अपराध रोक्न घरधनी र डेरावालको विवरण खोज्दै प्रहरी

0
785

सुरेन्द्र भण्डारी / नरेन्द्र ढकाल, बिर्तामोड ।

ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा अपराधका घटना बढिरहेका बेला आपराधिक क्रियाकलाप रोक्न प्रहरीले झापामा नयाँ अभियान शुरु गरेको छ ।

जनघनत्वको हिसाव र व्यापारिक दृष्टिकोणले समेत अत्यधिक चहलपहल हुने बिर्तामोडमा जिल्लाको अन्य स्थानमा भन्दा बढी अपराधका घटना घट्ने भएपछि यसलाई न्यूनीकरण गर्न प्रहरीले जिल्लामै पहिलोपटक घरधनी र डेरावालको विवरण राख्न शुरु गरेको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीले नेपाल सरकार गृहमन्त्रालयसंग समन्वय गर्दै घर भाडामा दिने व्यक्ति र डेरामा बस्ने सबैको विवरण राख्न शुरु गरेको हो । समाजमा शान्ति सुरक्षा कायम राख्न प्रहरीलाई सूचना आबश्यक रहेको र आपराधिक क्रियाकलापमा सम्लग्न व्यक्तिको विवरण समेत इलाका प्रहरी कार्यालयसँग नभएकाले यस्तो अभियान शुरु गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक मोहनकुमार थापाले जानकारी दिए । अपराध हुनसक्ने स्थानहरुको समेत जानकारी प्रहरीसँग नरहेकाले विवरण संकलनका लागि काठमाडौं उपत्यका बाहिर पहिलोपटक यो अभियान शुरु गरिएको प्रहरी नायव उपरीक्षक थापाको भनाइ छ ।

एक लाखभन्दा बढी जनसंख्या रहेको बिर्तामोड नगरपालिकामा १९ हजार ८ सय ६२ घरधुरी रहेका छन् । जहाँ ६० हजार ४ सय २४ महिला र ५८ हजार ७ सय ६२ जना पुरुषको बसोबास रहेको छ । त्यत्तिनै संख्यामा भाडामा बस्ने मानिस रहेको र उनीहरुमध्ये धेरै घरधनीलाई को, कहाँ, के गर्छन् भन्ने विषयमा जानकारी नहुँदा अपराधका घटना बढेको भन्दै प्रहरीले यो अभियान चलाएको बताइएको छ । बिर्तामोडमा घट्ने अधिकांश घटना डेरावालाबाटै भएका छन्– ‘प्रहरी नायव उपरीक्षक थापाले भने– प्रहरीले अब घरधनी र डेरावाल दुवैको विवरण राख्न शुरु गरेपछि आपराधिक गतिविधिमा कमी आउने विश्वास छ ।’ अभियानका लागि इलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामोड नगरपालिकासहित अर्जुनधारा र कनकाई नगरपालिकासंग समेत समन्वय गर्ने छ– प्रहरी नायव उपरीक्षक थापाले भने ।

१० हजार ६ सय ५९ घरधुरी रहेको कनकाई नगरपालिकामा २८ हजार ६ सय ६७ महिला र २३ हजार ८ सय एक पुरुष गरी ५२ हजार ४ सय ६८ जनसंख्या रहेको छ । त्यस्तै अर्जुनधारा नगरपालिकामा ३१ हजार ८ सय १ महिला र ३१ हजार ९ सय १३ पुरुष सहित ६३ हजार ७ सय १४ छन् । जनघनत्व बढेसंगै अपराधका घटना पनि बढ्ने सम्भावना उत्तिकै रहेपछि प्रहरीले घरधनी र डेरावालाको विवरणसहित सवारीको समेत विवरण राख्न सक्ने गरीको फारम तयार गरेको छ । जसबाट चोरी भएका सवारी साधनको समेत खोजी गर्न सहज हुने प्रहरीको भनाइ छ ।

अपराधमा संलग्न व्यक्तिहरुको समेत विवरण हुने हुँदा प्रहरीलाई शान्तिसुरक्षा कायम गर्न सहज हुने थापाको भनाइ छ । महिला हिंसा, चोरीमा संलग्न व्यक्ति, लागू औषध प्रयोगकर्ताको समेत विवरण यसै फारममा खुलाएको हुनाले कुन क्षेत्रमा त्यसखाले आपराधिक गतिविधि बढी भएको छ, सो विवरण प्रहरीसंग हुने भएकाले अपराध नियन्त्रणमा सहज हुने हामीले विश्वास लिएका छौं– प्रहरी नायव उपरीक्षक थापाले भने ।

