काठमाडौँ,
राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले यही कात्तिक २८ देखि आगामी मङ्सिर ४ गतेसम्म धार्मिक जागरण यात्रा गर्ने भएको छ ।
सो पार्टीले नेपालका सबै धर्मबीच समानता, पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष हिन्दू मुलुक हुनुपर्ने जनाएको छ । पार्टीले सीताको जन्मभूमि जनकपुरबाट चितवनको वाल्मिकी आश्रम हुँदै भगवान् बुद्धको जन्मस्थल लुम्बिनी पुगेर जनकपुर–लुम्बिनी धार्मिकयात्रा सम्पन्न गर्ने बताइएको छ ।
सोमबार पत्रकार सम्मेलन गरेर पार्टी अध्यक्ष पशुपतिशम्शेर जबराले नेपाललाई धर्मनिरपेक्ष बनाइएकामा आफूहरुको आपत्ति रहेको उल्लेख गर्दै हिन्दू राष्ट्र नबनाएसम्म आन्दोलन जारी रहने बताउनुभयो ।
अध्यक्ष राणाले १९६२ मा भारत र चीनबीच युद्ध हुँदादेखि नै लिपुलेकमा भारतीय चेकपोष्ट बसेको र सोबारेमा यसअघिका कुनै पनि सरकारले कुरा उठाउने आँट नगरेको बताउनुभयो ।
अर्का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले आफ्नो पार्टीले शुरु गर्न लागेको धार्मिकयात्रा नेपालको पहिचान कायम गर्नका लागि हुने बताउनुभयो ।
उहाँले लिपुलेक र कालापानी क्षेत्रका विषयमा सरकारले भारतसँग मित्रतापूर्वक कूटनीतिक पहल गर्दै समस्याको समाधान गर्नुपर्ने सुझाव दिनुभयो ।