विमल लामिछाने,
‘बन्दुकको दोहोरी चलिरहेको थियो, कानै छेड्ने गरी गोलीका छर्राहरु ओहोर दोहोर गरिरहेका थिए, आकाशमा बिजुली चम्के भन्दा पनि छिटो–छिटो । त्यो परिवर्तन र मुक्तिका लागि साहसी आवाजमा कमाण्डरले कमाण्ड, कन्ट्रोल र कम्युनिकेशनको सुत्रमा फाइनल टु फिनिसको शासन चलाइरहेको आवाज मेरो कानमा झल्झली आइरहन्छ, जुन दिन मेरो कर्म रेखा कोर्दै गरेको दाहिने हात नै गुमाएर भए पनि ‘फाइनल टु फिनिस’को युद्धबाट बाँचेको थिएँ । त्यही दिनले अहिले पनि सपना र विपनामा समेत झसंग बनाइरहन्छ । कहिल्यै नर्बिसने गरी जरा गाडेर बसेका छन् ती कहालीलाग्दा दिनहरु ।’ मुलुक परिवर्तनको यात्रामा लामबद्ध हुँदाका अविश्मरणीय क्षणहरु यसरी सम्झन्छन् पूर्व जनमुक्ति सेनाका कमाण्डर, मुक्ति योद्धा खड्गबहादुर कन्दङ्वा (क.रोशन) ।
तेह्रथुम आठराई छातेढुंगा–६ बस्ती होडामा २०३५ साल चैत १३ गते बुबा जयबहादुर कन्दङ्वा र आमा धनमाया कन्दङ्वाको कान्छो छोराका रुपमा जन्मिएका खड्गबहादुर कन्दङ्वा (रोसन) सानैदेखि विद्रोही स्वभावका थिए । छर छिमेकी, काका र दाजुहरुले समातेको बामपन्थी विचारधारा नै उनका लागि पनि आस्थाको मार्गचित्र बन्यो । तेह्रथुम आठराई छातेढुंगा पोखरी माविमा कक्षा दशसम्मको अध्ययन गरेका उनी विद्यार्थी जीवनबाट नै राजनीतिमा प्रवेश गरेका हुन् । माओवादीले सञ्चालन गरेको जनयुद्धमा लाग्ने प्रेरणा पनि उनले दाजुहरुबाटै पाएका हुन् । आठ जनाको परिवारमा पाँच जना होलटाइमर कार्यकर्ताको रुपमा रहेर लामो अवधि पार्टीको योजनामा काम गरेको उनले बताए । अहिले पनि परिवारका धेरै सदस्य पार्टीमा संगठित हुनुहुन्छ । स्व. कमरेड गौरीशंकर खड्काको सम्पर्कमा २०५५ सालबाट माओवादी पार्टीमा प्रवेश गरेका उनले विभिन्न जनवर्गीय संगठन, जनमुक्ति सेना हुँदै तेह्रथुम जिल्ला कमिटि सचिवालय सदस्य समेत भएर जिम्मेवारी सम्हाली सकेका छन् ।
फौजी आक्रमणमा पस्दा :
आधार इलाका रक्षक जनमिलिसिया हुँदै २०५८ सालमा जनमुक्ति सेनामा प्रवेश गरेका क.रोशनले संखुवासभाको मांसिमा भन्ने स्थानमा पार्टी योजना अनुसार नै चलाइएको जनमुक्ति सेना स्पेसल तालिम पाएका हुन् । जनमिलिसिया प्लाटुन बनाएर ४९ जनाको एस टि एफबाट छानिएपछि प्लाटुन र कम्पनीमा आवद्ध भएर जिम्मेवारी सम्हाल्दै अघि बढेको उनले बताए ।
पार्टीको योजना अनुसार नै तेह्रथुमको फेदाप फोक्लाबुङ चौकी आक्रमणमा उनी पहिलो फौजी कारवाहीमा सामेल भएका थिए । २०५८ साल मंसिर १० गते सोलुखुम्बुको सल्लेरी आक्रमण, २०५८ साल माघ १० गते पाँचथरको गोपेटार आक्रमण, भोजपुरको घोडेटार लगायतका सैन्य आक्रमण र दर्जनौ मोर्चामा उनको सहभागिता रहेको छ ।
लडाईको अनुभव :