इलाका प्रहरी कार्यालय बिर्तामोडमा तीनसयको हाराहारीमा टोल विकास संस्था रहेको र उनीहरुको सक्रियतामा तीनवटा नगरपालिकामा रहेका झण्डै ४५ हजार घरधुरीको विवरण राखिने प्रहरी नायव उपरीक्षक थापाले बताए । घरधनी र डेरावालको विवरण राख्दा प्रहरीले फोटो अनिवार्य गरेको छ । विवरण राख्नका लागि छुट्टै प्रहरी युनिटको व्यवस्था गरी डिजिटल प्रविधिबाट विवरण राख्ने बताइएको छ ।

प्रहरीले डिजिटल प्रविधिबाट घरधनी र डेरावालाको विवरण राख्न शुरु गरेपछि यहाँका स्थानीयवासी प्रहरीले शुरु गरेको कामको प्रशंसा गरेका छन् । प्रहरीको यो अभियानले अपराध नियन्त्रणमा मद्दत पुग्ने बताउँदै बिर्तामोडका व्यवसायी सुरेश वंशल भन्छन्– ‘बिर्तामोड आएका नयाँ–नयाँ व्यक्तिको पहिचान पनि हुने र उसको समेत सुरक्षा हुने हुँदा यो कार्यक्रम अत्यन्त प्रभावकारी हुनेछ ।’ त्यस्तै स्थानीय मेदनी प्रसाईले समाजमा हुने अपराधिक गतिविधि नियन्त्रणका लागि प्रभावकारी हुने भन्दै यस्तो कार्य बिर्तामोडका लागि अति आवश्यक रहेको बताए ।

बिर्तामोड–१ निवासी रामप्रसाद बाह्रकोटीले बिर्तामोडमा शहरीकरण बढ्दै गएको र आपराधिक क्रियाकलाप गर्ने मानिस पनि बस्दै गएकाले प्रहरीले शुरु गरेको अभियान अत्यन्त प्रभावकारी रहेको बताए । उनले घरधनी र डेरामा बस्ने सबै नागरिकको परिचय पत्र पनि अनिवार्य गर्नुपर्ने बताए ।

यता राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदन गोपाल सुब्बाले प्रहरीले शुरु गरेको अभियान अभियानमा सीमित नरहोस् भन्दै प्रहरीले अभिलेखलाई सुरक्षित गर्न सके आधार स्तम्भ हुने बताए ।

प्रहरीले यसअघि अपराध नियन्त्रणका लागि बिर्तामोडका प्रत्येक चोक–चोकमा सीसी क्यामेरा समेत जडान गरेको छ । तत्कालीन प्रहरी नायव उपरीक्षक कृष्ण कोइरालाको पहलमा बिर्तामोड नगरपालिकामा मात्रै झण्डै ६० बढी स्थानमा सीसी क्यामेरा जडान गरिएको छ । जसका कारण प्रहरीलाई प्रमाणमुखी अनुसन्धानका लागि सहयोग पुगेको बताइएको छ । प्रहरीले अपराध रोक्न यो अभियानलाई सञ्चालन गरेको जनाएको छ । यसअघि बिर्तामोडमा एक सुन व्यवसायीको हत्या गरेर हत्यामा संलग्नहरु फरार हुँदा प्रहरीलाई तत्कालै पक्राउ गर्न समस्या भएको थियो ।

सबै डेरावालाको विवरण भएको भए अपराधमा संलग्नलाई तत्कालै निगरानी गरेर पक्राउ गर्न सजिलो हुने प्रहरीको भनाइ छ । त्यस्तै सबै डेरावालको विवरण भएको भए आपराधिक मानसिकता बोकेका तथा विभिन्न चोरी, डकैती तथा लुटपाटमा मात्रै होइन् प्रतिबन्धित विप्लवका नेता तथा कार्यकर्ताहरु समेत पक्राउ गर्न सकिने प्रहरी नायब उपरीक्षक थापाले बताए ।

विवरण संकलनले को व्यक्ति कहाँ छ भन्ने मात्र होइन को, कहाँ, कुन पेशामा आवद्ध छ भन्ने विवरण खुल्ने भएकाले आपराधिक क्रियाकलाप गर्नेहरुलाई निगरानी गर्न सहज हुने प्रहरीको भनाइ छ । शहरी क्षेत्रमा चोरी, डकैती तथा विभिन्न अपराधका घटनामा वृद्धिभएको भन्दै प्रहरीले पूर्वतयारी स्वरुप सबैको विवरणसंकलन अभियान शुरु गरेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here