प्रेमप्रकाश पोखरेल फलाहाली,
आजभन्दा झन्नै चार दशक अगाडि म खेती किसान व्यापार व्यवसाय र समाजसेवामा समेत तनमय भएर लागेको थिए । त्यो बेला ऐले जस्तो विद्यत्जनहरुसँग भेटघाट र परिचय गरेर हिँडडुल गर्ने फुर्सदै पो कहाँ मिल्थ्यो र । वि.सं. २०४० सालतिर बिद्वानहरुका प्रवचन सुन्नपरे कि त गुरुकुलतिर जानुपर्ने हुन्थ्यो ! कि त कहाँ पुराणको कथा प्रवचन हुन्छ त्यहाँ पुग्नुपर्ने हुन्थ्यो नत्र रेडयो नेपालको धार्मिक कार्यक्रम सुन्नु पथ्र्याे । ऐले जसरी घरको बन्दन् चुडाएर हिँड्न मुस्किल थियो ।
प्रकाण्ड विद्वान योगी नरहरिनाथ । खेमराज केशवशरण लगायत केही विद्वानहरुको चर्चा सुनिन्थ्यो । अकस्मात् योगी नरहरिनाथले झापाको कन्काइ माईमा कोटीहोम लगाउने भन्ने खुबै चर्चा चल्न थालो । माई नदीको पूर्वी तटमा विश्वकल्याण कोटीहवनको तयारी भइरहेको कुरा ब्यापक भएपछि म पनि मंसिरको दोस्रो शनिबार पारेर माई नदीमा नुहाएर आउने बहाना बनाएर घरबाट बिहानै त्यतातिर लागे ।
माई खोलाको किनार खयर, सिसौ र काँसघारी सारा क्षेत्रले पनि महायज्ञ गर्ने ठाउँ पुग्दैन यहाँ देश–विदेशका मानिसहरु आउँछन् भन्ने व्यापक हल्ला जताततै सुनिन्छ । यो टहरो शनिश्चरेको, यो दमकको यस्तै क–कसको हो क–कसको बाँस खरपरालका कटेराहरु जताततै धमाधम बनाउँदै गरेको हेर्दै गएँ सबै आफसेआफ बनाउँदैछन् । मुख्य कोटीहोम हुने ठाउँ सरसफाई गर्ने हवनकुण्ड पनि पाँच वटा सानोतिनो हो र पोखरी जस्तै हेर्दै मुटु ढुकढुकिने । झण्डै पाँच कठ्ठाको एरिया हवनकुण्डहरुका लागि ब्यापक तयारी गराउँदै गरेको देखेँ । एकजना निधारमा त्रिपुण्डधारण गरेका गोरो मुहार, शीरमा ढाकाटोपी, शरीरमा टल्किने सेतोदौरामा सुकिलो धोती फेरेका होचो कदका कर्मठ ब्राह्मण ती पाँच वटा हवनकुण्डहरु फिता लगाएर नाप्दै चारैतिर घुमि–घुमि बडो फुर्तिफार्तिका साथ यज्ञकुण्ड तयारी गराउने काममा लागिरहनुभएको छ । उहाँसँग परिचय त के एसो बोल्ने हिम्मत पनि पुगेन धुरन्धर विद्वानसँग हाम्रो के ताकत ? उहाँ कर्मकाण्ड र धर्मशास्त्रको प्रमाण दिएर मात्र बोल्ने हातमा पुस्तक छ त्यो पल्टाएर यो प्रमाण अनुसार यो गराएको भन्ने सामथ्र्यले भरपुर हुनुहुन्थ्यो ।
ठूला मै हुँ भन्ने पनि उहाँले अराए बमोजिम चुप लागेर काम सघाउँदै गरेको देखेँ र म तिनछक्क परेँ र मैले उहाँसँग एक बचन बोल्न सकिन भने त्यो बेला योगी नरहरी कस्ता होलान् र कहाँ होलान् भन्ने प्रश्नको ओइरो ममा थोपरियो । आफूले चिनेका साधुटारबाट आएका आफ्नै मामा पं. केदारनाथ खतिवडाबाट बुझ्दा उहाँ कर्मेष्ठी ब्राह्मण पण्डित भीमप्रसाद तिमसिना हुनुहुन्छ । भन्नेसम्म मात्र पत्ता लगाएर यस महायज्ञ मा १००८ ब्राम्हण मध्ये सहभागी हुन चाहिँ के–के गर्नुपर्छ ? नाम कोसँग लेखाउनुपर्नेभन्दा योगीजी आएपछि अन्तरवार्ता लिएर पास भएपछि मात्र नाम निस्किन्छ भन्ने सुनेपछि म अब दुई–चार दिन लगातार आएर भए पनि सहभागी भएरै छोड्ने भन्ने अठोट गरेर म माई नदीमा स्नान गरेर घर फर्किए ।
