चिन्तामणि दाहाल,
शीर्षक पुष्टि :
अहिले देश विदेशमा बस्ने नेपाली जनता र राजनीतिक दलहरु तरंगित भएका छन् । नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई भारतले हालै प्रकाशित गरेको राजनीतिक नक्सामा समेटेर आफ्नो पारेको भन्दै देश–विदेशमा बस्ने राष्ट्रवादी नेपाली र राजनीतिक दलमा तरंग पैदा भएको हो । तर, भारतले यी भूमि आफ्नो नक्सामा राखेको ७० बर्ष भएको बताएको छ ।
केही दिनअघि भारतले जम्मु–कश्मिरलाई संविधानको धारा ३७० अनुसार दिँदै आएको विशेष दर्जा खारेज गर्दै दुई केन्द्र शासित राज्य जम्मु–कश्मिर तथा लद्दाख भनेर छुट्याएपछि नयाँ राजनीतिक नक्सा जारी गरेको हो । त्यो नक्सामा नेपालका यी तीन क्षेत्र पारेको भन्दै नेपालमा हलचल भएको छ भने सबै राजनीतिक दलका नेता, भातृ संगठन र आम जनताले विरोध गरिरहेका छन् । उनीहरुले भारतले आफ्नो नक्साबाट ती तीन क्षेत्र हटाउनुपर्छ भन्ने माग राखेका छन् । त्यसक्रममा उनीहरुले भारत विरोधी चर्का नाराबाजी पनि गरेका छन् ।
वास्तविकता भनेको अर्कै छ । विवाद अहिलेको होइन । जुनबेला सुगौली सन्धी भयो त्यसैबेला यस विवादको बीऊ रोपिएको थियो । अंग्रेजहरुको उपनिवेशबाट भारत स्वतन्त्र भएपछि उसले जारी गरेको नक्सा मै यी तीन क्षेत्र उसले आफ्नो नक्सामा राखेको अहिले आएर प्रष्ट गरेको छ । त्यसैले होला उसले चीनसँग सन् २०१५ मा लिपुलेकको प्रयोग गर्ने सम्बन्धमा चीनसँग सहमति गरेको थियो । यो त्रिदेशीय विन्दु हुँदाहुँदै चीनले पनि नेपाललाई सोध्नुपर्छ भनेन । जुनबेला भारतले आफ्नो नक्सामा यी तीन क्षेत्र राखेको थियो र त्यहाँ आफ्नै सैनिक तैनाथ गरेको थियो त्यसबेला नेपालीले थाहै पाएनन् कि थाहा पाएर पनि विरोध गर्न सकेनन् ।
कालापानीमा भारतीय अतिक्रमण भयो भनेर २०५० सालतिर पनि विरोध प्रदर्शन भएको थियो । अझ महाकाली सन्धी संसदबाट पारित गर्ने बेलामा यो कुरा अहिलेकै बामनेताहरुले व्यापकरुपमा उठाएका थिए । विरोध भयो, थत मरियो । नेताहरुले बिर्से वा बिर्साइए । अहिले फेरि उठेको छ ।
समस्याको जरो र समाधान :
समस्याको जरो भनेको सन् १८१६ मा नेपाल र ब्रिटिश भारतबीच भएको सुगौली सन्धी नै हो भने समाधानको जरो पनि सुगौली सन्धीमै छ ।
सुगौलीको सन्धीमा काली (महाकाली) पारी र मेची पारीको जमिनमा नेपालका राजा र उनका उत्तराधिकारीले भविश्यमा पनि दाबी गर्ने छैनन् भनिएको छ । यस बुँदा अन्तर्गत मेची र महाकाली नदी नेपालका भए । नदी आधा–आधा भएनन् । दुबै नदीमा भारतको अधिकार रहँदैन ।
दोस्रो पूर्वको मेची नदीको उदगम मेची खोल्सीलाई मानियो भने त्यो भन्दा ठूलो सिद्धी खोलालाई मानिएन । त्यसैले पूर्वमा मेचीको उद्गमस्थललाई लिएर विवाद भएन । तर, पश्चिममा महाकालीको उद्गम कुन खोेलालाई मान्ने भन्नेमा भारतले बेलायतबाट स्वतन्त्र भएपछि विवाद झिक्यो ।
