मेचीनगरमा तेस्रो अन्तर्राष्ट्रिय औद्योगिक व्यापार तथा पर्यटन महोत्सव २०७६ को तयारी

0
917

लक्ष्मी उप्रेती / मेचीनगर ।

नेपाल सरकारद्वारा घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सभ्य र भव्यरुपमा सफल पार्ने उद्घेश्यले झापाको मेचीनगरमा ९ दिवशिय तेस्रो अन्तर्राष्ट्रिय औद्योगिक व्यापार तथा पर्यटन महोत्सव २०७६ हुने भएको छ । उत्पादक र उपभोक्ता बीच सुमधुर सम्बन्ध स्थापना गर्ने हेतुले महोत्सव आयोजना गर्न लागिएको हो ।

मेची उद्योग बाणिज्य संघको आयोजना तथा मेचीनगर नगरपालिकाको सह आयोजनामा आगामी पुस ९देखि १७ गतेसम्म महोत्सव सञ्चालन हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईयो । महोत्सवको मुख्य विशेषता नेपाल लगायत छिमेकी राष्ट्रहरुको लगानीकर्ता, उत्पादक, वितरक, निर्यातकर्ताहरुलाई एउटै मञ्चमा भेटघाट, भेला गराई सामाग्रीहरुको प्रत्यक्ष अवलोकन तथा जानकारी उपलब्ध गराउनु रहेको आयोजक संस्थाका अध्यक्ष ऋषिराज तिम्सिनाले बताए ।

तेस्रो अन्तर्राष्ट्रिय औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव–२०७६ मा नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगहरुका अतिरिक्त विदेशका वस्तुहरु र पहाडी जिल्लाका कृषिजन्य र अन्य उत्पादनहरु समेत गरी करीब २ सय स्टलहरु रहने छन् भने एक लाख दर्शकले अवलोकन गर्ने तथा ५ करोडको कारोवार हुने आयोजकले लक्ष्य लिएको पत्रकार सम्मेलनमा वितरीत प्रेस विज्ञप्तीमा उल्लेख छ । आयोजकले न्यूनतम १० हजारदखि अधिकतम ३० हजार रुपैयाँसम्म स्टलको शुल्क निर्धारण गरेको छ ।

संघले २०६० सालमा प्रथम पूर्वाञ्चल औद्योगिक व्यापार मेला तथा २०७० सालमा दोस्रो पूर्वाञ्चल औद्योगिक व्यापार मेला समेत सफलतापूर्वक सम्पन्न गरेको छ । २०६० सालको महोत्सवमा नेपाल, वंगलादेश, भारत, चिन र पाकिस्तानका प्रदर्शकहरुको जम्मा १ सय ६० वटा स्टल रहेको थियो । महोत्सवमा ६५ हजार दर्शकले अवलोकन गरेका थिए भने जम्मा ३ करोडको कारोवार भएको थियोे । २०७० सालको महोत्सवमा नेपाल, वंगलादेश र भारतका प्रदर्शकहरुको जम्मा १ सय ९० वटा स्टल रहेको थियो, सो महोत्सवमा ८० हजार दर्शकले अवलोकन गरेका थिए भने जम्मा ४ करोडको कारोवार भएको थियोे ।

महासचिव ध्रुव कनालले सञ्चालन गरेको पत्रकार सम्मेलनमा महोत्सव सम्पन्न करिव ६० लाख रुपैयाँ खर्च हुने र व्यवसायीलाई सःशुल्क व्यवस्थित र सुविधा सम्पन्न स्टल उपलब्ध गराउने बताइएको छ । यस महोत्सवले करिव २२,००० वर्ग मिटर क्षेत्रफल ओगट्ने छ । प्रदर्शनी तथा बिक्रीकक्ष, सांस्कृतिक तथा सांगितिक क्षेत्र, वालउद्यान तथा मनोरञ्जन क्षेत्र र खानपान क्षेत्र महोत्सवलाई मुख्यतःचार भागमा विभाजन गरिएको छ । मेलामा बंगलादेश, पाकिस्तान, भारत र भुटानका प्रदर्शकहरुको समेत सहभागिता रहनेछ ।