घरमा शरीर मात्र आयो मन चाहिँ उतै छ । केही दिनपछि स्वामी कैलाशानन्द आउनुभएछ दुई–चार दिनपछि फेरि त्यतै तिरलागे । सायद योगीजीले उनै कर्मेष्ठी गुरुवर पं. भीमप्रसाद तिमसिनालाई महायज्ञपट्टिको काम जिम्मा दिनुभएको रहेछ क्यार । पर्चामा पौष १ गतेदेखि माघ १ गतेसम्म एक महिना त्यो महायज्ञ हुने भनिएको छ । एउटा पण्डालमा सहभागीको नाम लेखेको देखेर गए मैले पनि नाम लेखाएँ । फेरि नाम लेखेजतिको अन्तरवार्ता अर्को पण्डालमा हुँदै गरेको चाल पाएँ र गएँ यति लामो लाईनमा ब्राह्मणहरु रहेछन् म पनि पछि लागेँ । एकजना कादरले भित्र जानुपर्छ त्यो लाईनमा ठूला–ठूला पण्डित हरु पनि रहेछन् ।
बल्ल मेरो पालो आयो उनै कर्मेष्ठी पं. भीमप्रसाद तिमसिना गुरुजी हुनुहुन्छ उहाँले घर, थर, गोत्र, प्रवर सोध्नुभयो सोधे अनुसार बताए पञ्चप्रणव चाहिँ आएन ती ठूला–ठूला गुरुहरु पनि त्यही कुरामा अड्किएको घटनाले सनसनी फैलियो प्रायः सबैजसो ? उता एक हजार आठ जना चाहिएको छ । जडी कुरा नभएपछि केही सीप लागेन किनकि त्यही पञ्च प्रणवसहितको गायत्रीमन्त्रले कोटीहवन गर्ने निर्णय रहेछ । अब फेरि अर्को पण्डालभित्र गएर पढाउन, लेखाउन, रटाउन थालियो बल्लतल्ल पार गरियो ।
फेरि बेलुका प्रत्येक दिन ब्रह्म गोष्ठी हुन्छ र त्यहाँ पनि संस्कृतमा बोल्नुपर्नेछ त्यो बेला चाहिँ प्रकाण्ड विद्वान योगी नरहरिनाथबाट सबैसँग अन्तरवार्ता हुनेछ भन्ने व्यापक छ महायज्ञ पट्टिको सबै काम पं. भीमप्रसाद गुरुले नै गराई रहनुभएको छ । सबैका आँखा योगीजीतिरै थिए ?कहिले कति खेर आउनुहुन्छ ? एक हजार आठ जना ब्राह्मण मात्र अरु कति हो । त्यो दिन आइपुगो सजिसजाउ बनिबनाउ त सकियो । हवन बडा–बडा पाँच वटा कुण्डमा हुँदैछ महायज्ञका मूल यज्ञाचार्य नै पं. भीमप्रसाद तिमसिना र सबैभन्दा ठूलो बिचको मूल कुण्डको आचार्य पनि उहाँ नै रहेकोले अरु चारै कुण्डको लागि आचार्यहरु छनौट पनि उहाँले नै गर्नुभयो र हवनीय सरसामान जुटानएर पञ्च प्रणवसहितको गायत्रीमन्त्र द्वारा कोटी होम (करोड संख्या) पूरा गर्ने गरी तयारी भयो सुख्खा खयरका काठको घर्षण गरेर अग्नि उब्जाइयो, वैदिक विधिले मण्डपको पूजा भयो महाशंकल्प पछि यज्ञ शुरु भयो ।
भर्खरै रटेको पञ्च प्रणवसहित (पाँच वटाॐकार) भएको गायत्री महामन्त्रद्वारा विश्वकल्याण कोटीहोम झापाको कन्काइ नदीको पूर्व किनारामा शुरु भयो । हरेक ऋत्तित्वकका हात त्रिमिर्गि प्रमाण र मुखबाट स्वाहा शब्दले गुञ्जायमान पारेको थियो । यता राजमार्गमा गुडिरहेका गाडी रोकेर मानव सागर उर्लिन थाल्यो । ती वरण गरेर महायज्ञमा तन्मय भएर लागेका ब्राह्मणहरुका पेटमा माई नदीको पानी बाहेक चारदिनसम्म केही पर्न पाएको थिएन ।