जनयुद्ध परिवर्तनका लागि हो भनिन्थ्यो, वर्गीय मुक्ति वा मृत्यु नारा नै थियो । विचारको लडाई लड्दा निराशा कहिल्यै आउँदो रहेन छ– भन्छन् उनी । जब लडाई लड्न तयार भइन्थ्यो उत्साह बढेर आउँथ्यो, हारिएला भन्ने कहिल्यै लागेन । जीत नै जीतमात्र देखिन्थ्यो । मनोवल उच्च राखेर लडियो, सहयोद्धाको हार्दिकता र सहयोगी भावनामा कहिल्यै कमी आएको महशुस भएन –उनले भने ।
प्रविधिको हिसावले थ्री नट थ्री राइफल लिएर लड्दा होस् या ग्रिनेट र गोलासँग तर निरासा कहिल्यै आएन । सिद्धान्त र विचार स्पष्ट भए लडाई लड्न कसैको तागतले नछेक्ने उनको बुझाइ छ । उनी भन्छन्– ‘लडाईको बेला कमाण्ड नै मुख्य कुरा हुन्थ्यो । छलफल बहसपछि बनाएको योजना प्राय सफल भएरै छाड्थ्यो । भावनात्मकभन्दा पनि वर्गीय एकताको बलमा मात्रै जनयुद्ध सम्पन्न भएको हो ।’
अविश्मरणीय क्षण :
मान्छेको जीवनमा केही यस्ता अविश्मरणीय क्षण हुन्छन्, जो बिर्सन चाहेर पनि बिर्सन सकिन्न । त्यस्तै अविश्मरणीय बनेको छ खड्गबहादुर कन्दङ्वाको जीवनभरि दोहोरिएर आइरहने गोपेटार कारवाही र लगतै चार दिनपछिको बगाले घटना । इतिहासमा अरु सबैकुरा बिर्सन सक्छु होला, तर गोपेटार र बगाले घटना कहिल्यै बिर्सन सक्दिनँ –उनले भने । नेपाली वर्गसंघर्ष र जनयुद्धको अवधिमा भएको पूर्वकै चर्चित काण्ड मध्यको एक हो पाँचथरको गोपेटार काण्ड ।
जहाँ एउटै सेल्टरमा २० जना जनमुक्ति सेनाले ज्यान गुमाउनु परेको थियो भने दर्जन बढी घाइते र अपाङ्गता भएका छन् । त्यो घटनको स्मरण यसरी गर्छन् खड्गबहादुर कन्दङ्वा (रोशन)– ‘घोडेटार लडाई नै मेरो मष्तिस्कमा आइरहने घटना हो, जहाँ मैले जीवन बदल्ने हात गुमाउनु परेको थियो । सो घटनामा म लगायत धेरै साथीहरु घाइते भएपछि हामीलाई रातभर बोकेर तेह्रथुम आठराईको संक्रान्ति बगाले भन्ने ठाउँमा पु¥याइएको थियो । त्यहाँ एकजना पासाङ शेर्पाको घरमा सेल्टर लिएर दिनभर बसियो ।
बेलुका ५ बजेको कुरा हो हामी बसेको सेल्टरमा सेनाले घेरा हालीसकेको रहेछ, एकैचोटी चारैतिरबाट गोलीको वर्षा गरायो । गोली चलेपछि हामी चिलविल भयौं । हामी कतिपय त भाग्नपनि नसक्ने अवस्थामा थियौं । जो कि त्यो घाइतेहरुकै सेल्टर थियो, कतिलाई सुतेकै ठाउँमा गोली हान्यो, त्यही सेल्टरमा एकै ठाउँमा २० जनाको हत्या भयो । धेरै साथीहरु आँखा अगाडि नै पुक्लुक–पुक्लुक ढलेको देख्दा मन विक्षिप्त हुन्थ्यो । कतिपय साथीहरुको आँखा फुत्त–फुत्त बाहिर निस्कदै गरेका देखिन्थे भने कतिपयका गिदी नै छरपस्ट भएका थिए, कसैको छात्तीमै गोली लाग्यो त कसैको आन्द्राभुँडी नै छरपष्ट भएको थियो । कसैको खुट्टा त कसैको हात चुडिँदै गरेको देखिन्थ्यो, भलभल रगत बगिरहेका सहयोद्धाहरु पुक्लुक–पुक्लुक लडेको देखिन्थ्यो । बढो दर्दनाक र अकल्पनीय घटना भएको थियो –उनी सम्झन्छन् र भक्कान्छिन् ।