प्रदर्शनी कक्षमा अलग अलग परिसर बनाई अटोमोवाईल्स, बैंक तथा वित्तीय संस्था, मोवाइल इलेक्ट्रोनिक्स तथा आइटी, निर्माण सामाग्री, अन्तर्राष्ट्रिय, औद्योगिक उपकरण, कृषि तथा जडिबुटी, पर्यटन सम्वन्धी, दैनिक उपभोग्यका वस्तुहरु, हस्तकला तथा तयारी पोशाक साथै जुत्ता चप्पलका स्टलहरु रहने आयोजक संस्थाका वरिष्ठ उपाध्यक्ष मोहन निरौलाले जानकारी दिए । व्यापार व्यवसाय सहजीकरणका लागि गोष्ठी तथा सेमिनारहरु सञ्चालन गरिनेछ । अक्टोनोर्म प्रविधिबाट विशिष्ठ प्रकारका स्टलहरु बनाइन ेछ । मेलामा कलाकृत्तियुक्त मुल प्रवेशद्वारको निर्माण गरिनेछ भने महोत्सव परिसर भित्र आकर्षक सेल्फी जोन समेतको व्यवस्था गरिने अध्यक्ष तिम्सिनाले बताए ।

सांस्कृतिक कार्यक्रम अन्तर्गत दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति सहित विभिन्न जात–जातिहरुका साँस्कृतिक कार्यक्रम समेत आयोजना गरिनेछ । महोत्सवमा विभिन्न सामुदायिक तथा संस्थागत विद्यालय, स्थानिय सांगीतिक व्याण्ड समेतको विविध सांस्कृतिक कार्यक्रम रहने छ । वालउद्यान क्षेत्रमा विभिन्न साहसिक तथा मनोरञ्जनात्मक खेल तमासाहरुका रहने छन् । खानपान क्षेत्रमा भेज तथा ननभेजका छुट्टा छुट्टै फुडकोर्ट रहने छ । महोत्सव परिसर भित्र मिडिया सेन्टर, फ्रि वाइफाइ जोन, प्राथमिक उपचार, शौचालय, खानेपानी तथा महोत्सव बाहिर पार्किङ्गको उचित व्यवस्था गरिनेछ ।

प्रचार प्रसारकालागि राष्ट्रिय, स्थानीय सञ्चारमाध्यम तथा सोसियल मिडियामा प्रचार प्रसार, माइकिंग, लिफलेट, क्रस तथा पोलब्यानर, होङ्गिबोर्ड र स्वागतद्वारहरुको निर्माण गरिनेछ । महोत्सवमा सुरक्षाकालागि महोत्सव परिसर भित्र सिसिटिभिबाट चौबिसै घण्टा सुरक्षाको व्यवस्था गरिनेछ भने सरकारी सुरक्षाकर्मीको समन्वयमा निजी सुरक्षाकर्मीबाट समेत सुरक्षा व्यवस्थालाई थप भरोसायुक्त र मजबुत पारिनेछ । प्रत्येक स्टलको लागि बीमा सहित स्टलमा अग्नी नियन्त्रण यन्त्र राखिनुका साथै दमकल लगायत एम्वुलेन्सको व्यवस्था गरिन संघले जनाएको छ ।

उपभोक्ता र उत्पादकहरुलाई एकै ठाउँमा भेला गराई उद्योगी÷व्यवसायीहरु बीच औद्योगिक र उपभोग्य वस्तुहरु, लगानीका नयाँ प्रविधि सम्बन्धमा आपसी जानकारीको आदान–प्रदान गर्ने वातावरण यस महोत्सवले श्रृजना गर्ने विश्वास आयोजकको छ । मेची उद्योग वाणिज्य संघ मुख्य आयोजक रहेको यस अन्तर्राष्ट्रिय महोत्सवमा नेपाल उद्योग वाणिज्य महासंघ, प्रदेश उद्योग वाणिज्य महासंघ, मेचीनगर नगरपालिका, नेपाल पर्यटन बोर्ड, नेपाल भ्रमण वर्ष सचिवालय, झापा जिल्ला स्थित स्थानीय तह समेतसँग समन्वय गरी सबैको साथ तथा सहयोग लिई यो महोत्सवलाई सफल गरिने संघका कार्यकारी अधिकृत गोपाल वस्नेतले बताए ।

उनका अन’सार विभिन्न १३ वटा उपसमिति निर्माण गरिएको छ । पत्रकार सम्मेलनमा भारतीय सञ्चारकर्मीहरुको समेत बाक्लो उपस्थिती थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here