सुरक्षा निकायको उपस्थिति कि कारवाही पनि ?

0
537

रत्नकुमार बुढाथोकी,

झापाको सुदूर दक्षिणी कचनकवल गाउँपालिका जिल्ला सदरमुकाम भद्रपुरबाट झण्डै १७ किलोमिटर टाढाको दुरीमा पर्दछ । यस गाउँपालिकाभित्र एक इलाका प्रहरी कार्यालय र अन्य वडामा प्रहरी चौकी रहेको इतिहास पुरानै छ । पूर्वमा मेची नदी पर्दछ भने दक्षिणमा भारतको विहार राज्य पर्दछ । विगतको इतिहास हेर्ने हो भने खुला सीमानाका कारण दिनदहाडै भारतीय डाकाको समूहले गाउँ नै रित्याएको इतिहास थियो भने चल्तापुर्जा देउनियाहरु बर्षेनि उक्त समूहलाई कुत बुझाउने र पाहुना झैँ सत्कासहित बिदा लिन्थे ।

२०५५ सालसम्म गोरु जोत्न पाइन्न भन्ने खबरले पहाडबासी यहाँ बस्न रुचाउँदैन थिए । आदिवासी समुदायको बाक्लो आवादी भएको यस क्षेत्रको ५ नम्बर वडा साविक पाठामारीमा एक घरमात्रै हालसम्म बसेको पाइन्छ भने डाका र चोरबाट नलुटिएको अघिल्लो पुस्ता विरलै मात्रै पाइन्छ । भारतीय डाका र चोरका कारण जनता हिजो अत्यन्तै प्रताडित थिए । तथापि शान्ति सुरक्षाको छेउमै लुटिए पश्चात् सुरक्षाका पहरेदारबाट सान्त्वना भने पाउने गर्थे । आजको जस्तो स्वतन्त्रता थिएन, डाका चिनेता पनि फेरि निशाना परिन्न कि भन्ने आशामा मौनता नै विकल्प थियो । वर्तमान शान्ति सुरक्षा र तस्करी नियन्त्रणमा राज्यले विशेष सफलता प्राप्तिको समाचार त सुन्न र पढ्न पाइन्छ ।

नेपालकै सबै भन्दो होचो भू–भाग कचनकवल मात्रै होइन, देशभरिका खुला सीमानाका कारण घटेका यस्ता घटनाको समाचार पढिरहँदा कचनकवलको घटना र समाचार प्रतिनिधि समाचार होला । कचनकवलको सुरक्षा प्रबन्ध र अवस्थालाई भूतकालको प्रबन्ध र अवस्थासँग बराबर तुलना गर्ने भन्ने किमार्थ होइन । हिजो भारतीय ढाकाहरूको गजगज थियो भने हाल तस्करहरूको गजगजको केन्द्रमा परिणत हुँदै गरेको महशुस विविध प्रकाशित समाचारलाई स्थानीय जनताद्वारा प्रत्यक्ष देख्न सकिन्छ । हिजोको राजतन्त्रात्मक व्यवस्थाको सत्ता होस् या वर्तमान गणतन्त्रात्मक व्यवस्थाको सत्तामा होस् कानूनका नजरमा सबै समान नै रहन्छन् भनिन्छ ।

पुरानो राज्यसत्ताको अन्त्य र गणतन्त्रको प्राप्तिका लागि जब गाउँ–गाउँमा जनजागरणको अभियान लिएर तत्कालीन नेकपा माओवादी जनयुद्ध बस्ती–बस्तीमा छिरियो तब भारतीय डाका र चोरहरूलाई विपत्ति आयो भने जनतामा ठूलो राहत र आशाभित्र हृदयमा जागे पनि आफ्नै सुरक्षाकर्मीबाट बच्न कर्कलाको पातमा टिलपिलाएको पानी झैँ महशुस पनि नभएको होइन भने कहियो आफ्नो सुरक्षाका लागि व्यवस्थापन गरिएका औजारहरू सरकारलाई नबुझाए आफ्नैबाट असुरक्षाको वातावरण बन्दा समग्र जनता दुबै पक्षको चपेटामा परे ।

