्रमुख विशाल शर्माले बताउनुभयो । उहाँका अनुसार सहुलियत भाडादर कायम गरी नगरपालिकाले २६ र ३२ सिट क्षमताका तीन नगरबस सञ्चालनमा ल्याएको छ ।
बसका लागि विभिन्न रुटको भाडादर निर्धारण गरिएको र टिकटसमेत अनिवार्य गरिएको नगरप्रमुख शर्माको भनाइ छ । नगरपालिकाले नगरबसमा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र विद्यार्थीलाई भने छुटको व्यवस्था गरेको छ । त्यस्तै पाँच वर्षमुनिका बालबालिका तथा ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क यात्राको व्यवस्था गरेको नगरपालिकाले जनाएको छ ।
नगरबस सञ्चालन भएसँंगै अबदेखि चौरजहारी बजार उपत्यकाका कुनै पनि स्थानमा यात्रा गर्न प्रतिव्यक्ति रु २० लाग्ने भएको छ । चौरजहारी बसपार्कदेखि वडा नं १४ को नुवाकोटसम्मको भाडादर रु २०० तथा बसपार्कदेखि चौफाका लागि रु १०० भाडा निर्धारण गरिएको नगरपालिकाले जनाएको छ । नगरबस सञ्चालनमा आएसँगै कर्णाली प्रदेशमै चौरजहारीले पहिलोपटक आफ्नै नगरबस सञ्चालन गरेको बताइएको छ ।