म सँगै सुतेको अर्को साथी खड्गी शेर्पा ऐया भन्न नपाइकन लडे, त्यही सेल्टरमा मेरी आफ्नै बहिनी शुसिला कन्दङ्वाले एउटा हात गुमाइन्, म भने किचनको गाग्री राख्नेमुनी लुकेर जोगिएको थिएँ । (चार दिनअघिको फौजी कारवाहीमा भिड्ने क्रममा मेरो हात गुमिसकेको घाइते थिएँ म), अन्त्यमा भाग्नुको कुनै विकल्प पनि थिएन, किचनको भ्mयालबाट हामफाल्दा गाईको घाँस खानेमा पुग्न सकेँ र भित्ताको आड लिएर घिसिँ्रदै र पल्टिँदै अलैँचीबारीभित्रको खोल्सीमा पुगेछु । खोल्सी–खोल्सी भाग्दै खोलामा पुगेँ, होस उडिसकेको थियो, बिहान थाहा पाउँदा एउटा ढुंगाको आडमा त्यो रात बिताएछु । रक्ताम्य शरीर थियो मेरो, पाती र ठाडे उन्यूका मुण्टाले घाउ छोप्तै हिँडे । भोलिपल्ट खोला तरेर ताप्लेजुङको हाङपाङ गाउँको एक घरमा गएर बसेँ, त्यो घटना मेरोलागि अहिलेसम्म अविश्मरणीय बन्यो ।’ –भक्कानिँदै उनले भने ।
डर र त्रासभित्रै उपचार :
तत्काल उपचार गर्न जाने अवस्थापनि थिएन, डर र त्रासकै बीचमा उपचार विधि अपनाउन पर्ने बाध्यता पनि थियो –उनले भने, करिब दशदिन ताप्लेजुङको हाङपाङमा घरेलु उपचार गरेर बसे पनि पार्टी सम्पर्क भने हुन सकेन । कष्टपूर्ण दिनहरु बित्दै गए । गाउँ जान पाए कसैले घरेलु उपचारमा सहयोग गर्ने थियो कि जस्तो लाग्यो, तीन दिन लगाएर आप्mनै गाउँ छातेढुंगा होडा फर्किएँ ।
त्यहाँ पनि चार दिन बस्दा समेत पार्टी सम्पर्क हुन सकेन । गाउँको मामा पर्नेसँग पाँचथर लुङ्फाबुङ आधार इलाकामा आफन्तको घरमा पुगेँ, त्यहाँ बहिनी सुशिलासँग युद्धको नाफा जीवनमा भेट भयो, त्यहाँ उनी सेल्टर लिएर बसेकी रहिछन्, मलाइ देख्दा तरक्क रोइन, भक्कानिएको मन लुकाउन कोशिष गरिन् । अलिभरे कुरा भयो, उनको पनि एउटा हात चुडिएको रहेछ । म जस्तै उनी पनि बाँच्न सफल भएकी रहिछन् ।
बहिनीहरु पर्टी सम्पर्कमा रहेछन् । उनीहरुकै माध्यमबाट त्यहाँ थप उपचार गरियो । तर, हातको पूर्ण अपरेशन गर्नुपर्ने थियो । गाउँमा सम्भव थिएन । पार्टीले एकजना काका पर्ने हस्त राईलाई जिम्मा लगाएर झापा पठायो । त्यो बेला झापाका अस्पतालहरुमा समेत प्रहरी निगरानी बढाएको रहेछ, अस्पताल भर्ना हुन सकिएन । झापाको सालवारीमा काकाघर दुई दिन बसियो, त्यहाँबाट दुर्गापुर तीन–चार रात बसियो, दमक–बिर्तामोड कतै सम्भव नभएपछि मोरङमा पार्टीसँग सम्पर्क भयो र त्यहाँबाट साथीहरु लिन आउनु भएछ र उहाँहरु मार्फत विराटनगर कोशी अस्पताल, नर्सिङ होम लगायत चहारियो तर डाक्टरले उपचार गर्न मानेनन् । त्यहाँ उपचार गर्न नमानेपछि एकजना साथीले भारतको पूणेमा लगेर छोड्नु भो, त्यहाँ एक हप्तापछि अपरेशन भयो । तर, फर्कने बेला विराटनगर नाका बन्द रहेछ । पटना हुँदै रक्सौल हुँदै विरगञ्ज नाकाबाट नेपाल छिर्न सफल भएँ –उनले भने ।
