झापा।

कतिपय स्थानीय तहका जनप्रतिनिधिले जनचाहना अनुसार काम गर्न नसकेको आरोप लागीरहेका बेला झापाको एक स्थानीय तहका जनप्रतिनिधिले भने गाउँमा विकासको लहर नै ल्याएका छन् ।
अर्जुनधारा नगरपालिका–१० का वडाध्यक्ष बलदेव गोम्देन तामाङले आफ्नो वडामा मात्रै झण्डै ५० करोडभन्दा बढीको योजना भित्र्याएर नगरकै उदाहरणीय जनप्रतिनिधिका रुपमा पहिचान बनाएका छन् । आफ्नो नगरको बजेटभन्दा भिन्न विकास निर्माणका लागि बजेट भित्र्याएर वडा नं. १०बासी माझ उनी विकास प्रेमी वडाध्यक्षको रुपमा चिनिएका छन् । स्थानीय तहको निर्वाचन भएर जनप्रतिनिधि भएको दुई वर्षमा नै उनले करोडौंको योजना सञ्चालन गरेपछि स्थानीय हर्षित पनि भएका छन् ।
आफ्नो कार्यकालभित्र वडाका सबै सडक कालोपत्रे गरिसक्ने उनको रणनीति छ । सोही अनुसार अहिले उनले पहिलो प्राथमिकतामा सडकलाई राखेका छन् । सडक निर्माणका लागि मात्रै उनले एकल प्रयासमा ३४ करोड रुपैयाँका दुईवटा योजना सञ्चालनमा ल्याएका छन् । नगरकै गौरवको आयोजनाको रुपमा वडा नं. १०मा ड्रेनसहितको उच्चस्तरीय दुई वटा सडक निर्माण हुँदैछन् ।
झण्डै ९ किलो मिटर सडक निर्माणका लागि ३४ करोड रुपैयाँको योजना अहिले सञ्चालनमा रहेको वडाध्यक्ष तामाङले बताए । तामाङका अनुसार कालिस्थान–चिसापानी हुँदै सालबारी जोड्ने सडकखण्ड र मंगलमणि मार्ग हुँदै बराल गाउँबाट सेर्पा चोकसम्मको सडक निर्माणका लागि ३४ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । सो सडकको चौडाइ साढे सात मिटर कालोपत्रे हुनेछ भने ५० एमएमको पिच गरिने अध्यक्ष तामाङ बताउँछन् ।
उनी भन्छन्– यो सडक नगरकै गौरवको आयोजना हो । जुन सडक निर्माणका लागि ठेक्का समेत लागीसकेको र कञ्चनजंघा सडक निर्माण सेवाले ठेक्का लिएको छ । सडक निर्माणको काम दुई वर्षभित्र सम्पन्न हुन्छ– अध्यक्ष तामाङले भने । सडक निर्माणका लागि शहरी विकास मन्त्रालयसँग समन्वय गरेर बजेट ल्याइएको र सडक ड्रेनसहितको उच्चस्तरीय हुने उनले बताए ।
त्यस्तै मिलनचोक–धाइजन सडकखण्डको दुई किलो मिटर बाटो कालोपत्रेका लागि समेत प्रक्रिया थालेको र उक्त सडक समेत उच्च स्तरीय बन्ने अध्यक्ष तामाङ बताउँछन् । तीनवटै सडकको काम मंसीरको पहिलोसाताबाट शुरु गरिने र सडक निर्माणका लागि समिति समेत गठन भइसकेको उनले बताए । नगरले वडाका लागि आर्थिक वर्ष २०७६÷०७७मा ८० लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । उक्त बजेटले वडाको अन्य कामसँगै नयाँबाटो निर्माण निर्माणाधीन बाटोमा ग्राभेल, वडाका सडकको स्तरोन्नति गर्दै बाटोलाई उत्कृष्ट बनाउन खर्च गर्दै आएका छौं– वडाध्यक्ष तामाङले भने– सोही बजेटले कृषकलाई वीऊविजन घाँस उत्पादनदेखि वडाबासीलाई बाख्रा, कुखुरा, गाईभैंसी समेत निःशुल्क दिएर स्वरोजगार बनाउन पहल थालिएको छ ।
वडाको गौरवको आयोजनामा अहिले जलकन्या मन्दिर नजिकै १४ करोड रुपैयाँको लागतमा खानेपानी ट्याङ्कीको निर्माण भइरहेको छ । ओभरहेड निर्माणको काम भइरहेको र दुई वर्षभित्र निर्माण सम्पन्न गरी वडा–१० र ११का झण्डै बीस हजार जनालाई स्वच्छ र शुद्ध पानी वितरण गर्ने लक्ष्य रहेको तामाङको भनाइ छ । खानेपानी डिभिजन कार्यालय र प्रदेश सडकारले खानेपानी ट्याङ्की निर्माणका लागि बजेट प्रदान गरेको उनी बताउँछन् । उनी भन्छन्– खानेपानी डिभिजन कार्यालयबाट एक करोड ५ लाख, प्रदेश सडकारबाट समेत करोडभन्दा बढी बजेट प्राप्त भएको छ हाल ओभरहेड ट्याङ्की निर्माणका लागि एक कारोड ७५ लाख रुपैयाँ लाग्ने ताामाङ बताउँछन् । स्थानीय दाता इन्दिरा वनले खानेपानी ट्याङ्की निर्माणका लागि ५ कठ्ठा जग्गा निःशुल्क उपलब्ध गराएपछि खानेपानी आयोजनाको निर्माण कार्य सञ्चालन भएको हो, अहिले ट्याङ्की निर्माणसंगै घेराबेराको काम सम्पन्न भएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोगमा वडामा अहिले ज्येष्ठ नागरिक मिलन केन्द्रको निर्माण कार्य थालिएको छ । १९ लाखको लागतमा निर्माण शुरु भएको मिलन केन्द्रका लागि मन्त्रालयले १० लाख रुपैयाँ बजेट प्रदान गरेको बताइएको छ । आफ्ना छोराछोरी विदेश पलायन भएर आमाबुबा घरमा एक्लै भएको अवस्थामा उनीहरुलाई एक्लो महशुस हुन नदिन मिलन केन्द्र स्थापना गर्न शुरु गरिएको र केन्द्रमा मनोरञ्जनका साधन समेत राखिने वडासदस्य भोलानाथ गौतमले जानकारी दिए ।
उनले भने– शिव पाञ्चायन मन्दिरले पुराणको आयोजना गरेर सात लाख रुपैयाँ संकलन गरेको र सोही रकममध्येबाट छ लाख रुपैयाँले एक कठ्ठा जमिन खरिद गर्दै ज्येष्ठ नागरिक मिलन केन्द्र निर्माण शुरु भएको छ । मिलन केन्द्रमा बिहान ११ बजेदेखि ३ बजेसम्म भेला गराई भजनकीर्तन, इन्टरनेटको माध्यमबाट देशविदेशमा रहेका छोराछोरीसँग भलाकुसारी गराउने कार्यक्रम रहेको गौतमको भनाइ छ । वडाध्यक्ष तामाङले स्वास्थ्य, शिक्षा र पर्यटन क्षेत्रको विकासका लागि समेत विभिन्न योजनाहरु सञ्चालन गरिरहेको जानकारी दिए ।