जब मूल संकल्पकर्ता मूल आयोजक राष्ट्रगुरू योगी नरहरिनाथ आइपुग्नु भयो लाग्थ्यो साक्षात् कैलाशबाट भगवान् शंकर पदार्पण गर्नुभयो । अब सुकेर चाउरी पर्न लागेका ब्राह्मणका शरीर पुष्ट हँुदै गए कारण भक्तहरुका हातबाट फलफूलको बर्षा हुन थाल्यो ।
चारदिनपछि मात्र ब्राह्मणका चुलामा आगो बल्न थाल्यो र दिनको एकछाक चामल पाक्न थाल्यो । त्यो यज्ञमा गठित ७५ सदस्यीय समिति र उपसमिति पनि त्यस्तै थियो । हवनतर्फ गुरुवर आचार्य प्रवर भीमप्रसाद तिमसिना हुनुहुन्छ । हाम्रा जे–जति आवश्यक कुराहरु उहाँ मार्फत पूर्ति हुन्छ । जस्तो चरू, समिदा, अन्य खानपिन आदि । एवम् प्रकारबाट सबै हरेक समिति मार्फत सचिवालयबाट हुन्छ चारैतिर माइक घन्किएको छ । पण्डालहरू अनि करोडौ संख्यामा टनाटन भरिएको जनसागर हेर्दा लाग्थ्यो म हरिद्वारको पूर्ण महाकुम्भमा पुगेको छु जस्तो । त्यो महायज्ञमा को–को आए ? कति धान–चामल कति रकम नगद उठ्यो ? कति जिन्सी उठ्यो ? कतिले के ल्याए र के दान गरे ? कतिले पेट भरे ? कति पेट सुकाएर खटे ? कतिको विवाह र कतिको उपनयन गरियो ?
कति जनाले कति गाईदान गरे ? कति बोरा नगद चोरे र कति चोर पक्राउ परे ?कति ब्राह्मणले दक्षिणा नै त्याग गरे ? यज्ञ सकेर बचेको रकमले के–के भयो ? कतिले भाग लिएका थिए ? साहित्य सम्मेलनमा के भयो ? कति कृति बिमोचन र लोकार्पण भयो ? महायज्ञमा उपनयन भएका कति बटुक संस्कृत पढ्न थाले ? अरू पनि यस्ता अनगन्ति प्रश्नकर्ता र जवाफदेही स्वयम् जनता नै भए जस्तो मैले महशुस गरे । हामी एक हजार आठ जना ब्राह्मण पुसको ठिहीमा रात्रिको तीन बजे कन्काईको त्यो हिउँ जस्तो चिसोपानीमा स्नान गरेर तीन घण्टा जप तप ध्यान साधना जस्ता नित्य ब्रम्ह कर्ममा व्यस्त हुन्थ्यौं । त्यसपछि एक–एक गिलास उष्णजल पिएर धोती, गम्छा, तिलक धारण गरेर बिशुद्ध ब्राह्मण भेषभुषामा अखण्ड स्वाहा, स्वधामा दिनभर आ–आफ्ना कुण्डका आचार्यका अधिनमा रहन्थ्यौं ।
यसरी २०४१ पौष १ गतेदेखि माघ १ गतेसम्म महिनाभर स्वाहा–स्वाहा मै कन्काई माई नदी किनारामै बिताइयो । त्यो बेला ब्रह्मगोष्ठी रात्रि १० बजेसम्म संस्कृत भाषामा सत्संग चल्थ्यो । ब्राह्मण समूहको बिश्राम रात्रि ११ बजेदेखि ३ बजेसम्म माईका बगरमा बग्रेल्ती मानवसागर खरपरालका टहरामा लम्पसारसँग योग निद्रामा रहन्थ्यौं । समय तालिका अनुसार घण्टीका आदेसमा चल्नु ब्राह्मणको नियति नै भइसकेको थियो ।