नेपालको भनाई लिम्पियाधुराबाट बग्ने काली नदी नै महाकालीको उद्गमस्थल हो भन्ने दाबी हो र वास्तविकता पनि त्यही हो भने भारतले त्यसलाई नमानेर अर्कै खोल्सीलाई महाकालीको उद्गम मानेको छ । यसो गरेर उसले कालापानी, लिम्पियाधुरा र लिपुलेक भारततिर पारेको छ । विवाद यसैले जन्माएको हो । भारतको भनाइ मान्दा नेपालको करिब ३७२ बर्ग किलोमिटर भारतमा पर्छ । नेपालको भनाइ मान्दा त्यो क्षेत्रफल नेपालकै हुन्छ ।
सुगौली सन्धीपछि अहिले विवादमा तानिएका यी तिन क्षेत्रमा नेपालकै अधिकार थियो । त्यहाँ बस्नेहरुले आफूलाई नेपाली नै मानेर बसेका थिए । नेपालकै राष्ट्रियता झल्कने प्रमाण र कागजहरु अहिले पनि त्यहाँका जनतासँग छन् । नेपाल सरकारसँग पनि ती क्षेत्र भोग गरेका दस्तावेज छन् ।
त्यसको साथै सुगौली सन्धीताकाको मस्यौदाबाट पनि त्यसका लागि प्रमाण जुट्छ । सन् १८२७ मा प्रकाशित गढवाल कुमाउँ नामक नक्सामा लिम्पियाधुराबाट बग्ने काली नदीलाई महाकालीको उद्गम मानिएको छ र यी तिन क्षेत्र नेपालमै देखाइएको छ । त्यसैगरी सन् १८५६ मा प्रकाशित भारतको नक्सामा पनि यी लिम्पियाधुराबाट बग्ने काली नदीलाई महाकालीको उद्गम मानिएको छ र नदी पूर्वका कुटी, नाबी, गुन्जी, कालापानी, नाभिहाङ, लिपुलेक आदिलाई नेपालकै सरहदभित्र पारिएको छ ।
यी नक्सा सुगौली सन्धीपछि ब्रिटिशकालीन भारतका हुन् । त्यसबेला नेपालका सर्भेयर थिएनन् । भारतीय सर्भेयरले नै तयार पारेको नक्सा र सीमानालाई नेपालले मानेको हो । यसैले अहिले आएर भारतले चीनसँग व्यापार गर्न सजिलो बनाउन यी क्षेत्र कार्टियोग्राफीक एग्रेसन गरी भारतीय नक्सामा हाल्नु उसको दुरासयपूर्ण अतिक्रमण हो ।
त्यस्तै नेपालले सुगौली सन्धी र त्यसपछि ती क्षेत्रमा नेपालले भोगेका आधार तथा सन् १८७२÷०७३ मा भारतीय सर्भेयरले नै तयार पारेको सीमा नक्साले पनि लिपुलेक, कालापानी र लिम्पियाधुरालाई नेपालकै मानेको छ भनिएको छ । त्यो नक्सा नेपालसँग छैन भने ब्रिटिश लाइब्रेरी र म्युजियममा छ भनिन्छ ।
त्यसैले उद्गमस्थलको विवाद सकिने बित्तिकै अहिलेको विवाद सकिन्छ भने सुगौली सन्धीताका सीमान्त खोलाको धारलाई सीमाना मानेर निश्चित सीमा सिद्धान्तका आधारमा सीमाना कायम गर्नुपर्छ । यसो गर्दा नारायणी नदीले धार परिवर्तन गरेर जन्माएको सुस्ताको विवाद लगायत पूर्वका मेची नदी किनार क्षेत्रका सबै विवाद समाधान हुन्छन् ।
त्यसैगरी अन्य स्थानका जमिनी विवाद जंगे पिल्लरलाई वास्तविक सीमाना पिल्लर मानेर दशगजा कायम गर्दै दश गजालाई नोम्यान्सल्याण्ड कायम गरी त्यसको अतिक्रमण जोगाएर अघि बढ्यो भने मात्रै सबै सीमानाका विवाद समाधान हुन्छन् ।
अहिले के गर्ने ?
