कनकाईमा स्थानीय विषय पढाइ हुने

२९ कार्तिक २०७६, शुक्रबार मा प्रकाशित

सुरुङ्गा ।

कनकाई नगरपालिकामा आगामी शैक्षिक सत्र २०७७ देखि स्थानीय विषय पढाइ हुने भएको छ । स्थानीय विषयको पाठ्यक्रम निर्माणको कामलाई शिक्षा, युवा तथा खेलकुद शाखाले तीब्रता दिएको छ ।

शुक्रवार कनकाई नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा २ दिने स्थानीय विषयको पाठ्यक्रम निर्माण कार्यशाला भृकुटी मावि दुर्गापुरको स्रोतकेन्द्र हलमा सम्पन्न भएको छ । कनकाई नगरभित्रका सामुदायिक र संस्थागत विद्यालयका २५ जना शिक्षकको सहभागिता रहेको कार्यशालामा , युवा तथा खेलकुद शाखाका प्रमुख उपसचिव पीताम्बर गौतम, आदर्श विद्यामन्दिर मावि घैलाडुब्बाका शिक्षक योन्देन सुनुवार र भाषा प्रशिक्षक टीकाप्रसाद लामिछानेले सहजीकरण गरेका थिए ।

केही महिना अघि नै नगरका सबै विद्यालयहरुबाट स्थानीय विषयमा सामेल गर्नुपर्ने विषयवस्तु सम्बन्धमा सुझाव संकलन गरिएको थियो । स्थानीय सरोकारवालाको सहभागितामा स्थानीय आवश्यकता र विविधतालाई समावेश गरी स्थानीय पाठेयक्रम तयार गरिन्छ ।

दुई दिने कार्यशालाबाट ९ वटा तहगत सक्षमता र ५ विषयक्षेत्रहरु स्थानीय पाठ्यक्रममा समावेश गर्न सुझाव प्राप्त भएको छ । आधारभूत तह (कक्षा १ देखि ८ सम्म) क्रमशः लागु गर्नुपर्ने सरकारी नीति अनुरुप स्थानीय पाठ्यक्रम निर्माण गर्न लागिएको हो । शैक्षिक सत्र २०७७ देखि कक्षा १ र कक्षा ६ मा मात्र यो विषयको पठनपाठन हुनेछ ।

कार्यशालाबाट प्राप्त सुझाव अनुरुप नगरको भूगोल, नगरको पर्यटन र व्यवसाय, नैतिक आचरण, सामाजिक मूल्यमान्यता तथा राष्ट्र र राष्ट्रियता जस्ता विषयक्षेत्रमा आधारित भई स्थानीय विषयको पुस्तक लेखिने छ । यसलाई शिक्षक, विद्यार्थी, अभिभावक एवम् शिक्षाका सरोकारवाला सबैको थप सल्लाहसुझाव लिएर मात्र पाठ्यक्रमलाई अन्तिम रुप दिइने प्रशिक्षक सुनुवारले बताए ।

यस अघि झापाको विर्तामोड नगरपालिकाले स्थानीय पाठ्यक्रमको रुपमा आचरण सचेतना शिक्षा लागु गर्ने निर्णय गरिसकेको छ भने अन्य स्थानीय तहले पनि यस सम्बन्धी गृहकार्यलाई अघि बढाएको बुझिएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here