यही बसाईमा बिद्यत् समूह उठ बस हुँदा आत्मीय परिचय भयो महायज्ञका मूल आचार्य पं. भीमप्रसाद तिमसिना गुरुवरसँग राम्रो परिच भयो र अविस्मरणीय पनि भयो । यो हुनुको पनि कारण छ । यज्ञको समापन समारोहमा ब्राह्मणहरुलाई दक्षिणा र प्रमाणपत्र योगीजीका हातबाट प्रवितरण हुनेभयो र नं. १ बाट वितरण शुरु भयो । त्यो बेला लाखौं दर्शक टुलुटुलु हेरिरहेका थिए । ६९ नं. मा मेरो दक्षिणा र प्रमाणपत्र लिने पालो आयो मलाई त्यही बेला हठात्भित्रैबाट त्याग वृत्ति उब्जियो र त्यो दक्षिणा योगीजीलाई नै समर्पण गरौं भन्ने लाग्यो र मैले गरेँ । योगीजीले माईकबाट भन्नु भनेर मेरा हातमा माईक थमाइयो । म यो दक्षिणा यही समर्पण गर्छु किनभने यो हामी सबैको साझा यज्ञ हो ।
यसको अवशेष यहाँ एउटा धाम बनोस् भनेर योगीजीमा मेरो निबेदन छ भने र यो प्रमाणपत्र चाहिँ प्रसाद स्वरुप लान्छु भनेँ । त्यो बेला मुस्कुराउँदै अति सुन्दरम् भन्नुभयो । अबिर माला लगाई दिनुभयो । हर्षोल्लास् भयो मलाई त कतिले बोकेर यज्ञकुण्ड परिक्रमा गराए । अब त्यहाँ सबैभन्दा पहिला त प्रमुख आचार्य प्रवर भीमप्रसाद तिमसिना गुरुले पनि पाएको जति दक्षिणा योगीजीमा समर्पण गर्नुभयो ।
त्यसैगरी कोटीहोम स्थल एउटा धाम बन्छ भने म पनि दिन्छु भन्दै प्रायजसो सबै ब्राह्मण वर्गले यो ठाउँ धाम बनोस् भन्दै आफूले पाएको महिनाभरको (पारिश्रमिक)दक्षिणा त्याग गरेको रकम अवशेषमा करिब एक लाख २५ हजार भयो भन्ने हल्ला चल्यो । पछि यही रकममा थप गरेर कोटीहोमको प्रथम यज्ञशाला निर्माण भएको थियो । यो तथ्यलाई सारा ब्रह्म समाजले गरेको त्याग वृृत्ति बिशेषतः राष्ट्र गुरु योगी नरहरिनाथले नै यसको श्रेय पाउनु पर्दछ । किनकि उहाँले राष्ट्र प्रेमका निम्ति स्वधर्म संस्कृति जगेर्नाका खातिर एक सय ४२ वटा कोटीहोम र लक्ष्य होम मात्र सम्पन्न गराएको चर्चा हुन्थ्यो । गुरुवर आचार्य प्रवर भीमप्रसाद तिमसिनाले यस महायज्ञमा करिब दुई महिना निःस्वार्थ निरन्तर समर्पित हुनु भएको छ । त्यसको साक्षी आफू स्वयम् रहेको कुरा सबैमा यस लेख मार्फत अवगत गराउँदछु । साथै कोटीयज्ञ प्रति योगीजीमा दण्डवत गर्दछु ।
कोटीहोमपछि गुरुको घरमा म निरन्तर जान थाले र गुरु पनि प्रायजसो (मेरोघ) धुलाबारीमा आइरहनुहुन्थ्यो । गुरू खानपिनमा ज्यादै आचार बिचारको खुब ख्याल राख्ने पूर्ण शाकाहारी हुनुहुन्छ बाहिर निस्केपछि आफै बनाएर खाने तर दुईवटा सुख्खा रोटी बस् । शरीरमा ग्याष्ट्रिकले बेला–बेला निक्कै साह«ो पाथ्र्यो । कोटीहोमपछि गुरूको कीर्ति सबैतिर व्यापक फैलियो । त्यहीसाल पाँचथर जिल्लाको च्याँङ्थापुका चर्चित ठुले खरेलले सहश्रचण्डी गर्ने र दुर्गा पाञ्चायन निर्माणको शिलान्यास गर्ने भएछन् । देशकै कर्मेष्ठी गुरु खोजी गर्दै जाँदा आचार्य प्रवर भीमप्रसाद तिमसिना कै नाम आएछ र शहश्रचण्डी गराउने जिम्मेवारी गुरु माथि आयो । गुरुले मलाई भेटेर मात्र निधो दिने भन्नुभएछ । त्यही सल्लाह गर्न मलाई बोलाएर सोध्नुभयो कहाँ हो ? के हो ? तपाईको रायसल्लाह नलिई पूर्ण स्वीकृति दिएको छैन भन्नुभयो । मैले भने यो अति उत्तम हो पाँचथर मेरो गाउँ हो र हाम्रो घर ओयामबाट तीनघण्टा पश्चिमोत्तरका ठूले खरेल नेपालमा चर्चित हुन् भनेर बताएँ । उसो भए मेरो पूर्ण सहयोगी भएर जाँउ र गरौं भन्नुभयो ।
