कनकाई क्याम्पसको समस्या हल गर

0
432

सम्पादकीय

झापाको मध्य भाग भएर बहने पवित्र कनकाई नदीको पूर्वी किनारमा अवस्थित मुलुक र मुलुक बाहिर पनि बन्दमुक्त नगरीको प्रसिद्धि कमाएको सुरुङ्गा यतिबेला विभाजित हुनु, आरोप–प्रत्यारोपमा उत्रनु र दुनियाँलाई सकारात्मक उदाहरण दिने नगर आफै नकारात्मकताको उदाहरण बन्नु दुःखद् छ ।

कनकाई क्याम्पस सुरुङ्गामा २०६१ सालदेखि हालसम्म पनि निरन्तर कार्यरत अंग्रेजी विभागका प्रमुख उपप्राध्यापक हरिप्रसाद तिम्सिनालाई क्याम्पस सञ्चालक समितिले सेवाबाट हटाएको छ । यो बर्खास्तीले क्याम्पस तनावग्रस्त छ र क्याम्पसको भविष्य पनि धूमिल हुने हो कि भन्ने संशय बढेको छ । प्राध्यापकहरु सेवा असुरक्षाले विचलित छन् । बन्द निषेधित शान्ति क्षेत्र मानिएको सुरुङ्गामा रहेको क्याम्पस विगत डेढ महिनादेखि तनावग्रस्त हुनु अस्वभाविक छ र कनकाई नगरका लागि यो अति ठूलो क्षति हो ।

समस्याको जड राजनीतिक सहमतिको आडमा बनेको सञ्चालक समितिबाट नेकपा सम्बद्ध उपाध्यक्ष, कोषाध्यक्ष र सदस्यहरु राजीनामा दिई बाहिरिँदा पुनः सर्वपक्षीय भेला गराई छलफल नगरिनुबाट यो समस्याको सृजना भएको देखिन्छ । सञ्चालक समितिका अध्यक्ष र क्याम्पस प्रमुखको कार्यशैलीसँग सहमत हुन नसकी गम्भीर असहमति भएर मात्रै राजीनामा दिएको सहजै बुझिने कुरा हो । क्याम्पसका सरोकारवालाहरुसँगको गाढा सम्बन्ध क्याम्पस सञ्चालक समितिले राख्न नसक्नु, कनिष्ठ व्यक्तिलाई क्याम्पस प्रमुख बनाई वरिष्ठहरुलाई पाखा लगाउनुले समस्यालाई बढाउन मलजल गरेको बुझिन्छ ।

राजनीतिक आस्थाका आधारमा व्यवहार गरिएको आरोप सुनिनु एउटा शैक्षिक संस्थाका लागि अशोभनीय कुरा हो । क्याम्पस प्रशासनले समन्वय गर्दै आफ्ना सहकर्मीहरुलाई साथै लिएर अघि बढ्न नखोज्नुले यो परिणाम आएको अनुमान गर्न गाह्रो छैन । प्राध्यापकहरुले स्वतन्त्रतापूर्वक काम गर्न नपाउने र विद्यार्थीले पनि स्वतन्त्रतापूर्वक पढ्न नपाउने हो भने यो क्याम्पस पढाउने र पढ्ने थलो रहिरहन्छ भनेर ढुक्क हुन सकिँदैन । निजीस्तरबाट सञ्चालित क्याम्पसहरुसँग राजनीतिक रुपमा खिचातानी भइरहने, कालोझण्डा, कालोमोसो, पेन डाउनको विभिषिकाभित्र गुम्सिएको क्याम्पसले प्रतिष्पर्धा गर्न सक्छ ? तत्काल समस्या हल गरी सहज वातावरण नबनाउने हो भने अभिभावकहरुको विश्वास र भरोसा नटुट्ला भन्न सकिँदैन ।

प्राप्त गलत सूचनाका आधारमा निर्णयहरु गरिनु नै समस्याको जड हो । कनकाई नगरबासीको दानदातव्यबाट बनेको यो सामुदायिक क्याम्पस सबैको साझा शैक्षिक संस्था हो भन्ने भाव सबैले बुझ्न आवश्यक छ । यो क्याम्पस आम कनकाईबासीहरुको संयुक्त प्रयासबाट स्थापित एक उच्च शैक्षिक थलो हो । यो सुरुङ्गाको गौरव हो । यो वा त्यो नाममा संस्थालाई कमजोर पार्नु हुँदैन । वैयक्तिक र दलगत स्वार्थभन्दा क्याम्पस माथि हुनुपर्छ । क्याम्पस सञ्चालकहरुले विधान तथा नियमभन्दा बाहिर गई क्याम्पस सञ्चालन गर्ने काम रोकिनुपर्छ । श्रमजीवी प्राध्यापक, कर्मचारीहरुलाई बिनाकारण, बिना सूचना बर्खास्त गर्दा शैक्षिक वातावरण खलबलिन्छ । आम चन्दादाता, क्याम्पसका सरोकारवाला, समाजसेवी बुद्धिजीवी, शिक्षाप्रेमी सुरुङ्गाबासीले फेरि एकपटक सहमति, सहकार्य र एकताको उदाहरण प्रस्तुत गर्न जरुरी छ । बौद्धिक केन्द्रको रुपमा रहेको क्याम्पसलाई समस्याग्रत राखिरहनुले फाइदा कसैलाई हुँदैन । संवाद, छलफल र अन्तरक्रियाको माध्यमबाट देखिएका समस्याहरुलाई हल गरी क्याम्पसमा शैक्षिक एवम् प्राज्ञिक वातावरण बनाउन जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here