समयको बहावसँगै डाका र चोरहरूको दबदबा क्रमशः घट्दै समाधान र जनताको जीउधनको सुरक्षाको बराबर श्रेय त राज्य र तत्कालीन माओवादीले पाउलान् । तर, विडम्बना फेरि भिन्न रूपमा अर्को राज्यकै लागि समस्याको चुनौति बन्यो तस्करी । अपराधका जुनसुकै रूप भए पनि त्यो व्यक्ति, समाज र राष्ट्रका लागि प्रत्युत्पादक बन्छ । भारतीय सीमा अतिक्रमणका कारण दिनप्रतिदिन सीमा स्तम्भ सार्ने र गायब गरिँदा जुनसुकै भाषीका नेपाली नागरिकको मन कटक्क खानु र राज्यको उपस्थितको आशा गर्नुभन्दा अन्य विकल्प के नै रहन्छ र जनतामा ।

फलस्वरूप सशस्त्र सीमा सुरक्षाबल केचनाका ढिलै भए पनि स्थापना गरी राज्यको उपस्थिति विओपी केचनाले देखायो र सशस्त्र प्रहरीको पहिलो कारबाहीका क्रममा हतियारसहित नेपाली सीमाभित्र प्रवेश गरेका भारतीय एसएसबीका जवानहरूलाई नियन्त्रणमा लिइरहँदा तमाम स्थानीयले मात्रै होइन देशभरिका जनताको अपार माया र प्रशंसाले उच्च सम्मान र कदर गरिएको केही समय बित्न नपाउँदै नेपाली तस्करहरूको दबदबा दिनप्रतिदिन बढ्न थाल्यो । खुल्ला सीमानाका कारण राज्य र समाजले चाहेजस्तो कारवाही राजनीतिक आवरणमा संरक्षित परिवेशमा हुन सकेन नै तथापि हिजोको चोरी, डकैती, तस्करी, जुवातास, जाँडरक्सी, लागूऔषध जस्ता घटनाहरू बाक्लो रूपमा राज्यको मजबुत उपस्थिति भनिरहँदा मिडियामा छताछुल्ल देखिने गरी आउनु दुःखको विषय थियो ।

उपलब्ध स्रोत र साधनको अधिकतम् उपयोग सुरक्षा निकायबाट गरिरहँदा केही भएन मात्रै होइन सुरक्षाको बागडोर सम्हालेर अहोरात्र नभनी लागिपर्ने केही सुरक्षा निकायका सपुतहरूका कारण इलाका प्रहरी कार्यालय बनियानीमा रामबहादुर तामाङको नेतृत्वको टिमले पु¥याएको योगदानको सम्झना अझसम्म युवापुस्ता मात्रै होइन वयोवृद्ध आमाबुबाहरू समेतले गरेको पुरानो इतिहास पनि छ । यसरी नै सशस्त्र सीमा सुरक्षा बलको पछिल्लो उदाहरण इनिस्पेक्टर बिभुराज दाहालको नेतृत्वको टिमको मूल्याङ्कन पनि उच्च रहेको जनजनमा पाइन्छ ।