सबैकुरा तपाईकै भरोसामा हुन्छ है प्रेमजी ? भन्नुभयो मलाई पनि गुरुसँग सहयात्रा गर्दै आफ्नै जिल्ला जाने रहर भयो र गुरुलाई मैले हुन्छ भनेँ ! कोटीहोमपछि श्रीरामनवमी कै अवसर पारेर हामी यहाँबाट पं. भीमप्रसाद तिमसिना पं. माधवप्रसाद भण्डारी र उहाँको भान्जो अनि म प्रेमप्रकाश ‘फलाहारी’ समेत हामी चार जनालाई यजमानहरु गाडीको व्यवस्था मिलाए झापामा लिन आउनु भयो । गुरु समूहका चारजना र यतातिरबाट जाने यजमान समूह का तीन–चार जना मिलाएर झापाबाट रिजाप गाडीमा पाँचथर जिल्लाको च्याङ्थापुतिर लाग्यौं । र, उहाँ पुगेर पाँचथरभरि गाउँ–गाउँका सबै पण्डित र पुरोहित समेत जुटाएर १५ दिनसम्म लगाएर श्रीरामनवमी महापर्वका अवसरमा भब्य र सभ्यसँग महायज्ञ सम्पन्न भयो र त्यहाँ भएको त्यो ऐतिहासिक अनुष्ठानमा ब्राह्मण समूहको मुख्य आचार्यमा रहेरका तिमसिना गुरुको निर्देशनमा रहेर सबैले ब्राह्मणको प्राचीन सनातन बिधि अनुसार ब्रह्ममुहूर्तमा उठेर दैनिक नित्यकर्मका वैदिक बिधिहरु नियमपूर्वक अनिवार्य गर्नुपथ्र्यो ।
यजमानहरु पनि त्यसैगरी नियमाचारमा रहेर एकाग्रतापूर्वक लाग्नुपथ्र्यो । यज्ञको पूर्णाहुती भएपश्चात् मूल यजमान देवीप्रसाद खरेल (ठूले खरेल)ले त्यो अनुष्ठान भएको निजी भूमिमा दुर्गा पाञ्चायन मन्दिरको शिलान्यास पनि आचार्य प्रवरकै आतिथ्यमा भएको थियो । घर च्याङ्थापुको गढीमा गरेको त्यो सहश्रचण्डीको महायज्ञमा कति पाठ कसरी गरियो ? जप कति भयो ? हवननीय पदार्थ के–के ? र, हवन संख्या कति दैनिक नियमित हुने अनिवार्य कार्यतालिका कस्तो थियो ? तर्पण र ब्राह्मण भोजनका नीति–नियमहरु के–के थिए ? यी नियमहरु देखेर पाँचथरभरका पण्डित पुरोहित तथा यजमान लगायत सारा समाजका विशिष्ठ ब्यक्तित्व नागरिक समाजले समेत आश्चर्य प्रकट गर्दै आचार्य प्रवर पं. भीमप्रसाद तिमसिनाको जयगान गाएरै सम्मान गरेका थिए ।
आयोजक तथा प्रमुखकर्ता देवीप्रसाद खरेलले सो यज्ञमा आमन्त्रित सबै ब्राह्मण समूहका आचार्य, पण्डित गुरु–पुरोहित सबैलाई सम्मानपूर्वक यथोचित दान–दक्षिणा गरेर बिदाइ गर्नुभयो । त्यहाँ भएका यज्ञको वर्णन गर्न थाल्दा एउटा ठूलै ग्रन्थ बन्न सक्छ भन्ने लाग्छ । भीमपप्रसाद तिमसिनाको शरीर यो लोकमा नभए पनि उहाँको किर्ती जन्म–जन्मान्तरसम्म यो धर्तीमा अटल रहिरहनेछ र उहाँका परिवारजनहरुको सुख–समृद्धि र सुस्वास्थ्यको कामना साथ आदरणीय गरु आचार्य प्रवर भीमप्रसाद तिमसिना प्रति हृदयबाटै श्रद्धाञ्जलि अर्पण गर्दछु ।