स्वरोजगारमा लाग्ने युवालाई प्रोत्साहन गरौं

२८ कार्तिक २०७६, बिहीबार मा प्रकाशित

सम्पादकीय

मुलुकमा केही गर्न सकिँदैन र रोजगार छैन भन्दै दिनहुँ सयौं युवा विदेशिने क्रम जारी छ । युवाहरु ठूलो संख्यामा अमेरिका, बेलायत, अष्ट्रेलियासँगै खाडी मुलुक र मलेसियामा आफ्नो श्रम बगाइरहेछन् । त्यहाँ उनीहरुले भोग्ने भुक्तमानका ठेलीकाठेली महाकाव्य लेख्न सकिन्छ ।

हरेक दिन युवाका लाशहरु बाकसमा बन्द गरेर त्रिभुवन विमानस्थलमा उतारिन्छन् । यो दुश्चक्रबाट मुलुकले कहिले मुक्ति पाउँछ ? प्रकृतिले हराभरा, भौगोलिक विविधताले विछट्टै सुन्दर, उत्पादनका दृष्टिले भव्य सम्भाव्य बोकेको नेपाल अहिलेसम्म पनि गरिबी, अभाव र बेरोजगारीको पासोमा फसिरहेको छ । राजनीतिक अस्थिरता, भ्रष्टाचार, बेथिति, विसंगतिबाट मुलुक मुक्त हुन सकेको छैन । युवा वर्गलाई पर्याप्त मात्रामा रोजगार सृजना गर्न राज्य हाललाई सक्षम छैन । यस्तो अवस्थामा राज्यस्तरबाट मात्र रोजगारको आशा गर्नुभन्दा स्वरोजगार सृजना गरे युवाशक्तिको पलायनलाई केही मात्रामा रोक्न सकिन्छ ।

यस्तै उदाहरण प्रस्तुत गर्न झापाका एक युवा अग्रसर भएका छन् । झापा जिल्लाको दक्षिणी सीमान्त गाउँपालिका झापा गाउँपालिका–३ कामाटोलीका युवा चन्द्रप्रसाद बस्नेतले दुई वर्ष इजरायलमा कृषि तालिम लिई आफ्नै गाउँमा व्यावसायिक केरा खेती शुरु गरेका छन् । बस्नेतले आफ्नै गाउँमा एग्री सेन्टर झापाको व्यावसायिक फर्म दर्ता गरी व्यावसायिक केरा खेती शुरु गरेका हुन् ।

बस्नेतले झापा गाउँपालिकामा हाल २० बिगाह जमिन भाडामा लिएर सो उन्नत जातको केरा खेती शुरु गरेका छन् । यो खेतीलाई अर्को वर्षबाट ५० बिगाह बनाउने समेत उनको योजना छ । केराको व्यावसायिक उत्पादन गरी केराबाट अन्य विभिन्न परिकार र वाइन समेतको उत्पादन गरी तेस्रो मुलुकमा समेत निर्यात गर्ने सोचमा रहेका बस्नेत एक पौरखी युवा हुन् । केराको बेर्ना रोपेको वर्ष दिनदेखि उत्पादन सुरु हुने र प्रतिविगाह चार लाख रुपैयाँसम्म आम्दानी लिन सकिने देखिन्छ । उत्पादनलाई जोड दिएर मात्र आयातलाई न्यूनीकरण गर्न र निर्यातलाई प्रश्रय दिन सकिन्छ ।

गुनासो गरेर मात्र हुँदैन । निराशाको खेती गरेर सकारात्मकताको उत्पादन असम्भव छ । जसले पहल गर्छ, पौरख गर्छ, लगानी गर्छ र कर्मक्षेत्रमा हाम फाल्छ, उसले सफलता पाउने निश्चित छ । चियापसलमा गफ गरेर मात्र मुलुकको समृद्धि असम्भव छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय लक्ष्य तब सफल हुन्छ, जब त्यसको मर्म अनुरुप आम जनसमुदाय र विशेष गरी युवावर्ग क्रियाशील हुन आवश्यक छ । विदेशको उन्नति देखेका, विकास बुझेका र समृद्धि चाखेका युवाहरुले आफ्नै मातृभूमिमा सुन फलाउन सकिन्छ भनेर स्वरोजगारमा लाग्नु स्तुत्य छ ।

बस्नेत लगायत कर्मक्षेत्रमा समर्पित युवाहरुलाई गाउँसमाज, स्थानीय सरकार र सम्पूर्ण राज्यबाट सहयोग हुन जरुरी छ । हौसलाले उमंग थप्छ, प्रेरणाका पङ्खले मानिसमा सामथ्र्यको उडान भर्छ, तागत सृजना गर्छ । तसर्थ, सबै पक्षबाट उत्पादनका क्षेत्रमा क्रियाशील रहेका र स्वरोजगारमा भर्खरै पाइला चाल्न प्रयत्न गर्दै गरेका युवालाई आशाको दीप जलाएर अझै उत्प्रेरित बनाउन जरुरी छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here