पार्टीकै योजनामा जनवादी विवाह :
२०५९ सालमा संखुवासभाको स्यावनमा बसेको पार्टी जिल्ला कमिटी बैठकले विवाह गरिदिने योजना बनाएछ उनले भने । मिटिङमा प्रश्ताव आयो तत्कालीन जिल्ला कमिटी सदस्य अस्मिता तामाङसँग जनवादी विवाह गर्ने । हामी दुवैले पार्टीको योजना हो भने ठिकै छ भनेर स्वीकार्याैं ।
करिव एक वर्षको अवधि परीक्षण समय अवधि तोकियो । सो अवधिमा हामीमा प्रेमभाव बढ्दै गयो, एक अर्कालाई बुझ्दै र पे्रमिल बन्दै गयौं हामी । भावना साटासाट हुँदै गए, नजिकिँदै गयौं हामी –रमाइलो मुडमा उनले भने– तोकिएको समयभित्र हामीमा पार्टीको निगरानी थियो ।
कुनै खरावी वा पार्टी हित विपरीत हाम्रो गतिविधि नदेखिएपछि एकवर्ष पछि अर्थात् २०६० सालमा तेह्रथुमको आठराई इवामा पार्टीले हामीबीच जनवादी विवाह गरिदिएको हो–उनले भने । अहिले अस्मिता र रोशनसँग एक छोरा यूनिक र एक छोरी उषा छन् ।
जनयुद्धले दिएको शिक्षा :
आफू अपाङ्गता भए पनि जनयुद्धले धेरै शिक्षा दिएको उनले बताए । परिर्वतनमा लामबद्ध हुनपाएकोमा गर्व गर्छन् उनी । उनले भने– जनयुद्धबाट धेरै कुरा सिकेका छौं, जनयुद्ध समानताका लागि वर्गीय युद्ध रहेछ । जातीय विभेदविरुद्धको विद्रोह रहेछ । लामो संघर्षबाट पाठ सिकेका छौं, बाँच्ने, जीउने र लड्ने कला सिकेका छौं ।
जीत हुँदा उत्साहित हुन्थ्यौं, तर घमण्ड गरेनौं । हार्दा दुःख लाग्यो तर हरेश खाएनौं, घाइते हुँदा विजोकमा परियो तर विचलन आएन, पार्टीका सिपाही भएरै बस्यौं –उनी भन्छन् ।
नेतृत्वलाई सुझाव :
जनयुद्धले स्वतन्त्रताको मार्गचित्र खिचे पनि बलिदानी गर्नेको सपना अधुरै रहेको उनको बुझाई छ । उनी अबको कार्यभार नेतृत्वलाई सुम्पिएको बताउँछन– जनयुद्धले मुलुक परिवर्तनको यात्रालाई अघि बढाएको छ । आंशिक सफलता हाँसिल भए पनि वर्गीय आन्दोलनले पूर्णता पाएको छैन, परिवर्तन गर्न धेरै कुराहरु बाँकी छन्, जनयुद्ध साम्यवादको लक्षका साथ भएको थियो, समानताका लागि बलिदान गर्नेहरुको सपना अझै अधुरै छ । यो अधुरो सपनालाई पूरा गर्न नेतृत्व डगमगाउने हो कि भन्ने चिन्ता छ –उनले भने ।
लेनीनले भने जस्तो जनयुद्धले माछा खाने कला सिकायो, तर माछा मार्ने कला सिकाएन, त्यसको परिणाम अहिले परिवर्तनका लागि लामबद्ध भएका सच्चा योद्धाहरुले भोग्नु परिरहेको छ, । मुलुक परिर्वतनका निम्ति घाइते र अपाङ्गता भएकाहरुको संख्या ठूलो छ । यसलाई राज्यले क्षमता अनुसारको सिप सिकाएर आत्मनिर्भर गराउन सक्नुपर्छ ।