नेपाली जनता विरोध मात्रै होइन उचित मूल्याङ्कन गर्न पनि उति नै माहिर भएको प्रमाण पनि हो भने जनतासँग प्रहरी कार्यक्रम सहित आउनु भएका तत्कालीन इलाका प्रहरी कार्यालयका इञ्चार्ज उदय शमशेर जबराले शान्ति, सुरक्षा र अमन चयनका क्षेत्रमा नौलो प्रस्तुति दिइरहँदा भारतीय कपडा, ब्रोइलर कुखुरा, गोरु तस्करी, सुपारी तस्करी, भारतीय नम्बर प्लेटका सवारीसाधन, जाँडरक्सी, गुण्डागर्दी जस्ता पक्षहरूमा क्रमशः सून्यतामा झार्दै आफ्नो संस्थाको भौतिक पक्ष मात्रै नभएर आफू मातहतका जवानहरूलाई असल अभिभावकत्व दिइ रहँदा कचनकवलले शान्ति सुरक्षाका क्षेत्रमा स्वर्णकाल मनाउने अवसर र चुनौतिका चाङहरूका बीच नेपाल प्रहरीलाई साँच्चिकै जनताको प्रहरीका रूपमा स्थापित गराउनु चुनौतिको रूपमा रहेको वर्तमान अवस्थामा वास्तवमै चुनौतिलाई अवसरका रूपमा बदल्नुमा उहाँको निडरपन, निस्वार्थपन र कर्तव्यबोधताकै कारण सुरक्षाप्रतिको जनताको पुरानो नजरमा देखिएको अविश्वासलाई नेपाल प्रहरीको गरिमा बढाउने सफलता चुम्नुभयो । सदियौँदेखि जाँडरक्सी र जुवातासको लतमा फसेकाहरुकालाई मूलधारमा ल्याई असल नागरिक निर्माणमा व्यवहारबाटै जनतासँग प्रहरी स्थापित गराउँदै अभिभावक बन्न सफल हुनुभयो । विधि र प्रक्रियाभित्र बस्नु र चल्नु राष्ट्रसेवक मात्रै नभई जनताको पनि कर्तव्य सबैखाले नागरिकले पालना गर्नु झैँ उदय शमशेर जबराको स्थान्तरणले आम नागरिकमा पीडा थपिए पनि स्वीकार्नुको विकल्प रहेन । भर्खरै गएको दशैँ, तिहार, छैठ जस्ता नेपालीहरूका महान् पर्वहरू सकिएको छ ।

यस्ता पर्वका नामसँगै भित्रिने विकृति र विसङ्गतिले फेरि टाउको उठाउँदा आम सचेत नागरिकका लागि उदय शम्शेर सम्झनामा झुले पनि उदयको विदाइको अवसर कुर्नेका लागि उल्लासमय नै बन्यो । नेपाली सीमाका हरेक गाउँबस्ती सुरक्षित र सभ्य बनाउन यस्ता सपुतहरू जन्मनु नै पर्छ । तर, व्यक्तिगत स्वार्थमा नफसी उदय शम्शेर झैँ सभ्य र भव्य समाजको निर्माणका लागि कैयौँ व्यक्तिगत स्वार्थहरूमा नफसी जाली, तस्कर र फटाहाहरुलाई खुला रूपमा हिँड्ने वातावरण निर्माण फेरि नआओस् । स्थानीय सुरक्षामा प्रहरी मात्रै एक्लै छैन जनजनको साथ कर्तव्यनिष्ठ सुरक्षाका नेतृत्वलाई सदैव रहने छैन ।

स्थानीय शान्ति, सुरक्षा र तस्करी नियन्त्रणका नाममा घरेलु किसानहरूलाई मात्रै नभई राज्यलाई ठग्नेहरुलाई कारबाहीको नाममा नाङ्लो ठँट्याएर हात्ती तर्साउने कार्य नगरियोस् । सत्य सेवा सुरक्षणम्को मूलमन्त्र व्यवहारमा देखियो भने मात्रै नेपाली बन्छ तब नेपाल बन्छ । इतिहासका निर्माता जनता हुन सत्य तथ्य ओकल्ने तल्लो दर्जाका नागरिक जति उचित कार्यको मूल्याङ्कन कहीँबाट हुन नसक्ने भएकाले खस्कँदो सुरक्षा र भन्सार छलिका अवैध गिरोह उपर कडा निगरानीमा सन्तुलन ल्याउन माथिल्लो निकायले पनि उत्तिकै मेहनत अझ गर्नुको विकल्प छैन । समृद्ध नेपाल सुखी नेपाली त्यो बेलाबन्छ जब जनजनमा अविश्वासको पर्दा सदाका लागि फाटेर जान्छ । जय नेपाल । जय समृद्धि ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here