विवाद ७० बर्षदेखिकै हो र यसअघि पनि लिपुलेक, कलापानी र लिम्पियाधुराको सीमाना विवाद भएकै थियो । नेपाली जनता, दल र तीनका भ्रातृ संगठनले पटक पटक भारतले नेपालको भूमि अतिक्रमण गरेको छ भनेर प्रदर्शन र विरोध गर्दै आएका हुन् ।
बारम्बारको विरोध प्रदर्शन र झापाकै धेरै ठाउँकासहित ७० भन्दा बढी ठाउँमा सीमा विवाद भएपछि दुबै देशका प्राविधिक सम्मिलित अध्ययन टोली पनि गठन भएको छ र त्यसले लगभग अध्ययन सकेर प्रतिवेदन बुझाउने अवस्थामा पुगेको छ । त्यहीबेला फेरि त्यही पुरानो कुरा नै विवादको रुपमा उठेपछि अब दुबै देशबीचको लामो समयदेखिको सीमाना विवाद अन्त्य गर्न दुबै देशले कुटनीतिक संवाद शुरु गरिहाल्नु पर्छ ।
पछिल्लो विवादका तीन क्षेत्र र सुस्ता लगायतका अन्य सबै क्षेत्रको विवाद पनि अब गरिने कुटनीतिक छलफलमा आउनुपर्छ । यसका लागि नेपालमा यसअघि नभएको राष्ट्रिय सहमति जुटेको छ भने सरकार पनि दुई तिहाईको स्थायी सरकार पनि छ । सबै राजनीतिक दलले भारतसँग खुट्टा नकमाइकन वार्ता गर्न ओली सरकारलाई जनादेश दिएका छन् । यस्तो अवस्थामा पनि अहिलेको सरकारको नेतृत्व गर्ने दल र तीनका नेताहरुले आफ्ना प्रमाण जुटाएर भारतसँग कुटनीतिक वार्तामा बस्न सकेनन् भने कहिल्यै पनि भारतसँगको सीमा विवाद समाधा हुँदैन ।
आला काँचा कुरा गरेर भारतसँग जोरी खोजेर युद्ध गर्छौं भन्ने र अहिले नै अन्तर्राष्ट्रिय क्षेत्रमा यसलाई उठाउँछौं भनेर भारतलाई धम्की दिने हो भने केही हुनेवाला छैन । यी तीन क्षेत्रका बारेमा नेपालसँग पर्याप्त प्रमाण छन् भनिएको छ । यदि छन् भने विज्ञहरुबाट ती प्रमाणहरुलाई पुष्टि गराएर नेपालले भारतसँग वार्तामा बस्नुपर्छ ।
भारतले पनि आप्mना प्रमाण पेश गर्न सक्छ । भारतले आफ्नो सेना कालापानी र लिपुलेकबाट हटाउनुपर्छ । आफ्नो नक्साबाट यी तीन क्षेत्र हटाउनुपर्छ । उसका प्रमाणलाई नेपालका प्रमाणले काट्न सक्नुपर्छ । दुबै देशको जबर्जस्तीले समस्या समाधान हुँदैन । भारत पनि यस विवादको निपटाराका लागि वार्ता गर्न तयार छ भनिएको छ । अहिले फलाम तातेको बेला ह्याम्मरले हिर्काउन सक्यो भने मात्रै समस्याले निकास पाउँछ ।